दमक । झापाको कनकाई नगरपालिकाले नगर क्षेत्रमै अक्सिजन उत्पादन सुरु गरेको छ । विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमण उत्कर्षमा पुगेपछि संक्रमितका लागि अत्यावश्यक पर्ने अक्सिजन नगरमै उत्पादन गर्ने नगरप्रमख राजेन्द्र पोखरेलको योजनाले सफलता प्राप्त गरेको हो ।
उक्त योजना पुरा भएपछि गरेपछि स्थानीय सरकारका तर्फबाट थप जिम्मेवारी पुरा भएको छ । तत्कालिन संक्रमणकालिन अवस्थामा स्थानीय सरकारका तर्फबाट नगर प्रमुख पोखरेलले अघि सारेको योजनामा स्वदेश तथा विदेशमा समेत रहेका विभिन्न दाताहरु साथै संघ संस्थाहरुबाट समेत स्वतःस्फुर्त रुपमा सहयोग प्राप्त भएपछि योजनले सफलता पाएको कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलले बताए ।
प्लान्ट स्थापनाका लागि ठेक्का लगायत अन्य प्रक्रियाका कारण केही ढिला भएपनि हरेक किसिमका विरामीकालागि अतिआवश्यक पर्ने अक्सिजन संचालनमा आउँनु नगरवासीकालागि ठूलो उपलव्धी भएको साथै आफूहरुले गरेको प्रतिबद्धता समेत पूरा भएको नगर प्रमुख पोखरेलले बताए ।
कनकाई नगरपालिकाले सुरुङ्गास्थित प्रस्तावित कनकाई नगर अस्पताल परिसरमा रहेको अक्सिजन प्लाण्टबाट सुक्रबारदेखि अक्सिजन उत्पादन शुरु गरेको हो । प्लान्ट स्थापनाका लागि कनकाई नगर प्रमुख पोखरेलले १० लाख रुपैंया सहयोग गर्ने घोषणा गरेसँगै सहयोग रकम संकलन तिब्र रुपमा अघि बढेको थियो । प्लान्ट स्थापनाकालागि स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट ५० लाख रुपैँया सहयोग रकम प्राप्त भएको नगर प्रमुख पोखरेलले बताए । १ करोड ४९ लाख ५५ हजार ३१५ रुपैँया ७५ पैसामा ललितपुरस्थित एभरेष्ट लाइन सप्लायर्सले प्लाण्ट आपूर्तीको ठेक्का प्राप्त गरेपछि प्रक्रिया अघि बढेको बताइएको छ ।
टर्कीको मेन्टिस इन्जिनियरिङ कम्पनीको प्लाण्टबाट दैनिक ४० लिटरको १६० वटा सिलिण्डर ग्यास उत्पादन हुने सप्लायर कम्पनीका बायोमेडिकल इन्जिनियर प्रवल वाग्लेले जानकारी दिए । एउटा ४० लिटरको सिलिण्डर २० देखि ३० मिनेटमा भर्न सकिने उनले बताए । प्लाण्टमा हाल एक पटकमा १२ वटा सिलिण्डर भर्न सकिने गरि व्यवस्था मिलाइएको छ । प्लाण्टबाट उत्पादित अक्सिजनमा ९६ प्रतिशत शुद्धता हुने बताइएको छ । प्लाण्ट केहि महङ्गो भएपनि अक्सिजनको शुद्धतालाई ध्यान दिएर युरोपीयन ब्राण्ड रोजेको नगर प्रमुख पोखरेल बताउँछन् ।
www.kanakaikhabar.com बाट साभार ।