April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कोरोना कहर : खोपको आशसँगै नयाँ प्रजातिको त्रास

2.6K

काठमाडौँ – गत जनवरी २० मा एकै दिन बेलायतमा कोरोना भाइरसको सङ्क्रमणबाट एक हजार ८२० जनाको मृत्यु भयो । बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले त्यहाँ कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखि अहिलेसम्म यति धेरैको एकैदिन ज्यान गएको यो पहिलो पटक भएको बताए ।

अघिल्लो बुधबारै दिएको जानकारीमा त्यस दिनमात्र ४० हजार जनाभन्दा बढी नागरिक सङ्क्रमित भएको जनाइएको थियो । त्यहाँ यति ठूलो सङ्ख्यामा एकैदिन सङ्क्रमित भेटिएको सङ्ख्या एक लाख नाघेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतमा हालै देखिएको नयाँ प्रजातिको भाइरसले अवस्था झनै अस्तव्यस्त भएको बताउनुभयो । उहाँले यो नयाँ प्रजातिको सङ्क्रमण बेलायतमा प्रवेश गरेपछि यसले पहिलेकोभन्दा धेरै मानिसलाई सङ्क्रमित बनाएको बताउनुहुन्छ ।

उहाँले बेलायतमा कोरोनाको पहिलो ‘वेभ (तरङ्ग)’ आएर त्यसका कारण उच्च विन्दुमा पुगेका बेलामा भन्दा अहिले यो नयाँ प्रजातिले झन् ठूलो क्षति पुर्याएको अनुभव एक पत्रकार सम्मेलनमै सुनाउनुभएको थियो । उहाँले भन्नुभयो, “सो वेभको उच्च विन्दुको समयमा भन्दा यस पटकको यो नयाँ प्रजातिको सङ्क्रमणले कम्तीमा पनि ७८ प्रतिशत बढी मात्रामा नागरिकलाई सङ्क्रमित तुल्याएको कुरा हालैको एक अध्ययनले देखाएको छ ।”

Advertisement

उहाँले यस अवधिमा एकै दिनमा चार हजार ६०० भन्दा बढी नागरिकलाई अस्पताल भर्ना गर्नुपरेको छ भने अस्पतालमा भेन्टिलेटर र आइसियु वार्डकै समस्या भएको अवस्थासम्म आएको बताउनुभयो । बेलायतले यस्तो अवस्था महामारी शुरु भएको वर्षदिन यता कहिल्यै भोगेको थिएन ।

त्रास नयाँ प्रजातिको

बेलायतका स्वास्थ्य अधिकारीहरुले पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएका छन् । यसरी बढ्नुमा पनि नयाँ प्रजातिको भाइरसको कारण हुनसक्ने उनीहरुको भनाई छ । उता यहीँबाट नै शुरु भएको भनिएको कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका दर्जनौँ देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार सो भाइरस गत हप्तामा मात्र विश्वका ६० भन्दा बढी देशमा पुगिसकेको छ । उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको जनाएको छ । कारोनो भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा धेरै खतरनाक भएको वैज्ञानिकहरुले बताएका छन् ।

उनीहरुले पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको पनि यही भाइरसका कारण हुनसक्ने अनुमान गरेका छन् । उता गत हप्ता बेलायतका प्रधानमन्त्री जोनसोनले यो भाइरस पहिलेको भन्दा धेरै नै खतरनाक रहेको र त्यसैले सबै नागरिकले पहिलेको भन्दा पनि अझ बढी सुरक्षा मापदण्डहरु अपनाउनुपर्ने बताउनुभएको थियो । पहिलो पटक गत महिना मात्र इंगल्याण्डको केन्टमा देखिएको यो नयाँ प्रजातिको भाइरस पुरानो भन्दा कम्तीमा पनि ७० प्रतिशत बढी सङ्क्रामक भएर फैलिने खालको रहेको अनुसन्धानबाट देखिएको छ । बेलायतमा गरिएको एक अध्ययनमा कोरोना भाइरसको पहिलेको सङ्क्रमणमा १ हजार जना सङ्क्रमितमा १० जनाको ज्यान गएको पाइएको थियो भने यो नयाँ प्रजातिको सङ्क्रमणमा भने एक हजार जना सङ्क्रमितहरुमा १३ वा १४ जनाको नै निधन भएको पाइएको छ ।

