काठमाडौं । संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ सुडानको डार्फरस्थित एफपियु यूनामिड मिसन १७औं कन्टिन्जेन्टमा खटिई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फिर्ता भएको प्रहरी टोलीलाई प्रहरी प्रधान कार्यालयमा बुधबार स्वागत गरिएको छ । टोलीलाई निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले स्वागत गरेका हुन् ।
स्वागत कार्यक्रममा निमित्त प्रहरी महानिरीक्षक शाहीले संयुक्त राष्ट्र संघीय मिसनमा रहँदा मिसनको म्यान्डेट एवं संगठनले दिएको जिम्मेवारी उच्च कार्यकुशलता प्रदर्शन गर्दै अनुसाशित रुपले सम्पन्न गरी देश र प्रहरी संगठनको छविलाई उच्च बनाउने कार्य गरेको विश्वास व्यक्त गरे ।
निमित्त प्रहरी महानिरीक्षक शाहीले मिसनमा रहेको अवस्थामा स्वदेशमा भएका गतिविधि, संगठनले लिएको नयाँ नीति, निर्देशन एवं भावी कार्ययोजना लगायतलाई अध्ययन गरी आफ्नो कार्यक्षेत्रमा खटिँदा थप व्यावसायिक र अनुसाशित भएर जिम्मेवारी वहन गर्न निर्देशन दिए । उनले आगामी दिनमा समेत आफ्नो स्वार्थलाई पछाडि राखेर संगठनको छविलाई अझ उच्च बनाउनेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए ।
सो अवसरमा उक्त टोलीका कन्टिन्जेन्ट कमाण्डर प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीले मिसनमा गरेका कार्यप्रगति विवरण सहितको प्रतिवेदन प्रस्तुत गर्दै कन्टिन्जेन्टमा खटिएका १ सय ८० जना मध्ये ९६ जना गत जेठमा स्वदेश फर्केको, १ जना प्रहरी कार्यालय सहयोगी उमेश कुमार मेहत्तरले वीरगति प्राप्त गरेको र ८३ जना हालै स्वदेश फर्किएको जानकारी दिए । टोलीमा १ सय ४४ जना पुरुष र ३६ जना महिलाको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, प्रहरी नायव महानिरीक्षकहरु लागायत वरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।