आकाश शेर्पा , ओखलढुंगा
जेष्ठ २७, काठमाण्डौ । ओखलढुंगा जिल्ला स्थित सिद्धिचरण नगरपालिका वार्ड ७ विगुटार स्वास्थ्यचौकीका प्रमुख ङिमा शेर्पा सोही वार्डमा कार्यरत एक शिक्षकबाट दुर्व्यवहारमा परेका छन् ।
सिद्धिचरण नगरपालिका ७ विगुटार स्वास्थ्यचौकीका प्रमुख ङिमा शेर्पा माथि दुर्व्यवहार गर्ने सोही वडाको रत्न आधारभुत विद्यालय विगुटक्सारका प्रधानाध्यापक दोर्ची शेर्पा रहेको जनाएको छ ।
गत जेठ २३ गतेका दिन स्वास्थ्य चौकीबाट घर फर्किएका प्रमुख शेर्पा माथि मदिरा सेवन गरेका प्रधानाध्यापक शेर्पाले कोरोना खोप उपलब्ध नगरेको, सिटामोल बेच्ने भन्दै गालीगलौंज र हातपात समेत गरेका प्रमुख शेर्पाले बताए।
कोरोनाको महामारीको विषम परिस्थितीमा पनि अहोरात्र खटिरहेका आफ्नो जीवनको पर्वाह नगरी नागरिकको सेवामा खटिरहँदा आफु माथि नै यस्तो दुर्व्यवहार हुँदा आफुलाई अत्यन्तै दुःख लागेको स्वास्थ्यकर्मी शेर्पाले बताए। आफु माथि दुर्व्यवहार भए पछि न्याय पाउँ भनि जेठ २५ गतेका दिन जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा निवेदन पेश गरेका थिए । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सोही दिनै आवश्यक कारबाहीको लागि पिडितको निवेदन सहितको पत्र जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पठाएको थियो ।
सोही अनुरुप बुधबार जिल्ला प्रहरी कार्यालयले पिडित स्वास्थ्य कर्मी र पिडक प्रधानाध्यापक दुवै पक्षलाई राखी छानबिन गर्ने क्रममा प्रधानाध्यापक दोर्ची शेर्पाले अब देखि स्वास्थ्यकर्मी वा समुदायको कुनै पनि व्यक्ति माथि मदिरा सेवन गरी फौजदारी कार्य गर्ने छैन, यदि त्यस्तो कार्य दोहोर्याएमा कानुन बमोजिमको सबै सजाय भोग्न तयार छु भनि माफि मागे पछि मिलापत्र गरिएको छ ।
स्वास्थ्यकर्मी माथि दुर्व्यवहार गर्ने प्रधानाध्यापक शेर्पाले माफी मागे पछि मिलापत्र गरिएको छ । आफुसँग पहिलो पटक त्यस्तो प्रधानाध्यापक गरेको, नातामा आफन्त र शिक्षक भएकोले एक पटकको लागि माफी दिएको प्रमुख शेर्पा बताए ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षाको विषयमा अध्यादेश २०७८ पहिलो संशोधन भएको छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था माथी कुनै किसिमको दुर्व्यवहार, हातपात, कुटपिट, तोडफोड, तालाबन्दी, उपचारमा बाधा पुग्ने कार्यहरु कसैले गरेमा १ बर्ष देखि ५ वर्ष सम्मको जेल सजाय र रु. एक लाख देखि ५ लाख सम्मको जरिवाना तोकिएको छ ।