तानाशाही शासक जङ्गबहादुर राणाको देशविरोधी क्रियाकलापको भण्डाफोर गर्ने क्रममा लखन थापा मगरले आफ्नै शासकमाथि लगाएको आक्षेप थियो, यो । भारतीय भूमिमा उपनिवेश गर्दैआएका अंग्रेजहरूको शक्ति बुझेका जङ्गबहादुरले उनीहरूसँग मित्रता बढाई आफ्नो अधिनायकवादी सत्ता टिकाउन देशको स्वाभिमान अंग्रेजकै अधीनमा पु¥याएकोले यस्तो भनिएको थियो ।
जङ्गबहादुरको शासन कठोर मात्र नभई विकृति र विसँगतिको नग्न नमूना थियो । सर्वसाधारण शासकसँग अत्यन्त भयभीत रहन्थे । सामान्य कुरामा विमति जनाउँदा पनि ज्यानै जाने युगमा आफ्नै शासकको अधिनायकवाद र अंग्रेजप्रतिको आत्मसमर्पणवादी नीतिविरुद्ध लखन कठोरतापूर्वक उभिएका थिए । गोरखाको बुङ्कोटमा जनस्तरबाटै सशस्त्र विद्रोह गर्ने योजनासहित अघिबढ्नु अत्यन्त साहसी कदम थियो, उनको । जङ्गबहादुरको शासनसत्तालाई यसरी खुल्लेआम चुनौती दिनु त्यसबेला सामान्य कुरा थिएन ।
गोरखा, बुङ्कोटका पूर्वसैनिक लखन थापाले जङ्गबहादुरविरुद्ध १९३२ सालमा अनौठो प्रकारले विद्रोह छेडेका थिए । जङ्गबहादुरका साँहिला छोरा पद्मजङ्ग राणाले विद्रोहलाई ‘अभूतपूर्व’ भनेका छन् । विद्रोहको भित्री अन्तर्य खुलाइएको छैन । यति चाहिँ भनिएको छ– विद्रोह सशस्त्र प्रकृतिको थियो र लखनले जङ्गबहादुरको निरंकुश शासनसत्ता उल्ट्याउन चाहेका थिए ।
जङ्गबहादुरलाई यस्तो गम्भीर आरोप के आधारमा लगाइयो ? त्यसबारे अध्ययन भएको छैन । अंग्रेजसँग मिलेर जङ्गबहादुरले गरेको देशघाती कामबारे जान्न केही ऐतिहासिक सन्दर्भ, जङ्गबहादुरका चाल र तत्कालीन घटनाहरूको सुक्ष्म विश्लेषण गर्न जरुरी छ ।
बेलायत भ्रमण
सुगौली सन्धिपश्चात् मेचीदेखि महाकालीसम्म खुम्चिएको नेपालमा ब्रिटिश रेजिडेन्सी राखियो र अंग्रेजलाई दरबारिया गतिविधि नियाल्नका साथै चलखेल गर्ने बाटो खुल्यो । तत्कालीन दरबारमा सन्धिविरोधी भारदारहरूको बर्चस्व थियो, तिनलाई पन्छाउने क्रममा अंग्रेजले जङ्गबहादुरजस्ता कुटिल र षड्यन्त्रकारी पात्र भेट्टाए, जो निकै महत्वाकाँक्षी एवं चरम अवसरवादी थिए । जङ्गकै प्रपञ्चले कोतपर्वमा राजभक्त भारदारहरू सिद्धिएर दरबार कमजोर बनेको थियो । त्यसैबेलादेखि नेपाल अंग्रेजको अधीनमा पर्दैगयो ।
विगतमा जनरल भीमसेन थापा र प्रधानमन्त्री माथवरसिंह थापाले निकै बल गर्दा पनि भ्रमण गर्न नपाएको बेलायतजस्तो मुलुकमा जङ्गबहादुरले सजिलै पाइला टेके । उनले देखाएको शान, पाएको मान र विभिन्न चर्तिकलाको अहिले पनि चर्चा हुनेगर्छ । त्यसबेला जङ्गबहादुरको बेलायत यात्रा कसरी सम्भव भयो ? के जङ्गबहादुरप्रति ब्रिटिश सरकारको कृपादृष्टि थिएन ? यी अनुत्तरित छन् ।
विसं. १९०७ जेठदेखि श्रावणसम्म जङ्गबहादुरले बेलायत भ्रमण गरे । महारानी भिक्टोरिया त्यतिखेर सुत्केरी थिइन् । उनले २५÷२६ दिनपछि महारानीको दर्शन पाएका थिए । त्यस बखत बेलायती सैनिकहरू पनि चकित हुने गरी जङ्गले फूर्तिसाथ महारानीलाई सलामी अर्पण गरेर आफ्नो परिचय टक्राए । यो अदबको सबैले प्रशंसा गरे, महारानी पनि प्रभावित भएकी थिइन् ।
यही मौकामा जङ्गबहादुरले भने– नेपालको उत्तरमा विशाल तिब्बत छ, जसलाई हामीले सधैं अधीनमा राख्यौं । दक्षिणतर्फ भारतीय भूमि छ, जहाँ ब्रिटिश सरकारकै राज चल्छ । त्यहाँका राजा, रजौटा र नवाबहरूले अंग्रेजविरुद्ध सशस्त्र अभियान छेडिसकेका छन् । तिनले अंग्रेजलाई गरिखान दिनेछैनन् । तिनको धर्म र संस्कृति पनि बेग्लै छ, जो बेलायती सभ्यतासँग मिल्दैन । यही निहँुमा कुनै पनि बखत उनीहरू अंग्रेजविरुद्ध भड्किन सक्छन् । त्यस्तो अवस्था आएमा निकै ठूलो संकट खडा हुनेछ । यो स्थितिमा असल छिमेकीको रूपमा हामी मात्र हुनेछौं र जस्तोसुकै प्रतिकूल अवस्थामा पनि बलियोसँग साथ दिएर हामी अंग्रेज सरकारलाई सघाउनेछौं, तपाईहरूको वर्षाै पुरानो साम्राज्यलाई टिकाउनेछौं, यो हाम्रो कर्तव्य हुनेछ, त्यसको लागि कुनै कसर बाँकीराख्ने छैनौं ।
जङ्गबहादुरका चिप्ले कुरा सुनेर महारानीले सोधिन्– यसको बदलामा हामीबाट के चाहनुहुन्छ ? जङ्गबहादुरले झट्टै भने– सुगौली सन्धिमा गुमेको नेपाली भूभाग ! यो भूमि पाउने शर्तमा हामी अंग्रेज सरकारलाई अन्तिम क्षणसम्म निष्ठापूर्वक साथ दिनेछौं !
