November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

मनाङमा बाढीले बेलिब्रिज र विद्युत्‌गृह बगायो, तालगाउँ डुबानमा

4.7K

लमजुङ । लगातारको वर्षापछि आएको बाढीले मनाङमा विद्युत्गृह, बेलिब्रिज र काठेपुल बगाएको छ । त्यस्तै तालगाउँको आधा बस्ती पनि डुबानमा परेको छ ।

सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज बगाएको हो । तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृह पनि बगाएको छ । त्यस्तै सदरमुकाम चामेमा ४ वटा घर बाढीले बगाएको क्षति पुर्‍याएको छ । नासों गाउँपालिका १, ताल गाउँको आधा बस्ती डुबानमा परेको छ ।

तालगाउँका स्थानीय बासिन्दा मीनराशि गुरुङका अनुसार मस्र्याङ्दीमा उर्लिएको बाढीले भानु माविसहित ताल गाउँको आधा बस्ती डुबानमा परेको हो । करिब ५६ घरधुरी रहेको उक्त गाउँका बासिन्दा पहरामुनि गएर बसेको र केही लमजुङ सीमा क्षेत्र म्यार्दीभिरतर्फ आएको उनले बताए । उनका अनुसार गाउँमा टेलिफोन सेवा पनि अवरुद्ध छ । ‘हामी त म्यार्दीभिरमा आएर फोन गरेका हौँ,’ उनले भने । स्थानीय वेदबहादुर गुरुङले तालगाउँ डुबानमा परेको र हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने अवस्था रहेको बताए ।

Advertisement

जिल्ला प्रहरी कार्यालय, मनाङका डीएसपी सुवास खड्का अनुसार घट्टेखोलामा आएको बाढीले ढुंगामुढा थुपारिदिँदा चामे बजारको पुल थुनिएको छ । पुल थुनिँदा यसअघि बगाउन लागेको एउटा घर र थप काठका ३ वटा घर बगाएको उनले बताए । ‘ढुंगामुढाले पुल थुनिँदा बस्तीतिर बाढी पसेको छ । बाढी पस्दा घर बगाउन थालेको छ । बजार क्षेत्र नै जोखिममा परेको छ,’ उनले भने । उनका अनुसार तिमाङखोलाको बेलिब्रिज र ३२ किलोवाटको स्याल्क्युखोला लघु जलविद्युत आयोजनाको संरचना पनि बाढीले बगाएको छ ।

पानी परिरहेको र बाढीपहिरो आइरहेकाले उद्धारमा समस्या भइरहेको उनले बताए । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले यसअघि जेठ १६ गतेको बाढीले क्षति पुर्‍याएको ठाउँमा थप क्षति भएको बताए । ‘तिमाङखोलामा जलविद्युत् गृह र बेलिब्रिज बगाएको छ । चामेका घरहरुमा क्षति पुर्‍याएको छ । ताल गाउँ आधा डुबाएको जानकारीमा आएको छ,’ उनले भने, ‘बाढीपहिरो भइरहेको र पानी परिरहेकाले उद्धारमा समस्या छ । हामीले नजिकका प्रहरीलाई उद्धार गर्न भनेका छौं ।’