काठमाडौं । यस वर्षको कृष्ण ‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार २०८०’ स्वः कृष्णविक्रम नेम्बाङकृत ‘लिम्बू इतिहासः तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध’लाई प्रदान गरिएको छ । लिम्बुवान अध्ययन केन्द्रले शनिबार ललितपुरको तिखेदेवलस्थित सयल बाटिकामा एक कार्यक्रमको आयोजना गरी पुरस्कार हस्तान्तरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि मूर्धन्य साहित्यकार तथा पूर्व कुलपति बैरागी काइँला, सभापति, लिम्बुवान अध्ययन केन्द्रका अध्यक्ष पूर्व सिडिओ तथा साहित्यकार भगिराज इङ्नाम र कोषदाता विष्णुदत्त आङ्बुहाङकको बाहुलीबाट स्व. नेम्बाङको कृतिलाई सम्मानपत्रसहित एक लाख रूपैयाँ पुरस्कार हस्तान्तरण गरिएको हो । पुरस्कार स्वः नेम्बाङका सुपुत्र धर्मेन्द्र नेम्बाङ र सुपुत्री बिनिता नेम्बाङले ग्रहण गरेका थिए ।


पुरस्कार छनौट समितिका संयोजक प्राडा युवराज लिम्बु, सदस्य सचिव श्रीजना मेन्याङ्बो, सदस्य डा सविन लिङ्लेकु, द्धारिका थेबे र कमल मादेन रहेका थिए ।
स्वः नेम्बाङले याक्थुङ लिम्बू जातिको इतिहास पहिचान गर्न लिम्बूहरूसँग जोडिने तिब्बती, लेप्चा, कोच, सेन र रायसँगको सम्बन्धलाई उजागर गरेका थिए । वि.सं. १९९८ चैत ६ गते साविक पौवासारताप गाविस १ पौवागाउँ, पाँचथरमा जन्मिएका नेम्बाङको २०८० मङ्सिर ३ गते ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन भएको थियो ।
राजनीतिज्ञस्वः नेम्बाङ राजनीति जीवनकै क्रममा वि.सं. २०१७ सालमा पक्राउ परेका थिए । २०२६ सालदेखि भूमिगत बनेका उनी २०३९ सालमा नेपाली कांग्रेस पाँचथर जिल्ला तदर्थ समिति सदस्य, २०४६ सालमा नेपाली कांग्रेस पाँचथर जिल्ला कार्य समिति सह–सचिव, २०४८ सालमा नेपाली कांग्रेस पाँचथर जिल्ला सचिव तथा महाधिवेन प्रतिनिधि, २०५२ सालमा पनि समिति सचिव तथा महाधिवेशन प्रतिनिधि, २०५७ मा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि, २०५८ सालमा नेपाली कांग्रेस पाँचथर जिल्ला समिति सदस्य हुँदै २०५९ बाट राजनीति जीवनबाट बिश्राम लिएका थिए ।
स्वः नेम्बाङका ‘पाँचथरमा छयालीस सालको जनआन्दोलनः एक संस्मरण–२०५८’, आक्षेप र पाठक प्रतिक्रिया–२०६७’, ‘सत्र सालको क्रान्तिको सम्झना–२०७१’, ‘डायरीमा बेलायत–२०७१’, ‘स्मृतिमा बीपी आन्दोलन–२०७३’, ‘इतिहास पहिचानः प्राचिन नेपाल, किरात र लिम्बु इतिहास– २०७८’ लगायत कृतिहरू प्रकाशित छन् ।