नेपालका राजालाई सजिलै फकाए जस्तो त्यहाँ भएन । महारानीले जङ्गबहादुरको चलाखी सजिलै बुझिन् र भनिन्– भारतीय भूभाग हाम्रो होइन, इष्ट इण्डिया कम्पनीको मातहतमा छ, उनीहरू हामीबाट स्वतन्त्र छन् । यी कुराहरू उतै गरेको भए राम्रो हुन्थ्यो भन्दै नेपालबाट लगिएका बहुमूल्य उपहारका निम्ति धन्यवाद दिइन् । यी वार्तालापबारे इतिहासकारहरू जानकार छन् । यथार्थमा जङ्गबहादुर बिस्तारवादी ब्रिटिशको कुदृष्टिबाट नेपाललाई जोगाएर आफ्नो सत्ताको निरन्तरता चाहान्थे । तर उनको कुटनीति सफल हुन सकेन । त्यसपछि जङ्गबहादुरको ध्यान अन्तै मोडियो र देशलाई ऋणमै डुबाउने गरी उनले मोजमस्ती सुरु गरेका थिए । बेलायतपछि फ्रान्सलगायतका केही देशहरू घुमी उनी भारत हुँदै एक वर्षपछि स्वदेश फर्केका थिए । नेपाल फर्केर पनि उनले बेलायती महारानीप्रति अटूट भक्तिभाव देखाइरहे । यो तथ्य जङ्गबहादुरले महारानी भिक्टोरियाको जन्मदिनमा २१ तोपको सलामी दिने व्यवस्था गरेबाट छर्लङ्ग हुन्छ । पद्मजङ्ग राणाका अनुसार– महारानीको आफ्नै देशमा गरिएजस्तै सबै बन्दोबस्त गर्नुपर्ने आदेश जङ्गबहादुरले सन् १८५२ मे २४ (तदनुसार विसं.१९०९ जेष्ठ १०)मा दिएका थिए– त्यस्तै हर्षोल्लास, त्यही संख्याको जुलुस प्रदर्शन । यो नियम उनले आफ्नो जीवनपर्यन्त लागू गरे (जङ्गबहादुरको जीवनयात्रा,२०७४,पृ.१५४)।
तत्कालीन अवस्था
दरबारका उच्च भारदारहरू १९०३ को कोतपर्वमा मारिएकाले जङ्गबहादुरका प्रतिद्वन्द्वी कोही थिएनन् । महारानी राज्यलक्ष्मीदेवीको राजकीय शक्ति भण्डारखालपर्वमा र राजा राजेन्द्रको अधिनायकत्व अलौ युद्धमा समाप्त भएकोले शाहीपरिवार निरीह भई काशीतर्फ लागेका थिए । विवेक र क्षमता पटक्कै नभएका युवराज सुरेन्द्रलाई राजगद्दीमा बसाली जङ्गबहादुर राज्यशक्तिको एकलौटी हर्ताकर्ता बने । यही अवधिमा उनले यूरोपको लामो भ्रमण गरेका थिए । भ्रमणको केही वर्षपछि जङ्गबहादुरले १९१३ सालमा नाटकीय ढङ्गले आफूलाई कास्की र लमजुङको ‘श्री ३ महाराज’ घोषणा गराएका थिए ।
महाराज बनेपछि जङ्गबहादुरले कास्की–लमजुङमा के कस्ता काम गरे ? त्यसको अभिलेख छैन । तर भारतमा फैलिएको विद्रोहताका उनी एकाएक सक्रिय देखिए । सन् १८५७ मा भारतको बङ्गालमा स्वदेशी फौजले अंग्रेजविरुद्ध सैनिक उपद्रव मचाएको वेला भारतमा यस्तो संकट आइलाग्यो कि त्यहाँका प्रमुख शहरहरू ज्यादै अशान्त बनेका थिए । आफूलाई प्राप्त ‘महाराजगी’को औचित्य पुष्टिगर्ने ताकमा रहेका जङ्गबहादुरलाई यो परिस्थिति अनुकूल साबित भयो ।
ऐतिहासिक घटना
भारतका केही उत्तरी शहरमा स्थानीय सैनिकहरूले सामान्य निहुँमा अंग्रेजविरुद्ध संग्राम सुरु गरेको थाहा पाएपछि जङ्गबहादुरले ब्रिटिश रेजिडेन्ट जर्ज रामसेलाई भेटी आफ्नो सैन्य सहायताको योजना सुनाए । तर अंग्रेजी सेना आफैंमा सक्षम छ भन्दै तिनले चुप लगाइदिए । विद्रोह उग्र हुँदै गएपछि जङ्गले पुनःसैन्य सहयोगको प्रसङ्ग उठाए । यसपल्ट रामसेले भारतस्थित गभर्नर जनरल जोन केनिङलाई त्यसको सूचना दिए । केनिङले आवश्यक भएछ भने सहयोग मागौँला हाललाई धन्यवाद दिनू भनी सन्देश पठाए ।
इष्ट इण्डिया कम्पनीको नामले वर्षौंदेखि भारतमा अंग्रेजहरूले राजगरेका थिए, उनीहरू साम्राज्यशाली थिए । तर, विद्रोहका बखत उनीहरू कमजोर भएका थिए । दङ्गा सुरु भएको केही दिनमै जङ्गले सिपाही विद्रोहबारे सुने । यो स्थितिमा जङ्गबहादुरले जर्ज रामसे मार्फत् जोन क्यानिङलाई नेपालको सम्पूर्ण सैन्य बल ब्रिटिश सरकारलाई सुम्पने प्रस्ताव राखे (पद्मजङ्ग,उही,पृ.१८७)। बेलायतबाट थप सेना आइपुग्न समय लाग्ने भएकोले अंग्रेजले नेपाली प्रस्ताव स्वीकार ग¥यो । जङ्गबहादुरले नेपाली सैनिकहरूलाई अनेकौं प्रलोभन (पछि चित्रण गरिएको) दिई भारततर्फ खटाए । दङ्गाले आक्रान्त भारतमा नेपाली सेनाले विद्रोहीहरूलाई काबूमा ल्याउन अहम् भूमिका खेल्यो र शान्ति कायम गराएरै छाड्यो ।