त्यस अध्ययनले पहिलेको सङ्क्रमणका समयमा केही लापरर्बाही गर्ने गरेका बृटिशहरु यो नयाँ भाइरसको नयाँ प्रजातिले भने उनीहरुमा पहिलेको भन्दा बढी त्रास उत्पन्न भएको पाइएको पनि देखाएको छ । तर अहिले आएर भने कतिपय देशमा खोप दिन थालिएकोले नागरिकमा आशा भने पलाएको छ । युरोपका देशहरुमा खोप दिने काम तिब्र बन्दैछ । खोपका धेरै डोजहरु खरिद गर्नेमा युरोपेली देशहरु नै अग्रपंक्तिमा देखिएका छन् । युरोपेली युनियनले आगामी अगष्ट महिनाको अन्तिम सम्ममा विभिन्न युरोपेली देशका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइ सकिने कुरा हालैमात्र जानकारी गराएको थियो । पछिल्लो समयमा यो सङ्क्रमण युरोपकै कैयौँ सहरमा पुगिसकेका पाइएको छ । यसका कारण ती देशमा थप सतर्कता अपनाउने गरिएको छ ।

खोपको आश

महामारीको अँध्यारोको वर्षदिन पुग्नै लाग्दा केही नयाँ र सकारात्मक आशाको सञ्चार भएको छ कोरोना खोपको आविस्कारले । जनस्वास्थ्यका मापदण्ड अपनाउनु बाहेकको अर्काे विकल्प नरहेको अवस्थामा खोप आएकोले नागरिकमा केही आशाको सञ्चार गराएको पाइएको छ । तर खोप अझै पर्याप्त नभएको अवस्था एकातर्फ छ भने अर्कातर्फ महामारी निवारणको काम खोपले गर्नसक्ने विश्वासिलो आधार भने अभैm बनिसकेको छैन ।

हाल विश्वका कैयौँ देशमा खोप पुगिसकेको छ तर यसले के प्रतिशतसम्म काम गर्छ भन्ने बारेमा भने फरक फरक तथ्याङ्क भेटिन्छन् । खोपको प्रचलन भइसकेका देशमा पनि यसका नकारात्मक असरहरु (साइड इफेक्ट) पनि विभिन्न ठाउँमाा देखिएका समाचार आएका छन् । जेहोस, खोपको आविस्कार वैज्ञानिकहरुको बडो संघर्षपूर्ण प्रयासको एउटा परिणाम हो र यसले यो महामारीको औषधी पनि छ भन्ने सन्देश भने दिन सफल भएको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधनाम गेब्रियसले हाल देखा परिरहेको विश्वका देशहरु र कोभिड–१९ को खोपका सम्झौताहरुले अहिले तेस्रो विश्वका कतिपय गरिब देशहरुलाई समस्या पर्ने त होइन भन्ने चुनौती बढेको बताउनुहुन्छ ।

उहाँले बुधबार भन्नुभयो, “अहिले संसारका देशहरु र कोभिडको खोप निर्माताका बीचमा जारी रहेका सम्झौताहरुले यस्तो अवस्थाको सिर्जना भएको छ कि यसले गरिब देशहरुमा खोप उपलब्ध नहुन सक्ने त्रास बढाएको छ ।” उहाँका अनुसार हाल (बुधबार सम्म) संसारका कम्तीमा पनि ५० देशमा कोभिडको खोप पुगेको छ । ती सबैजसो देश विश्वका सम्पन्न देशहरुकै सूचीमा पर्दछन् । अनि अर्काे महत्वपूर्ण कुरा त के छ भने संसारमा पुगेको कोभिडको खोपमध्ये कम्तीमा पनि ७५ प्रतिशत खोप सम्पन्न देशहरुमा मात्र पुगेको छ । यो अवस्थाले विश्वका गरिब देशहरुको हालत भोलि के होला ? उनीहरुले आवश्यक र पर्याप्त मात्रामा खोप प्राप्त गर्न सक्लान कि नसक्लान ? भन्ने चिन्ता बढाएको छ ।