April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पाटन दरबार संग्रहालयमा चहलपहल बढ्यो

5.2K

काठमाडौं – पाटन दरबार संग्रहालयमा सर्वसाधारणको चहलपहल बढेको छ। मुलुकमा कोभिड–१९ महामारी फैलिएर बन्दाबन्दी भएसँगै ती दरबार संग्रहालय बन्द भएको थियो। यही मङ्सिर ८ गतेदेखि दरबार संग्रहालय इच्छुक सर्वसाधारणका लागि खुला भएसँगै चहलपहल बढेको हो।

बिहान १० देखि दिउँसो ४ बजेसम्म मात्र संग्रहालय खुल्ने गरेको अधिकृत सुरेशमान लाखेले बताउए। उनले भने,‘पहिलो दिन २५ हुँदै शनिबार बिदाका दिन करिब एक सय ४० र अन्य दिन ७० को हाराहारीमा संग्रहालय अवलोकन गर्न आउने मानिसको सङ्ख्या बढ्दै गइरहेको छ।’

कोरोना महामारीपछि खुलेको दरबार संग्रहालयमा स्वदेशीका साथै विदेशी पर्यटक पनि भित्रिन थालिसकेको लाखेले जानकारी दिए। पाटन कृष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा गत शुक्रबार र शनिबार यस वर्षको कात्तिक नाच मञ्चन गरेसँगै दरबार संग्रहालयले पनि ती दिनबाट नाट्यकला महोत्सवको तस्वीरका साथै वृत्तचित्र प्रदर्शनी गरिरहेको छ।

Advertisement

त्यस प्रदर्शनीमा करिब ३० वटा नृत्यका तस्वीर राखिनुका साथै २४ मिनेटको वृत्तचित्र पनि प्रदर्शनी भइरहेको सो संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताए। यसका साथसाथै दरबार परिसरमा आजभोलि खुबै मानिसको चहलपहल बढेको देखिन्छ।

मुलुकमा कोरोना कहर आएसँगै गत वर्षको चैत महिनाबाट पाटनमा मानिसको आवागमन शून्य नै भएको थियो। यस महिनादेखि मुलुकभर चिसो बढेसँगै केही घण्टा घाम ताप्न पाटन दरबार परिसरमा आफूहरू भित्रिने गरेको स्थानीय वृद्धवृद्धाको भनाइ छ।

गत वर्ष पाटनमा यस समय थुप्रै स्वदेशीलगायत विदेशी पर्यटकको चहलपहलका कारण मङ्गलबजार क्षेत्रमा हिँड्नसमेत ठेलमठेल हुन्थ्यो। मन्दिर तथा पुरातात्विक महत्वका सम्पदाले पाटन दरबार क्षेत्र भरिएको छ।