यो सफलतापछि जङ्गबहादुरले केनिङलाई भेटी ब्रिटिश महारानीसँग आफूले पहिले राखेको प्रस्तावको स्मरण गराए । रामसेले पनि सुगौली सन्धिमा प्राप्त सबै भूमि नेपाललाई फर्कायो भने जङ्गबहादुर हामीभन्दा बलिया हुनेछन् भनेर केनिङलाई सुझाए । त्यसपछि केनिङले जङ्गबहादुरका मागहरू लेखी बेलायत पठाउने आश्वासन दिए । उनले यो पनि बताए कि बेलायतले नेपालको भूभाग फर्काए त्यो भूमि तपाईंको नभई राष्ट्रको सम्पत्ति हुनेछ, ब्यक्तिगतरूपमा तपाईलाई के फाइदा ? बरु आफ्नो निम्ति केही माग्नुस् भनेर जङ्गबहादुरलाई सम्झाएका थिए । सन् १८५८ मा नेपाली सहायताप्रति आभार प्रकट गर्दै बेलायतले जङ्गबहादुर र भाइ रणोद्दीपसिंहलाई विभिन्न मान–पदवीहरू दिए । सन् १८६० मा मोटो रकम दिएर नेपालले गुमाएका ठूलो भूभागको सट्टा पश्चिम तराईका केही भूमिमा (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) टा¥योे । यसको बढाई–चढाई गरी जङ्गबहादुरको निकै गुणगान गरियो । यथार्थमा ती जग्गाहरूको उपभोग सर्वसाधारणले नभई आधा हिस्सा जङ्गबहादुरले र बाँकी तिनका भाइहरूले विर्ता लिएका थिए (एम.एस.थापामगर,कइरन रिप्रिन्ट, भाग–१)। सन् १८१६ को असमान सुगौली सन्धिमा पनि अंग्रेजले यसरी नै नेपालका प्रतिनिधिहरू गुरु गजराज मिश्र एवं दोभाषे चन्द्रशेखर उपाध्यायलाई आर्थिक प्रलोभनमै हस्ताक्षर गराएका थिए, उनीहरू अकुत सम्पत्ति पाएर भारतमै पलायन भएको सत्य सबै जान्दछन् तर यो देशघाती इतिहास कतै लेखिएन ।
इतिहासविद् महेशराज पन्तका अनुसार– विसं.१८७१ कार्तिक १८ गते इष्ट इण्डिया कम्पनीबाट गभर्नर जनरल लर्ड हेस्टिङ्सले लखनउबाट नेपालविरुद्ध युद्धको घोषणा गरेका थिए (पूर्णिमा,पूर्णाङ्क–१,बैशाष२०२१,पृ.४७–४८)। ४३ वर्षअघिको यो युद्धमा नेपालले पराजय भोगेपछि स्वदेश नफर्की कतिपय नेपाली सैनिकहरू ब्रिटिश सरकारकै शत्रु पञ्जावकेशरी रणजित सिंहको पल्टनमा भर्ना हुन पुगेका थिए । यो इतिहासलाई सम्झँदै नेपाली सैनिकहरू जङ्गबहादुरको कठोर निर्देशनमा पनि पुराना शत्रु अंग्रेजलाई साथ दिन मानेका थिएनन् । अर्कोतर्फ, नेपालकै सीमावर्ती क्षेत्रका आफूजस्तै धर्म, संस्कृति मान्नेहरूसँग कुनै विदेशी शक्तिको खातिर लड्न गोरखाली सैनिकलाई कठिनाई थियो । भनिन्छ, यो स्थिति बुझेर जङ्गबहादुरले सुगौली सन्धिमा गुमेको सबै नेपाली भूभाग फिर्ता गराउने बचन दिएपछि नेपाली सैनिकहरू अंग्रेजलाई सघाउन राजी भएका थिए । पछि आफ्नै शासकबाट यिनलाई धोका भयो, यसलाई ठूलै चोटको रूपमा लिइयो । त्यसैले लखनउ युद्धमा खटिएका लखन थापाले ‘जङ्गबहादुरले नेपाल म्लेच्छलाई बेच्यो’ भनेर आफ्नै शासकको तीब्र निन्दा गरेका थिए । यो इतिहासकारहरूकै कथन हो, तिनले शासकवर्ग चिढिन्छन् भनेर कतै लेखिदिएनन् ।
लखनको विमति
भनिन्छ, सुगौली सन्धिमा गुमेका सबै भूभाग फर्कने आशमा गोरखालीहरू ज्यान फालेर युद्धमा होमिएका थिए । विद्रोह सन् १८५९ सम्म छिटपुट चलिरहेकै थियो । परिस्थिति काबूमा आएपछि १ नभेम्बर, १८६० (१९१७ कार्तिक वदी ३) का दिन हस्ताक्षर भई केही भूमि नेपाललाई फिर्ता भयो, जसलाई निकै ठूलो उपलब्धि देखाइयो तर शासकहरू भित्रभित्रै मान–पदवी र मोटो रकम कुम्ल्याउन सफल भएका थिए । यो सैनिकहरूको रगत, पसिनाको ठूलो अवमूल्यन थियो । जङ्गबहादुरले आर्थिक प्रलोभनमै राष्ट्रिय हितको मागलाई लत्याए । यो राष्ट्रघाती कदम थियो । राणापरिवारले हालसम्म बुझ्दैआएको रोयल्टीबारे विद्वानहरू कुनै लेखाजोखा गर्दैनन् । बरु राणाहरूको पक्षपोषण गर्दै जङ्गबहादुरलाई कुटनीति जान्ने राष्ट्रवादी नेता र युगले मागेको शासक भन्न रुचाउँछन् ।
