जनकपुरधाम : ५३ वर्षपछि जनकपुर विमानस्थलमा नयाँ टर्मिनल भवनबाट सेवा सञ्चालन भएको छ । १८ जना यात्रु बोक्ने सानो जहाजका लागि २०२४ सालमा निर्माण गरिएको टर्मिनल भवनबाट हालसम्म जेनतेन सेवा सञ्चालित थियो ।
भवन अभावमा यात्रुहरुलाई न्यूनतम सेवा सूविधा समेत पाउन गाहे भएको बेला नव निर्मित अत्याधुनिक टर्मिनल भवनबाट मंगलबारदेखि सेवा सञ्चालन हुने जनकपुर विमानस्थलका प्रमुख किरण गौतमले बताए ।
४२ करोडको लागतमा चार रोपनी जग्गामा निर्माण गरिएको नयाँ टर्मिनल भवन नेपालकै पहिलो स्टील स्ट्रक्चरको भवन रहेको जनकपुर विमानस्थल टर्मिनल भवन निर्माण आयोजनाका प्रमुख नल विक्रम थापाले बताए । ‘यस भवनमा तत्कालै सात सय यात्रु एकपटक राखेर सेवा दिन मिल्ने व्यवस्था छ त्यसैगरी सिसिटीभि, फायर अलार्म, सञ्चार सेवा, भीआइपी कक्ष र आमाबच्चा स्यहार कक्ष, धुम्रपान क्षेत्रको समेत बन्दोबस्त मिलाईएको छ ,’ थापाले कुरा गर्दै भने, ‘उल्लेखित बजेटबाटै ३५ जना सुरक्षाकर्मीहरुको लागि आवास गृह, ८० वटा कार र १५० वटा मोटरसाइकलको पार्किङ्स्थल, बगैंचा र अन्य संरचनाको पनि निर्माण गरिएको छ ।’
२०६९ कात्तिकमा तत्कालीन पर्यटन तथा नागरिक उड्यनमन्त्री पोष्टबहादुर बोगटीले पहिलो चरणमा १८ करोडको लागतमा निर्माणकार्यको शिलान्यास गरेका थिए । डेढवर्षमै काम सक्नेगरी निर्माण कम्पनी पप्पु एण्ड एनके कन्सट्रक्सनलाई ठेक्का दिइएको थियो ।
तर, निर्माण कम्पनीले समयमा काम नगरी आलटाल गरेपछि ठेक्का तोरेर दोस्रो चरणमा थेगिन जाल्वा उमा एण्ड कम्पनी जेभीसँग सम्झौता गरी काम सम्पन्न गरिएको हो ।