February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

कवि कुङ्बाको ‘थोःक्ला’ पाठकमाझ

2.3K

तेह्रथुम । पत्रकार तथा कवि भगिश्वर लिम्बु (मनोज कुङ्बा)को लिम्बुभाषाको कवितासंग्रह ‘थोःक्ला’ सार्वजनिक भएको छ । बुधबार तेह्रथुमको लालिगुराँस नगरपालिका बसन्तपुरस्थित चोत्लुङ पार्कमा आयोजित एक समारोहबीच शहरी विकास मन्त्री सीता गुरुङले लिम्बुको संग्रह विमोचन गरेकी हुन् ।

संग्रह विमोचन गर्दै समारोहकी प्रमुख अतिथि मन्त्री गुरुङले यस संग्रहले सबैखाले साहित्य सर्जकहरुलाई एकै थलोमा उभ्याउनका लागि सहयोग पुग्ने बताइन् ।

यस्तै, पछिल्लो समय लिम्बु समुदायमा भाषा, लिपी, कला, साहित्य र संस्कृति प्रति मोह घट्दै गइरहेको बेला कवि भगिश्वरले कृति प्रकाशन गर्नु महत्वपूर्ण रहेको मुन्धुमविद तथा लालीगुराँस नगरपालिका प्रमुख अर्जुन माबोहाङले बताए ।

Advertisement

यसअघि फुटकर कविता प्रकाशन तथा हाँस्यव्यँग्य प्रस्तुत गर्दै आएका कवि कुङ्बाको यो पहिलो कवितासंग्रह हो । ‘थोःक्ला’मा गद्य र पद्य दुवै शैलिका ३५ कविता समावेश छन् । लिम्बु भाषा र लिपीमा पहिलोपटक प्रकाशन भएको ‘थोःक्ला’को नेपाली अर्थ ‘ढोया’ हुन्छ ।

संग्रहबारे बोल्दै कवि कुङ्बाले समाजबाट लोप हुन लागेका संस्कारसंस्कृतिलाई कवितामा बुनेको बताए । कुङ्बाले भने, “आफ्नो मनमा उब्जिएका केही शब्दहरुलाई बुनेर लिम्बु भाषामा कवितासंग्रह निकालेको छु । पहिलापहिला माइती विदेश गएको बेला गाउँमा रहेकी चेलीले माईतीको लागि सुँगुर, बाख्रा, कुखुराहरू पालेर राख्ने गर्थे । माइती विदेशबाट फर्केपछि अन्य कोसेलीसहित उनको नामको थोःक्ला बुझाउँने गर्थे । माइतीले घाटा हुनुहुँदैन भनेर उनको थोःक्लाको मूल्य बराबर तिर्नुपर्ने हुन्थ्यो । तर अहिलेको परिवर्तित समयले गर्दा चेलीमाइती बीचको यति सुमधुर सम्बन्ध, चेलीको आर्थिक रुपमा सहयोग गरिने परम्परा पछिल्लो समय हराउँदै गएकोले यो कविता लेख्न पुगेँ ।”

छथरमा लाग्ने रामनवमी मेलादेखि तेह्रथुमका विभिन्न स्थानमा लाग्ने मेलामा युवायुवतीले धान नाँच्दा गाउँने पाःलामलाई बुनेर थोःक्ला बुनेको कविको दाबी छ ।

विगत दुई दशकदेखि पत्रकारितामा क्रियासिल भगिश्वर रेडियो मेन्छ्यायेमका स्टेसन मेनेजर तथा पत्रकार महासंघ तेह्रथुमका पूर्व उपाध्यक्षसमेत हुन् ।