लखन थापा, निकै सुझबुझ भएका सैनिक थिए र ‘पुरानो गोरख’ पल्टनबाट लखनउ युद्धमा सामेल थिए । जस्तोसुकै परिस्थितिमा पनि सही कदम उठाउनसक्ने खूबी भएकाले यिनी अत्यन्त साहसी र होनहार सैन्य अधिकारीमा गनिन्थे । प्रमोदशमशेर राणाका अनुसार– आफ्नै नजिकका कुँवर राणाजीहरूबाहेक अरू सर्वसाधारणलाई जतिसुकै राम्रो काम गरे पनि जङ्गीतर्फ कमाण्डिङ कर्णेलभन्दा माथिको पद नदिने व्यवस्था गरिएको थियो (राणाशासनको वृतान्त,२०७०,पृ.८२–८३)। सेनामा राणाहरूकै एकाधिकार र बोलवाला थियो, अरूलाई ठूलो पक्षपात गरिन्थ्यो । जतिसुकै योग्य भए पनि सर्वसाधारणले माथिल्लो ओहोदा पाउन सम्भव थिएन । यही भेदभावको शिकार थिए, लखन । आफ्ना पुर्खाहरूले जस्तै उच्च पदाधिकारी भएर ईमान्दारीपूर्वक देशको सेवा गरेर थिति बसाल्ने धोको पूरा नभएपछि यिनी साह्रै असन्तुष्ट भएका थिए । सम्भवतः त्यसपछि, सबैलाई मिलाएर सन् १८७५ मा यिनले एक गुप्त (सैन्य) संगठन खडा गरे (प्रमोदशमशेर,उही,पृ.८८)। शासकहरूबाट यो कुरा छिपेन, नेपाली सेनामा राम्रो पकड र प्रभाव जमाएका लखनबाट सैन्य सङ्गठनमा पर्ने प्रभाव एवं आफूलाई हुनसक्ने खतरा रोक्न जङ्गबहादुरले यिनलाई सैन्य सेवाबाट बर्खास्त गरे । सन् १८७६ मा लखनको पल्टने जागिर खोसिएको पण्डित अम्बिकाप्रसाद उपाध्याय (नेपालको इतिहास,१९८६,पृ.२०९) पनि बताउँछन् । देशको बागडोर जनविरोधीको हातमा गएकोले यस्तो विसँगति देखापरेको थियो । त्यसपछि जङ्गबहादुरको अन्त्य नभएसम्म सर्वसाधारणले सुखको दिन नदेख्ने र देशले काँचुली पनि नफेर्ने भएकोले लखन थापाले जनविद्रोहको बाटो अँगाल्नुप¥यो ।
जङ्गबहादुरको हुकुमी शासनकालमा देखापरेका अनेकौं भेदभाव, पक्षपात, थिचोमिचोबाट निराश भएका जनताहरू आफ्नो मुक्तिका खातिर नयाँ नायकको खोजीमा थिए र यो परिस्थितिमा देखापरेका थिए, लखन । अरूका तुलनामा यिनी त्यस बखत निकै टाठाबाठा देखिन्थे र यिनको विचार पनि गहिरो थियो (प्रमोदशमशेर,उही,पृ.८७)। भारतीय इतिहासकार बिक्रमजीत हसरतले विद्रोहकै दौरानमा लखनउ हिँडेका जङ्गबहादुर गोरखपुर पुगेदेखि नै भारतीय विद्रोहीहरूको सम्पर्कमा आएको र तिनले ब्रिटिश सेनाविरुद्ध आफूलाई साथ दिए जङ्गबहादुरलाई लखनउको राजा बनाइदिनेसम्मको महत्वपूर्ण प्रस्ताव राखेको बताउँछन् । त्यसरी विद्रोहीको सम्पर्कमा आउनेमध्ये लखन पनि एक थिए । यिनले आफ्ना विद्रोही अभियानका लागि शायद त्यतिखेरै कुनै गतिलो योजना (मोडेल) फेलापारेका थिए ।
यही क्रममा अवधका नवाब रमजानअली खाँ र नवाब मिर्जा ब्रिजिस कादरले जङ्गबहादुरलाई पत्राचार गरेको सन्दर्भ पनि कम रोचक छैन, पत्रमा उल्लेखभएअनुसार– विशुद्ध हिन्दू जाति भएर पनि नेपाली अंग्रेजको बहकाउमा लागेर भारतमा आउनु, पवित्र मन्दिर र मस्जिद भत्काउने राक्षसी काममा उनीहरूलाई सहयोग गर्नु र तराई मैदानका आफ्नै दाजुभाइविरुद्ध लडाइँ गर्नु आफैंमा एउटा आश्चर्यजनक दुर्घटना हो….तपाईंको सहयोगविना अंग्रेज हामीविरुद्ध लड्न सक्ने छैनन् । ….नेपाल राज्यको सीमा तपाईंकै पवित्र गङ्गा नदीसम्म बिस्तार हुनेछ र भारतका सम्पूर्ण राज्यले सार्वभौम राष्ट्रका रूपमा मान्यता दिनेछन् (पद्मजङ्ग,उही, पृ.२०७)।
युद्धकालका राजनीतिक भेटघाट, विद्रोहीहरूको प्रस्ताव र उल्लिखित पत्राचारबारे लखन अनभिज्ञ थिएनन् । यता जङ्गबहादुरले देश र देशवासीका हितमा आएका प्रस्तावहरूको कुनै वास्ता गरेनन् । उल्टै राष्ट्रिय हितविपरीत अंग्रेजसँग मिल्न गए, आफूले भेटेका विद्रोहीलाई अंग्रेजकै शरण पर्न दबाब दिए । जङ्गबहादुरले आत्मसमर्पणवादी नीति लिएको प्रष्टै थियो र देश पराधीनतातर्फ लम्केको लखनले त्यतिखेरै बुझेका थिए । उनी देशभक्त मात्र थिएनन् एक शिक्षित, चेतनशील र दूरदर्शी सैन्य अधिकारी थिए ।
त्यसबेला अंग्रेजविरोधी युग थियो । अंग्रेजहरूले कहिल्यै पराजय व्यहोरेका थिएनन् । तर, भारतीय योद्घाहरूका सामु निरीह बनेका थिए । युद्धमा भारतीयहरूको संघर्ष र बलिदान देखेर लखनलाई थप प्रेरणा मिल्यो । त्यही ज्ञान, चेतना र प्रेरणाले नै यिनलाई पछि विद्रोही बनायो र अंग्रेजका बफादार जङ्गबहादुरजस्ता जनविरोधी शासकसँग उनले चर्को विमति राख्न थाले ।
ब्रिटिशविरुद्ध भारतीयहरूले गरेको यो विद्रोह अति महत्वपूर्ण मानिन्छ । सिङ्गो भारतीय शक्ति एकढिक्का हुँदा अंग्रेजहरू हारको सँघारमा पुगेका थिए । यूरोपेली शक्तिहरू पूर्वी देशमा पहिलोपल्ट ढल्ने स्थितिमा पुगेका थिए । यो विपत्तिमा अंग्रेजले जङ्गबहादुरको भरपर्दो साथ पायो र भारतभूमिमा सयौं वर्ष पुरानो आफ्नो उपनिवेशलाई जोगाउन उनीहरू सफल भए ।
