April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रहरीद्वारा घाइते युवा भन्छन्, ‘ताकिताकि गोली हाने, तरकारी काट्ने सामान र खानेकुरासमेत लुटे’

चन्द्र मादेन ‘आन्छन्’
२०८१ माघ १५

790

काठमाडौं । ‘नो केवलकार’ अभियान अन्तर्गत काठमाडौंको कमलादीस्थित ग्लोबल आइएमईको कार्यलयलयमा सोमबार धर्ना कार्यक्रम सम्पन्न भएको छ । सुदुर पूर्व ताप्लेजुङ जिल्लाको मुक्कुमलुङमा केवलकार निर्माण सुरु भएपछि त्यसको संरक्षणमा उत्रिएका युवाहरूमाथि प्रहरीले गोलि चलाएसँगै देशका विभिन्न स्थानमा रहेको ग्लोबल आइएमइको कार्यलयमा धर्ना दिइएको हो ।

गत १२ गते शनिवार बलु डाँडामा प्रहरीको गोली खाएका तीनजना योद्धाहरू काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत छन् । दर्जनौं बढी घाइते भएकामध्ये पाँचथरका सगुन लावतीको छातीमा गोलीले वारपार छेडेको छ भने तेह्रथुमका याम लिम्बुको तिघ्रामा गोली लागेको छ । त्यस्तै दोखु ताप्लेजुङका २० वर्षे धर्म पालुङ्वाको बन्दुकको कुन्जो र बुट प्रहारबाट काँध खसेको छ ।

अर्का दुई योद्धाहरू लक्ष्मण लिम्बु र चन्द्र सागर लिम्बुलाई हिरासतमा थुनिएको छ ।

Advertisement

मुक्कुम्लुङमा केवलकार राख्ने कि नराख्ने भन्ने सवालमा विगत ६ वर्षदेखि द्वन्द्व चलिरहेको छ । स्थानीयवासीहरू ऐतिहासिक मुन्धुम स्थल धार्मिक, प्रकृति र संस्कृतिसँग जोडिएकोले केवलकार बन्न हुन्न भन्ने पक्षमा छन् भने सरकारको सहयोगमा व्यापारी चन्द्र ढकाल कम्पनी जसरी केवलकार बन्नुपर्छ भन्ने पक्षमा छन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्र.शर्माले उक्त घटना ‘प्रहरीको आत्मा रक्षाको लागि हवाई फायर गरेको’ स्पष्टीकरण दिए । माघ १२ मा एक भ्रामक प्रेस विज्ञप्ति जारी गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उक्त अभिव्यक्तिबारे नेता खगेन्द्र माखिम भन्छन्, ‘सिधै बन्दुक चलाएको देख्ने धेरै प्रत्यक्षदर्शी भने छंदैछन् । बुढी औंला सर्लक्कै छिर्ने गोलीले लागेको प्वाल छ । उनी ७७ जिल्लाकै नामुद कुरौटे मतियार हुन् ।’

घाइतेहरूमध्येका धर्म पालुङवाको भनाई छ, ‘हामी बलु डाँडामा खाना खान लागिरहेका थियौं, अचानक ८०/९० जना बन्दुक र लाठीसँग आएका प्रहरीहरुले हामी सबैलाई निर्घात रुपले कुट्न थाले । केही साथीहरूले प्रतिकार गर्दा र भागदौड गर्दा बन्दुकले ताकिताकि गोली हाने । त्यसपछि हामी बसेको होटलको तरकारी काट्ने चुलेसी, खुकुरी र गुलेली (काग धपाउने) खोसेर लगे । अझ दोकानमा राखेको रेडबुल, चाउचाउ विस्कुटसमेत लुटेर लगे ।’ यसरी स्वयं प्रहरीबाटै लुटिएका रेडवुल, चाउचाउ र टोटा गोली भुँईमा यत्रतत्र छरिएको सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

यसअघि केवलकार बन्नुपर्छ भन्ने पक्षका ईन्द्र केदेमले ‘फरक जिल्लाका मान्छेले ताप्लेजुङमा हस्तक्षेप नगर, याक्थुङ चुम्लुङका प्रेम येक्तेन आए हामी ठोक्छौं’ भन्ने धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए ।

गत कार्तिक २३ मा पनि मादक पदार्थ सेवन गरेका हेलमेटसहितका युवाहरूले मुक्कुमलुङको तल्लो फेदीमा रहेका स्थानीय योद्धा चन्द्र मादेन र भरिया अर्जुन लिम्बुमाथि प्रहरीहरुकै अगाडी खुकुरी प्रहार गरेका थिए । मान्छे काटेका थिए । तर उनीहरू उपर किटानी जाहेरी दिँदा पनि प्रहरी प्रशासनले सोधपुछसम्म नगरेको घाइतेहरूको आरोप छ ।

सरकारबाटै दमन भएको भन्दै पहिचानवादीहरूले प्रदेश १ मा अनिश्चितकालीन बन्द घोषणा गरेका छन् । आज (माघ १५) देखि मेची राजमार्ग र तमोर करिडोर बन्द गर्ने घोषणा गरेको हो ।