काठमाडौं – उदयपुरको कटारी नगरपालिका-१० का सुजन थापाका तीन वर्षीय छोरा अरविन्द्रको आगोले जलेर मृत्यु भएको छ। आइतबार बेलुका करिब ६ बजे घर निजकै रहेको परालको कुन्युमा लागेको आगो घरमा सल्किँदा घरभित्र रहेका अरविन्दको जलेर मृत्यु भएको हो।
आगलागीबाट थापाको दुई तले कच्ची घरसहित घरभित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, नगद एक लाख ५० हजार, बाख्राको गोठ र दुईवटा बाख्राको पाठासमेत जलेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। आगलागीबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ।
आगलागी नेपाल प्रहरी र स्थानीयवासीको सहयोग बेलुकी सवा ९ बजे नियन्त्रणमा आएको र अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।