यस्तै, सोही कार्यक्रममा लिम्बुवान अध्ययन केन्द्रले एक करोड रूपैयाँको प्राज्ञिक कोष खडा गरेको छ । ‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोष’ लाई ५० लाखबाट बढाएर एक करोड पुर्याइएको हो । यस कोषबाट वर्षेनी दुईजना महिला–पुरुष अध्येतालाई अनुसन्धानवृत्ति, एक अध्येतालाई विद्वतवृत्ति र प्रत्येक दुई–दुई वर्षमा एक प्रकाशित कृतिलाई प्राज्ञिक पुरस्कार प्रदान गरिने बताइएको छ ।
कोषदाता विष्णुदत्त आङ्बुहाङको पुख्यौली थलो साबिक हाड्पाङ गाविस–७ (हाल आठराई त्रिवेणी गाउँपालिका–३), त्रिवेणी, ताप्लेजुङ हो । हाल सपरिवार क्यानडामा बस्दै आएका उनी नेपालमा रहँदा विभिन्न विद्यालयमा अध्यापन गर्नुका साथै वि.सं. २०३२ सालबाट २०४१ सालसम्म नेपाल सरकारको अधिकृत सेवामा रहे । वि.सं. २०५९ बाट क्यानाडाको क्यालगरी शहरमा बस्दै आएका उनले प्रवासमा रहँदै आएका नेपालीहरूले आफ्नो परीश्रमको केही अंश मातृभूमिमा लगानी गर्ने गरेको प्रष्ट पारे । ‘हरेक देशका नागरिकको आफ्नो मातृभूमिप्रति विछट्टै माया मोह र स्नेह हुन्छ । आफ्नो रोजीरोटी र जीवनयापन तथा अध्ययनका लागि नेपालीहरू पनि विभिन्न मुलुकमा रहेका छन्’, उनले भने, ‘जहाँ रहेबसे तापनि आफ्नो जन्मथलोप्रति प्रेमले ओतप्रोत भई नेपालमाताको स्नेहमा आफ्नो परिश्रमको केही अंश मातृभूमिमा केही न केही गर्न लगानी गरेका छन् ।’


आङ्बुहाङले लिम्बू र लिम्बुवान क्षेत्रको भाषा, संस्कृति, इतिहास, आदिवासी ज्ञान, सीप तथा राजनैतिक, सामाजिक आर्थिक र शैक्षिक विषयहरूमा विवेचनात्मक अनुसन्धान र ज्ञान अभिवृद्धि गर्न गराउन आवश्यक रहेको उल्लेख गर्दै सोही क्षेत्रमा योगदान पुर्याउनेहरूका लागि कोष स्थापना गरिएको बताए । ‘म याक्थुङ लिम्बू जाति हुँ । लिम्बू जातिको ओझेलमा पर्न लागेका भाषा, लिपि, धर्म, मूर्त–अमूर्त संस्कार–संस्कृतिप्रति मेरो गहिरो माया, आस्था र विश्वास रहेको छ । यस्ता आफ्नो जातिको विविध क्षेत्रमा लुकेका इतिहास र जीवनदर्शनको खोजविन गरी प्रकाशमा ल्याउन पर्छ भन्ने मेरो चाहना हो । यसै हेतुले लिम्बू र लिम्बुवान क्षेत्रको भाषा, संस्कृति, इतिहास, आदिवासी ज्ञान, सीप तथा राजनैतिक, सामाजिक आर्थिक र शैक्षिक विषयहरूमा विवेचनात्मक अनुसन्धान र ज्ञान अभिवृद्धि गर्न गराउन आवश्यक ठानें’, उनले भने, ‘यस्तो कार्यमा आवश्यक भूमिका निर्वाह गर्दै अध्ययन–अनुसन्धान गरी पुस्तक प्रकाशन गर्ने व्यक्ति, समूह वा संस्थालाई अक्षयकोषको आर्जित व्याजबाट विभिन्न वृत्ति प्रदान गर्न सकियोस् भन्ने चाहना भयो । यसै उद्देश्यले यस्तो कार्य गर्नेलाई प्रत्येक वर्ष अनुसन्धानवृत्ति र दुई वर्षमा कदर र सम्मानस्वरूप पुरस्कृत गर्न “विष्णुदत्त सरस्वती आङ्बुहाङ् प्राज्ञिक कोष“ स्थापना गरिएको छ ।’
आफूहरुले किरात याक्थुङ चुम्लुङ अन्तर्गत लिम्बुवान अध्ययन केन्द्रले सञ्चालन गर्ने गरी “विष्णुदत्त–सरस्वती आङबुहाङ प्राज्ञिक पुरस्कार” र “विष्णुदत्त–सरस्वती आङबुहाङ अनुसन्धानवृत्ति“ प्रदान गर्न सुरुमा तीस लाख मूलकोष राखेकोमा सो रकममा बीस लाख थप गरी पचास लाख पुर्याएकोमा पुनः पचास लाख थप गरी यस वर्षबाट एक करोड पुर्याइएको जानकारी दिए । ‘यसरी आफ्नो समुदायको लागि प्राज्ञिक कोषमा रू. १ करोड पुर्याउन सकेकोमा मलाई निकै नै हर्ष अनुभव भएको छ’, उनले खुशी व्यक्त गरे ।
कार्यक्रमका वक्ताहरूमा कियाचुका संघीय कार्यसमितिका अध्यक्ष प्रेम येक्तेन, र डा बालकृष्ण माबुहाङ रहेका थिए भने सहजीकरण अध्ययन केन्द्रकी सचिव बिना खालिङले गरेकी थिइन् ।






