April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सुमिनाको कवितासंग्रह ‘बागी स्त्रीको आत्मकथा’ सार्वजनिक

2.5K

काठमाडौं । प्रगतिशील लेखक तथा कवि सुमिनाको कवितासंग्रह ‘बागी स्त्रीको आत्मकथा’ काठमाडौंमा सार्वजनिक भएको छ । शुक्रबार कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भव्य कार्यक्रमको आयोजना गरी संग्रह सार्वजनिक गरिएको हो ।

इन्डिगो इङ्कको प्रकाशन रहेको यस संग्रहबारे वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव तथा विश्लेषक आहुति, प्रगतिशील लेखकहरू कुमारी लामा र अभय श्रेष्ठले कविताबारे टिप्पणी गरेका थिए ।

कविताबारे टिप्पणी गर्दै अभय श्रेष्ठले सुमिनाको कवितामा प्रष्ट वैचारिकी पाइने बताए । उनले भने, ‘वैचारिक रुपले प्रष्ट कविता पढ्न चाहनेहरुलाई सुमिनाजीको कविता पढ्न पाउँदा खुशी लाग्नेछ ।’, संग्रहका धेरै कविताहरु राम्रो लागेको, केही कवितामा विमति र केही कवितामा भने आपत्ति रहेको उनको भनाइ थियो ।

Advertisement

यस्तै कविताबारे बोल्दै लेखक कुमारी लामाले सुमिनाको कविता विचारको विलास मात्र नभएर पक्षधरता र उत्पिडित समुदायको आवाजलाई मुखर गर्नको निमित्त अगाडि आएका बुलन्द आवाज रहेको बताइन् । कविको धेरै विचारहरुमा आफ्नो सहमति रहेको उनले बताइन् । ‘वहाँको विचार नै बिद्रोही रुपमा आएर कवितामा अन्तिम अश्त्र, जंगली फूल, बागी स्त्रीको आत्मकथा जस्ता चोटिलो कविता बनेका छन्,’ उनले भनिन् ।

त्यसैगरी कविताबारे टिप्पणी गर्दै आहुतिले सुमिनाका कविता वैचारिक हस्तक्षेपसहितका कविता भएको र यही नै उनको कविताको शक्ति भएको बताए । उनले भने, ‘सुमिनाका कविता वैचारिक त छदै छन्, ती मुख्यतया माक्र्सवादको वैचारिकीमा उभिएका छन् । समाजवादी यथार्थवादलाई पकड्नु उहाँका कविताको मूल विशेषता हो ।’

कार्यक्रममा कवि सुमिनाले कवि र कविता विचको दुरी, पक्षधरता र लेखनको उदेश्य गरी तीन बुँदामा आफ्ना लेखकीय मन्तव्य प्रस्तुत गरेकी थिइन् । ‘मैले जुन र जस्ता कविताहरू लेखेकी छु, यी कविताहरू कसैको निम्ति अत्यन्तै असान्दर्भिक र बेकारका बस्तु बन्न सक्छन्, त्यसको पूर्वआभास मसँग छ । त्यसलाई म स्वभाविक रुपमा पनि लिनेछु । किनकी वर्ग समाजमा वर्ग निरपेक्ष कुनै कवि लेखक साहित्यकार पनि हुनसक्दैन । एकैसमय कोही सबैको प्रिय बन्छु भनेर सोच्छ भने त्यो समस्याग्रस्त कुरा हुन्छ । तह र तप्कामा विभाजित समाजमा एउटा तप्काको आवाज बोल्न अर्को तप्काको बैरी हुनैपर्छ,’ कवि सुमिनाको भनाइ थियो ।

अपराजिता पारिजातका सम्पादक तथा कान्तिपुर, नयाँ पत्रिका जस्ता अखबारका नियमित लेखक सुमिनालाई प्रगतिशील साहित्यकारको रुपमा चिनिन्छ । थुप्रै फुटकर लेख, रचनाहरु प्रकाशन गर्दै आएकी सुमिनाको यो पहिलो कवितासंग्रह हो ।