काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतको नेशनल डिफेन्स कोर्स–२०२१ का सदस्यहरुले मंगलबार सैनिक मुख्यालयमा भेटवार्ता गरेका छन् ।
जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले भ्रमण दलका प्रमुख रिअर एड्मिरल धीरेन भिजसँग आफ्नो कार्यकक्षमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानसेनापति शर्माले यस्तो भ्रमणबाट दुई देशका सेनाबीचको सम्बन्ध सुदृढीकरण गर्न तथा द्विपक्षीय सुरक्षा चासोका विषयहरुको सम्बोधनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए । भ्रमण दलले मंगलबारै सैनिक श्रीमती संघको कार्यालयमा पनि शिष्टाचार भेटवार्ता गरेको थियो ।
भ्रमण दलमा सहभागी फ्याकल्टी मेम्बर तथा तालिमरत शिक्षार्थीहरूका श्रीमतीहरूलाई भद्रकालीमा रहेको सैनिक श्रीमती संघको कार्यालयमा स्वागत तथा शिष्टाचार भेटवार्ताको कार्यक्रम समेत आजै आयोजना गरिएको थियो ।