काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले रैथाने संस्कृतिको प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् । बुधबार लोकसंस्कृतिमार्फत पुँजी निर्माण र पर्यटनको टेवा दिने लक्ष्यका साथ सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले आयोजना गर्ने ‘माटोको गीत’ नामक ठेट नेपाली सांस्कृतिक कार्यक्रमको घोषणा गर्दै मन्त्री किरातीले नेपालको संस्कृतिलाई पर्यटन, उत्पादन, रोजगारी र उद्योगसँग जोड्ने गरी कार्यक्रम संचालन गर्ने बताएका हुन् ।
उनले संविधानको मर्म र समाजवादको लक्ष्यलाई आत्मसात् गर्दै भूगोल र संस्कृतिको सम्वद्र्धनसहित स्थानीय कलाकारलाई राष्ट्रियकरण गर्दै नेपालीपनको पर्यटनको विस्तार गरिने बताए । विश्वका पाहुना नेपालमा आउँदा नेपाली संस्कृतिको प्रस्तुति हेरुन् र नेपालको सांस्कृतिक तस्बिर दिमागमा लिएर जान सकून, जसले पर्यटन र रोजगारीलाई टेवा दिन सकोस् भन्ने आफूहरुको अभिप्राय भएको उनले बताए ।
मुलुकको सांस्कृतिक नीति बनाउन कार्यदल गठन गरिएको र सोको प्रतिवेदनका आधारमा नीति र कानून बनाई कार्यान्वयन गरिने विश्वास दिलाउँदै मन्त्री किरातीले विश्व मञ्चमा प्रभावशालीरुपमा नेपाललाई उपस्थिति जनाउन सक्ने माध्यमका रुपमा संस्कृतिलाई विकास गरिने बताए । हालका ५२ प्रतिशत आयोजना सफल नहुनुमा संस्कृतिमैत्री आयोजना नहुनु पनि कारण रहेको मन्त्री किरातीको भनाइ थियो ।