सैन्य सहयोग
अंग्रेजले सैन्य सहयोग माग्दा जङ्गबहादुरले तत्कालै पैदल सेना खटाएका थिए । विभिन्न स्थानमा विद्रोहीहरूलाई हराउँदै, धपाउँदै गोरखाली फौज अघि बढ्यो । अन्तिममा उनीहरू लखनउमा केन्द्रित भए, जहाँ अंग्रेजको रेजिडेन्सी पनि थियो । विद्रोहीहरूले हातहतियार लुटेर रेजिडेन्सीलाई पहिले नै कब्जामा लिएका थिए । लखनउ शहरलाई बाहिरबाट गोरखालीले घेरेर राखे, तर भित्र प्रवेश गर्न थप सैन्यबल आवश्यक भयो । अंग्रेजले पुनःनेपालसँग मद्दत माग्यो र दलबलसहित जङ्गबहादुर आफैं भारतीय सरहद पुगे । पुरुषोत्तमशमशेर जबराका अनुसार– सुरुमा कर्णेल पहलमानसिंह बस्नेतको नेतृत्वमा ६ हजार र पछि जङ्गबहादुरकै नेतृत्वमा १४ हजार सैनिक भारत पुगेका थिए (श्री ३ हरूको तथ्य वृतान्त,२०६५,पृ.११२–११३)। यसरी ब्रिटिशलाई सहायता गर्न जाने सैनिकहरू २० हजार जति देखिन्छन् र यसरी शान्ति सुरक्षा कायम गराउन २६ पल्टन खटिएका थिए । तीमध्ये ‘पुरानो गोरख’ पनि एक थियो, जसले लखनउमा प्रवेश गरी त्यहाँको उपद्रवलाई शान्त गराएका थिए ।
भारत प्रवेशसँगै नेपाली सेनाले चर्काे दमन सुरु ग¥यो, लखनउमा हाहाकार मच्चियो । त्यहाँका असंख्य सिपाही र विद्रोहीहरू लखेटिए, कतिपय मारिए । स्थानीय राजा, रजौटाले भित्रीरूपमा विद्रोहको समर्थन गरेकाले उनीहरू पनि अनेकौं दुव्र्यवहार र अत्याचारका शिकार भए, तिनका धनसम्पत्ति बेहिसाब लुटिए (पुरुषोत्तमशमशेर,उही,पृ.११२–११६)।
लखनउमा मात्र १५ दिनसम्म गोरखाली सैनिकले निरन्तर लडेर विद्रोहीहरूलाई पराजित गरेपछि मात्र विद्रोहको शृंखला रोकियो । युद्ध सकिएपछि क्यानिङलाई भेट्न जङ्गबहादुर २ हजार सेना लिएर इलाहावादतर्फ लागे । सोही दिन बखतजङ्ग राणा एवं खड्गबहादुर राणाको नेतृत्वमा ४ हजार र पहलमानसिंह बस्नेतको नेतृत्वमा ८ हजार सैनिकलाई स्वदेश फर्काइएको थियो (पुरुषोत्तमशमशेर,उही,पृ.११६–११७)।
सैनिकको असन्तुष्टि
यी विवरणबाट युद्धमा सामेल २० हजार सेनामध्ये १४ हजार सकुशल फर्केका देखिन्छन्, बाँकी ६ हजार सैनिक के भए ? सोबारे कतै खुलाइएको छैन । युद्धमा नेपाली सेनातर्फ सामान्य क्षतिसम्म भएको चर्चा छ तर, यकीन जानकारी दिइएको छैन । तत्कालीन इतिहास जङ्गबहादुरकै सेरोफेरोमा घुमेको, उनकै स्तुतिमा रूमल्लिएको हुँदा बाँकी सेनाको स्थिति प्रकाशमा ल्याइएन ।
ब्रिटिश सरकारले युद्ध सकिएपछि यसमा लागेका सहयोगीको सम्पूर्ण खर्च व्यहोर्ने, कारवाहीमा घाइते भएका सबैको उपचार गर्ने, उनीहरूलाई पुरस्कार दिने र युद्धमा सम्लग्न सबैलाई तक्मा दिने प्रतिज्ञा गरेको थियो (पद्मजङ्ग,उही,पृ.१८९)। सम्झौताअनुसार जङ्गबहादुर र रणोद्दीपसिंहले अनेकौं मान–पदवी पाए तर सँगसँगै खटिने अर्का भाइ धीरशमशेर भने जिल्ल परे । अंग्रेजलाई मद्दत गर्न हुँदैन भन्नेहरूमध्ये उनी प्रमुख भारदार थिए । यसअघि तिब्बती युद्धमा विजयी भई फर्कने सैनिकहरूलाई बढुवा, पदक र बक्सिस प्रदान गरिएको थियो, तर लखनउ युद्धमा अनेकौं उपद्रव देखेका, भोगेका र ज्यानको बाजी थापेका सैनिकहरू पुरस्कृत भएनन् । युद्धमा चर्को जोखिम मोलेर अंग्रेजलाई सफलता दिलाउने गोरखाली सैनिकहरूमा निराशा छायो ।
युद्धका उपद्रवहरू
“सिंहदरबार”का लेखक सागरशमशेर राणाले सैनिक विद्रोहलाई दमन गर्न गएका सेनाद्वारा लखनउमा ब्रम्हलुट मच्चाई ४० गोरुगाडा जति लुटिएका धनसम्पत्ति नेपाल ल्याइएको तर राष्ट्रिय ढुकुटीमा जम्मा नगरिएको बताउँछन् । लखनउका नवाब वाजीद अली शाह र बेगम कोठीलाई बडो उच्छृंखलतापूर्वक लुटिएको थियो । जनकलाल शर्माका अनुसार– आफ्नो वीरता झल्काउन यस्ता लुटिएका सामान अन्य शुभ समारोहमा पनि यदाकदा प्रदर्शित गरिन थालियो (हाम्रो समाज ः एक अध्ययन,२०३९,पृ.११९)। भारतीय इतिहासमा शासकको निर्देशनमा गरिएको यो ब्रम्हलुटलाई ‘लखनउ लूट’ को संज्ञा दिइएको र विद्रोहलाई ‘स्वतन्त्रताको पहिलो संग्राम’ भनी चित्रण गरिएको छ, तर ब्रिटिशहरूले त्यही संग्रामलाई ‘सैनिक विद्रोह’ भनी अवमूल्यन गरे ।
