April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

दोलखामा नेपाल टेलिकमको फोरजी विस्तार

२०७७ फाल्गुन २०

5.8K

काठमाडाैं: दोलखाको नेपाल टेलिकमको सेवा विस्तार भएको सबै ठाउँमा आजबाट फोरजी सेवा सञ्चालनमा आएको छ । टेलिकमको दोलखा जिल्लाको विभिन्न क्षेत्रलाई सञ्चारसँग जोड्ने उद्देश्यले विभिन्न क्षेत्रमा निर्माण गरेको टावरमा इन्टरनेटको लागि गुणस्तर वृद्धि गरी सबै क्षेत्रमा सो सेवा सञ्चालन गरेको हो ।

जिल्लाको विभिन्न स्थानीय तहमा राखिएको २३ वटा टावरबाट नेपाल टेलिकमले सो सेवा सञ्चालनमा ल्याएको टेलिकम दोलखाका प्रमुख राजु गिरीले बताउनुभयो । एक सातामा ग्रामीण क्षेत्रका चार स्थानमा फोरजी सेवा विस्तार गरिएको छ । गौरिशंकर गाउँपालिका–८ खारेको टावरबाट, यसैगरी सिंगटी, जिरी नगरपालिकाको श्यामा र शैलुङ गाउँपालिकाको ताम्चेत दूधपोखरीमा रहेको नेपाल टेलिकमको टावरबाट सो सेवा विस्तार गरिएको हो ।

आन्तरिक पर्यटकलाई लक्षित गरी दोलखाको उत्तरी विकट क्षेत्र वेदिङमा टेलिफोन सेवा विस्तार भए पनि फोरजी सेवा सञ्चालनमा आउन सकेको छैन भने वैत्यश्वर गाउँपालिका–५ मैनापोखरी क्षेत्रमा सेवा विस्तारका लागी प्रक्रिया शुरू भएको नेपाल टेलिकम दोलखाले जनाएको छ । जिल्लाको उत्तरी क्षेत्रलाई लक्षित गरी गौरीशंकर गाउँपालिकाको खारेमा रहेको नेपाल टेलिकमको टावरमार्फत फोरजी सेवा शुरु भएसँगै गाउँपालिकाका चंखु, मार्बु, खारेलगायत वडामा दु्रत गतिको मोबाइल इन्टरनेट सेवा पुगेको गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले बताउनुभयो ।

Advertisement

टेलिकमको फोरजी सेवा पुगेका कतिपय ठाउँमा थ्रिजी चलाइरहेकाले फोरजी सेवा निशुल्क सुचारु गर्न सकिने र यसका लागि स्टार ४४४ ह्यास डायल गरेर सिम सुचारु गर्न सकिने जनाइएको छ । दोलखामा आधा दर्जन प्राइभेट कम्पनीले इन्टनेट प्रदान गर्दैं आई रहेको भएता पनि हिमाली जिल्ला भएको र फाइवरमार्फत इन्टरनेट प्रदान गर्न नसकेको कारणले टेलिकमको इन्टरनेट सेवा धेरैको रोजाइमा पर्ने गरेको छ ।