काठमाडाैं । राजधानीको कालीमाटीस्थित ज्योती अस्पतालमा गर्भपतन गराउँदा एक महिलाको मृत्यु भएको प्रकरण पीडित परिवारलाई १० लाख क्षतिपूर्ति दिएर थामथुम पारिएको छ । मृतक अनिता घिमिरेका भाइ अविनाश खत्रीले अब विवाद नगर्ने सहमति गरेर आजै अस्पतालबाट शव बुझी मृतकको दाहसंस्कार गरिएको बताए । उजुरी नगर्ने र शव लिएर जलाउने सहमति भएपछि पोष्टमार्टम पनि नगरिएको अविनाशले बताए ।
खत्रीका अनुसार अब कतै पनि उजुरबाजुर नगर्ने सहमति भएपछि अस्पतालले मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति दिन राजी भएको हो । जसअनुसार बुधबारै २ लाख रुपैयाँ नगद दिइएको छ भने बाँकी ८ लाखको चेक अर्को महिना भुक्तानी हुने गरी दिइएको छ ।
रामेछाप स्थायी घर भई काठमाडौंमा बस्ने २८ वर्षीया अनिता घिमिरेको लापरबाही किसिमले गर्भपतन गराउँदा मृत्यु भएको थियो । अस्पतालको लापरबाहीकै कारण अनिताको मृत्यु भएको भन्दै मृतकका आफन्तले मंगलबार र बुधबार समेत दिनभर प्रदर्शन गरेका थिए । यो विषयले उग्र रुप लिने देखिएपछि बुधबार अपरान्ह अस्पताल प्रशासन र पीडित परिवारबीच सहमति भएको हो ।
सकुशल अवस्था हुँदाहुँदै पनि कसरी मृत्यु भयो भनी आफन्तले अस्पताल हातामा हुलदङ्गा गर्न थालेपछि केहीबेर तनावको अवस्था समेत सिर्जना भएको थियो । सोही क्रममा कालीमाटी प्रहरीले बुधबार मृतकका आफन्तहरूलाई पक्राउसमेत गरेको थियो ।
पहिले नै ३ छोरीकी आमा बनिसकेकी अनिताको पेटमा १५ हप्ताको गर्भ थियो । तर उनी बच्चा नजन्माउने भन्दै गर्भपतन गराउन कालीमाटीस्थित ज्योति अस्पताल पुगेकी थिइन् । अनिताले केही समयअगाडि ज्योति अस्पतालमै गएर जाँच गराउँदै अल्ट्रासाउण्ड पनि गराएकी थिइन् । १३ हप्तासम्म गर्भमा रहेको बच्चाको लिङ्ग पहिचान गर्न नसकिने भएकाले अनिताले १५ हप्तामा गर्भ पतन गराउन खोजेको बुझिएको छ ।
सुरुमा थापाथलीस्थित प्रसुती गृह अस्पताल गएर स्वास्थ्य जाँच गराएकी उनले त्यहीँ गर्भपतन गराउन चाहेकी थिइन् । तर, कोभिड १९ को माहामारी बढेका कारण अस्पतालले पालो दिएन । बरु प्रसूतिगृह अस्पतालले नै कुनै निजी अस्पतालमा गएर गर्भपतन गराउन सुझाव दिएपछि उनी त्यहाँ पुगेकी थिइन् ।
अनिताले मध्य वैशाखमै ज्योति अस्पताल पुगेर डाक्टरसँग सल्लाह गरेकी थिइन् । डाक्टरले जेठको १० गतेसम्म गर्भपतन गर्न मिल्ने बताएका थिए । तर, लकडाउनका कारण उनी समयमै अस्पताल पुग्न पाइनन् । जेठ ३१ गते सोमबार देवरलाई लिएर उनी कालीमाटीस्थित ज्योति अस्पतालमा गर्भपतन गराउन पुगेकी थिइन् ।
अनिताका देवर शरण घिमिरेले उनलाई बिहान ११ बजे कालीमाटीस्थित ज्योति अस्पतालमा पुर्याएका थिए । अस्पतालमै औषधि खाएर गर्भपतन गराएपछि गम्भीर बनेकी उनको थप उपचारका लागि बिएन्डबी अस्पतालमा लगिएकोमा मृत्यु भएको थियो । मंगलबार बिहान (राती) ३ बजे मृत्यु भएको थियो ।