हजारौं गोरखालीहरू युद्धभूमिमा नुनको सोझो गर्न बाध्य थिए, सेनाले आफ्नो सामथ्र्यको भरपूर प्रयोग ग¥यो तर विवेक र मानवता देखाउन पाएन । सेनाको धर्मविपरीत यसअघि गोरखालीले अर्काको निम्ति लडेका थिएनन् । युद्धमा सेनाको अजेय शक्तिलाई यसरी दुरूपयोग गरियो कि गोरखालीहरूको ऐतिहासिक छवि धमिलिन पुग्यो । अंग्रेजको दासताबाट मुक्त हुन चाहनेहरूको देशभक्तिपूर्ण संघर्षमा यिनलाई अमानवीय ढङ्गले उतारिएको थियो । शिख रेजिमेन्ट र अंग्रेजहरू पनि सहयोद्धाका रूपमा त्यहाँ थिए । युद्धमा हिँसा र लुटपाट मात्र नभई कैयन निर्दोष चेलीबेटीहरूको अस्मिता पनि लुटिएको थियो ।
भनिन्छ, आफ्नै आँखा सामुन्नेका ती आपराधिक कर्महरूप्रति गोरखाली सैनिकहरूले मानवता दर्शाउन नपाएकोमा तिनलाई पछिसम्म पश्चाताप भइरह्यो । दोषी सैनिकहरू उपर कुनै छानबिन र कारवाहीसमेत भएन । यी अप्रिय घटना सैनिकहरूको मन, मस्तिष्कमा खील बनेर बस्यो । उनीहरूमा अंग्रेजविरोधी पुरानो सैन्य भावना जागृत भएको थियो ।
सहयोगको आलोचना
विगतमा राज्यशक्ति हत्याउन दरबारमा भएका हत्या, हिँसा र षड्यन्त्रहरूलाई जनमानसले भुलेका थिएनन् । कोतपर्वको नग्ननृत्य, भण्डारखालपर्व र अलौपर्व मार्फत राजपरिवारलाई निरीह बनाउन चालिएका निर्दयी कदमहरू दुनियाँले बिर्सून भनेर जङ्गबहादुर अनेकौं प्रयत्न गर्दथे तर कसैलाई विश्वास दिलाउन सकेनन् । स्वतन्त्रता संग्राममा निर्दोष भारतीयहरूको दमनमा अंग्रेजलाई दिइएको सैन्य मद्दतले आफ्नो महत्वाकाँक्षाका खातिर शासकहरू कुन हदसम्म जान सक्छन् भन्ने कुराका दृष्टान्त थिए, जङ्गबहादुर । नेपाली इतिहासमा पाइने अनेकौं टीकाटिप्पणी हेर्दा अंग्रेजलाई दिइएको सैन्य सहायतालाई उचित ठह¥याइएको छैन ।
नेपाल प्रजापरिषद्को स्वर्णजयन्ती स्मारिका(२०४३)अनुसार राणाशासनको उत्तरार्धमा १९९७ असार ९ गते सर्वप्रथम भोटोजात्राका दिन जाउलाखेलमा छरिएको ऐतिहासिक पर्चाको केही अंशलाई हेरौं–
“…अंग्रेजको मद्दतलाई फौज पठायौ । लडाइँमा मद्दत दिने जस्तो कुरामा तिमीहरूले कोसँग सोध्यौ ? यूरोपको लडाइँमा हामीलाई फस्न के नाफा थियो ? १९१४ सालको लडाइँमा अंग्रेजलाई मद्दत दिएर, लड्न गएका सिपाहीमा प्रजालाई के नाफा भो ? वर्षको दश लाख बैंकमा जम्मा गर्न पायौ । ….”
राणाशासनविरुद्ध निकालिएको यो पर्चाले भारतीय विद्रोहमा नेपाली सेनाको दुरूपयोग भएको र शासकलाई प्राप्त भएको आर्थिक लाभप्रति घोर असन्तुष्टि जनाइएको छ ।
जङ्गबहादुरको नीति
खासमा भारतीय विद्रोहको प्रभाव नेपालमा पर्ला भन्ने चिन्तामा थिए, जङ्गबहादुर । इष्ट इण्डिया कम्पनीले मान्यता नदिँदासम्म उनी आफ्नै असीमित अधिकारहरूप्रति ढुक्क थिएनन् । त्यसबेला श्री ५ सुरेन्द्र नाम मात्रका राजा थिए, देशका असली हर्ताकर्ता जङ्गबहादुर आफैं थिए । राज्यका सबै अधिकार आफैं प्रयोग गर्दथे र मुलुकमा निरंकुश सैनिक शासन चलेको थियो । यो सर्वसत्तावादी सत्तालाई कतैबाट खतरा थियो भने त्यो अंग्रेजहरूबाटै थियो । जङ्गबहादुर यो चुनौतीलाई अवसरमा बदल्न चाहान्थे ।
भारतमा विद्रोह सुरु भएलगत्तै थापाथली दरबारमा एकत्रित भाइभारदारहरू अंग्रेजविरुद्ध सङ्गठित हुन लागेका त्यहाँका राजा, रजौटा र नवाबहरूलाई बरु सैन्य सहयोग दिनु उचित हुन्छ तर अंग्रेजलाई कुनै हालतमा पनि सघाउन हुँदैन भन्नेमा थिए । तीमध्ये धीरशमशेर अंग्रेजलाई सैन्य सहायता दिनैनहुने पक्षमा थिए । यसका बाबजूद जङ्गबहादुर सहयोग गर्ने निधोमा पुगे (प्रमोदशमशेर, उही,पृ.७४)।
एक सार्वभौम राष्ट्रका शासक भएर पनि जङ्गबहादुरले आफूजस्तै छिमेकीहरू उपर दमन र अत्याचार गर्ने बाह्य शक्तिलाई साथ दिए । भारत र ब्रिटिशको आन्तरिक मामिला भनेर त्यसलाई सजिलै टार्ने, बेवास्ता गर्ने या तटस्थ रहने तमाम विकल्प थिए । तर, अवसरवादी जङ्गबहादुरले सैन्य मद्दतका निम्ति अंग्रेजसँग आफैंले पहल गरेका थिए । संकटको यो घडीमा सक्दो गुण लाएर अंग्रेजलाई रिझाउनु र आफू सुरक्षित हुनु नै उनको उद्देश्य थियो ।
