काठमाडौं – कोभिड महामारीको कारणले कसैको रोजगारी गुमेको भए आफू बसेको सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नलाई काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन्।
महानगरपालिका भित्र बसेकाहरु कोही पनि भोकै नरहुन भन्नको लागि महानगर सधै प्रतिबद्ध रहेको राष्ट्रिय सभामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
केही दिन अगाडि खुला मञ्चमा विभिन्न संघ संस्थाले खाना खुवाइरहेको समयमा महानगरका नगर प्रहरीले अवरोध गरेपछि काठमाडौं महानगरपालिकाको सर्वत्र आलोचना भएको थियो। नगर प्रहरीले अबदेखि यस स्थानमा खाना खान खुवाउन पाइदैन भन्दै सामाजिक सञ्जालमा यसको व्यापक आलोचना भएको थियो।
मुलुकमा लकडाउन नभएकोले सबैले समन्वय गरेर अघि बढने हो भने समस्यामा परेका श्रमिक, गरिब र असहायलाई दुई छाक खाने र उनीहरुको चुल्हो निभ्न नदिने व्यवस्था गर्न सकिनेमा उनले जोड दिए।
‘श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जगाएर अल्छी बनाउनु हुदैन,’ उनले भने,’ हुने खानेले मात्र होइन,दीनहीनले पनि पेटभरी खाना खान पाउनुपर्छ।‘
काठमाडौंलाई गरि खानेको सहर भनेर चिनाउनुको लागि महानगर दृढ भएर लागेको उनको भनाइ छ।‘ कोरोना कहरका बेला सार्वजनिक स्थान र सडकमा स्वास्थ्य मापदण्डको सामान्य पनि ख्याल नगरी जथाभावी लाइन लगाएर खाना खुवाई स्वास्थ्यमाथि हेलचेक्रयाई भएको छ,’ उनले थपे,’ उनीहरुले दु:खका कथा बेचेर ऐतिहासिक र साँस्कृतिक शहरका रुपमा परिचित काठमाडौँ मागिखानेहरुको सहर हो भनी विश्वलाई चिनाउने प्रयास भएको छ। यो कसैबाट नहोस् भन्ने पनि हाम्रो चाहना छ।‘
महामारीले रोजगारी गुमी केही समयका लागि हातमुख जोड्ने समस्याले पेट भर्न ताँती लागेका नागरिकहरूको निर्दोष अनुहारलाई सामाजिक सञ्जालमा व्यापक बनाउँदा कसैलाई क्षणिक लाभ पुगे पनि सम्बन्धित नागरिकको आत्मसम्मानलाई यसले आघात पुर्याउने कुरामा सबैलाई सचेत रहन उनको भनाइ छ।
राष्ट्रिय संकटको समयमा समस्यामा परेका श्रमिक, गरिब र असहायको सेवामा निरन्तर खटिरहनु भएका विभिन्न संघ–संस्था र व्यक्तिलाई अहिलेसम्म गरेको मानवीय सेवाका लागि धन्यवाद दिदैँ काठमाडौं महानगरसँग समन्वय गर्न उनले आग्रह गरे।
जनगुनासोलाई समेत ध्यानमा राखी बढी भिडभाड हुने र सार्वजनिक स्थलमा अस्वस्थ र असुरक्षित खाना खुवाउने कार्यलाई व्यवस्थित गर्न र विकल्प खोज्नलाई प्रमुख शाक्यले बताए। ‘त्यसका लागि आवश्यक सहयोग गर्न काठमाडौँ महानगरपालिका तयार रहेको पनि स्मरण गराउन चाहन्छु,’ उनले भने राम्रो कार्य गर्नलाई आग्रह–पुर्वाग्रहका रुपमा भन्दा पनि सबैको हितमा हुने गरी अघि बढ्न पुनः सबैसँग विनय पूर्वक आग्रह गर्दछु।’