बेलायत भ्रमणताका आफूले पाएको मान, सम्मान र आर्थिक अभावमा कम्पनी सरकारबाट पाएको मद्दतले ब्रिटिश सरकारप्रति जङ्ग ऋणी त थिए नै सँगसँगै सुन्दरी लाउरा बेलको रूप र यौवनमा त्यतिकै मोहित पनि । भनिन्छ, लाउराको मायामोहले गर्दा उनी सजिलै स्वदेश फर्किन मानेका थिएनन् । लगत्तै फ्रान्स घुम्दा पनि जङ्गबहादुर लोला मोन्टेको रोमान्समा त्यसरी नै अल्झेका थिए (प्रमोदशमशेर,उही,पृ.५५–५७)।
जङ्गबहादुर बेलायती महारानीको शान, शौकत र ठाँटबाँट देखेर आफू पनि राजा बन्नुपर्छ भन्ने ध्याउन्नमा थिए । स्वदेश फर्केको केही वर्षमै ‘श्री ३ महाराज’ भएरै छाडे । भनिन्छ, त्यतिले चित्त नबुझी नेपालको असली ‘महाराजाधिराज’ नै हुने उनको दाऊ थियो । त्यस्तो चाहना अंग्रेजको गुलामीविना पूरा हुन सक्दैनथ्यो । अंग्रेजलाई युद्धमा सघाउनुको प्रमुख कारण यही थियो । फौजी सहायता दिए पुग्नेमा आफू शासक भएर जङ्गबहादुर भारतीय भूमिमा योद्धाझैं उत्रिएका थिए । यो आश्चर्यलाग्दो कदम तिनले निकै सोंचीसम्झी अंग्रेजलाई रिझाउन चालेका थिए । जङ्गबहादुरको ‘महाराजाधिराज’ बन्ने आकांक्षा पूरा नभए पनि ३० वर्षसम्म उनले एकछत्र शासन गरे, जसमा अंग्रेजको अटूट साथ र समर्थन मिलिरह्यो ।
जङ्गबहादुरको सफलता
भारतीय विद्रोहलाई साम्य पारी अंग्रेजको हिमायती बनेपछि जङ्गबहादुर आफ्नो सत्ताको निम्ति ढुक्क भए । नेपाललाई अंग्रेजबाट हुनसक्ने उपनिवेशको खतरा सदाको निम्ति ट¥यो । त्यसपछि उनले बेलायती सरकारबाट राजासरहको आदर, सम्मानहरू बटुले ।
विद्रोहमा गोरखाली सेनाले अंग्रेजहरूको जीउधनको मात्र रक्षा गरेन, उनीहरूको वर्षौ पुरानो भारतीय साम्राज्यलाई जोगाएको पनि थियो । त्यो उपकारका सामु यी भूभागहरू नगन्य थिए । भनिन्छ, त्यसबेला जङ्गबहादुरले चाहेका भए देशका लागि धेरै थोक अंग्रेजसँग लिनसक्थे । तर, सुगौली सन्धिमा गुमेको विशाल भूमिको दाबी आर्थिक प्रलोभनमै छोडिएको थियो । त्यसैले उनीजस्ता चतुर शासक पनि अंग्रेज सामु लत्रिएकै देखिन्छन् ।
बेलायत भ्रमणताका त्यहाँको रहनसहन, जीवनशैली र भौतिक विकास देखेर जङ्गबहादुर निकै लोभिएका थिए । खासगरी अंग्रेजको सैन्यशक्तिबाट प्रभावित भएर बेलायतसँग गहिरो मित्रता राख्न चाहान्थे । ब्रिटिश भारतलाई पनि स्वार्थ सिद्धिका निम्ति जङ्गबहादुरजस्तै शासक चाहिएको थियो, दुबैले यो मित्रताको भरपूर लाभ उठाए ।
पछि अंग्रेजहरू शिकारका निम्ति नेपालको सरहदमा आमन्त्रित हुन थाले । यो घनिष्ठता यतिसम्म बढ्यो कि जङ्गबहादुरले आफ्नो लागि कहिल्यै चिन्तित हुनुपरेन । उनको महत्वाकाँक्षा र स्वेच्छाचारिता पनि यसरी चुलियो कि देशले यो अधिनायकवादलाई लामो समयसम्म व्यहोर्नु प¥यो ।
जङ्गबहादुरको मूल्यांकन
कुनै बखत जङ्गबहादुरले आफ्नै मामा प्रधानमन्त्री माथवरसिंह थापाको हत्या गरेका थिए, जनरल गगनसिंह र चौतरिया फत्येजङ्ग शाहजस्ता प्रभावशाली भारदारको हत्यामा पनि उनैको हात थियो । त्यसपछि अनेकौं पर्वहरूको सामना गर्दै जङ्गबहादुरले दरबारको राजकीय शक्ति हत्याए, जो सामान्य थिएन । यूरोपको लामो भ्रमण गरी अंग्रेजसँग गहिरो मित्रता कायम गर्नु, तिब्बतको लडाइँमा विजय हासिल गर्नु, भारतीय विद्रोहमा सघाई अंग्रेजको साम्राज्य जोगाई दिनुजस्ता साहसिक कार्यहरूमा सफलता मिल्नुमा जङ्गबहादुरको मात्र बुद्धि, विवेक र सामथ्र्यको सराहना गर्नु न्यायसँगत हुँदैन ।
प्रथमतः जङ्गबहादुरलाई दरबारमा हुल्ने उनकै पिता काजी बालनरसिंह कुँवर थिए । दरबारमा राजा राजेन्द्र र युवराज सुरेन्द्रका कमजोरीहरू बुझ्दै उनले एकपछि अर्काे चाल चल्न भ्याए । राजपरिवारका भित्री कुराहरू सुनाउने सुसारे पुतली नानी (पछि जङ्गकै रानी बनेकीे) र भारदारहरूको षड्यन्त्रको सूचना दिएर ज्यान जोगाइदिने विजयराजजस्ता शुभचिन्तक पाए । ठाउँठाउँमा गुप्तचर खटिन्थे, जसले हरेक कुराको सूचना दिन्थे । यी सबैको साथ, सहयोग र सद्भावले जङ्गबहादुर सधैं चंख र सुरक्षित रहन पाए । उनले राजपरिवारसँग आफ्ना सन्ततिको विहावारी चलाई दोहोरो नाता–सम्बन्ध गाँसे । यिनलाई यस्तो सल्लाह दिने व्यक्तिबारे कतै उल्लेख छैन, तर इतिहास हेर्दा उनी आफ्नै बल, बुद्धि र बर्कतले मात्र अघि बढेका थिएनन् । पाइला–पाइलामा साथ दिने उनका भरपर्दा भाइहरू थिए, जो जङ्गबहादुरजस्तै चतुर, साहसी र षड्यन्त्रकारी थिए ।
देशको स्थिति
जङ्गबहादुरको उदयले दरबारभित्रको शक्ति संघर्ष समाप्त भयो, देशमा शान्ति छायो तर त्यो मुर्दाशान्ति थियो । उनको अधिनायकवादका सामु विरोधका स्वर गुञ्जिन छाडे । सैनिक, प्रशासनिक क्षेत्रका महत्वपूर्ण जिम्मेवारीहरू राणा परिवारमा सीमित पारिए । जनता पशुसरह बाँच्न विवश थिए भने राणाहरू राष्ट्रिय ढुकुटीमा विलासी जीवन बिताउँथे । देशमा न्याय, सुशासन थिएन । वर्णाश्रममा आधारित १९१० को मुलुकी ऐनले सबैलाई गाँजेकै थियो । नङ–मासुझैं मिलेर बसेको समाज तागाधारी, मतवाली, पानी चल्ने, नचल्ने वर्गमा विभाजित थिए । मतवालीमा पनि मासिन्या, नमासिन्या वर्ग थिए । मासिन्यालाई मार्न, बेच्न वा दास बनाउन पाइन्थ्यो । देशमा चर्को जातपात, उँचनीच, छुवाछूतलगायतका अनेकौं असमानता भित्रिए । धर्मको नाममा जातीय एकता भङ्ग भई मानिसहरू असहिष्णु बन्दैथिए । मुलुकमा बेथिति बढेर जनजीवन नारकीय हुँदैगएको थियो ।
ब्रिटिश सरकारसँग कुटनैतिक सम्बन्ध बनाउन यही सहयोगले बल पुगेको मानिन्छ । यथार्थ यो पनि हो कि त्यसबेला नेपालले अंग्रेजलाई नभई आफ्नै छिमेकीलाई सघाएको भए सम्भवतः भारत त्यतिखेरै ब्रिटिशको चंगुलबाट स्वतन्त्र हुन्थ्यो र भारतीयहरूको बाचाअनुसार नेपालको नक्शा धेरै फराकिलो हुनसक्थ्यो । हाम्रो इतिहास र भूगोल अहिलेको भन्दा केही बेग्लै हुन्थे । योभन्दा महत्वपूर्ण कुरो, एशियाको दक्षिणपूर्वी भेगबाट ब्रिटिशहरू सदाका निम्ति धरासायी हुनसक्थे । तर बिडम्बना, जङ्गबहादुर जनमुखी नभई सत्तामुखी बनेका थिए र बाचुञ्जेल अंग्रेजमैत्री बनिरहे । यो जग भत्कन देशले १०४ वर्ष कुर्नुप¥यो ।
गोरखाको विद्रोह
लखनउको फौजी कारवाही, गोरखाली सैन्यशक्तिको मानमर्दन र जङ्गबहादुरले राष्ट्रिय हितविपरीत चालेका आत्मसमर्पणवादी कदमका साक्षी थिए, लखन । भारतमा सयौं वर्ष पुरानो अंग्रेजी साम्राज्यवादको समर्थनविना जङ्गबहादुर आफूलाई टिकाउन सक्दैनथे । त्यसैले युद्धताका अंग्रेजलाई सबैथोक सुम्पन तयार थिए । अंग्रेजसँग घनिष्ट हुँदै गएपछि गोरखालीहरूमा जङ्गबहादुरप्रति आक्रोश बढ्यो । आफ्नै शासक देशको स्वाभिमान गुम्ने गरी अंग्रेजहरूकोे चाकरीमा लत्रेको देख्दा देशको शिर उठाउन लखनले विद्रोहको झण्डा उचाल्नुप¥यो । यिनले हातहतियारसहितका १५०० लडाकूहरू भेला गरी नेपाली सेनाको नेतृत्व गर्दै राजधानी प्रवेश गर्ने, जङ्गबहादुरको हत्या गरेर सरकार अधीनमा लिने र त्यसै दिनदेखि नेपाली इतिहासमा स्वर्णयुग आरम्भ गर्ने घोषणा गरेका थिए (पद्मजङ्ग,उही,पृ.२८४)।
जङ्गबहादुरको निरंकुशताले जनस्तरमा ब्यापक असन्तुष्टि बढेपछि १९३२ सालमा गोरखालीहरूले यस प्रकारको साहस देखाएका थिए । विद्रोहले राजनैतिक मात्र नभई धार्मिक, सामाजिक र सांस्कृतिक मुद्दालाई पनि जोडतोडले उठायो । यसले थापाथली दरबारमा ठूलै खल्बली ल्यायो र जङ्गबहादुर जस्ता तानाशाह पनि आत्तिएका थिए । त्यस ‘विलक्षण प्रकृतिको विद्रोहले देशको अमनचयन र शान्ति खलबल्याई दिएको’ थियो (पद्मजङ्ग,उही,पृ.२८३)। जङ्गबहादुरकोे सर्वसत्तावादका असंख्य शृंखलासँगै लखनउ विद्रोहका पुराना असन्तुष्टिहरू पनि यो विद्रोहमा एकैसाथ झल्कियो, जसको अगुवाई गरेका थिए, लखनले । विद्रोहलाई सैन्यबलमा निर्ममतापूर्वक दबाइयो र लखनसँगै उनका छ जना बफादार कार्यकर्ताहरू मारिए । यिनीहरू जङ्गबहादुरको अत्याचारी शासन अन्त्य गरी मुलुकलाई स्वतन्त्र एवं स्वाधीन बनाई जनतालाई अधिकार दिलाउन चाहान्थे । त्यसैले बुङ्कोट विद्रोह नेपाली इतिहासमा एक अविस्मरणीय घटना मानिएको छ ।