परदेशको एककुनाबाट बाआमाको काखमा रमाउँदै हुर्किदै गर्दाको त्यो समयलाई नियालेर हेर्न पुगेँ। काँचै उमेर, पारिवारिक समस्या र गरिबीको बन्धनमा बाँधिएका एकजोर बा र आमा । जसको जीवनमा खुशीको वाहार ल्याउन पहिलो सन्तानको रुपमा जन्मिएको म। हजुरबा र हजुर आमाले बाआमाको बिहेपछि छुट्याइदिएको अंश ॠणको पोको। त्यही पोको बन्द गर्ने जिम्मेवारीको भारी बोकेर बाबाले मधेसको फाँटबाट सगरमाथाको प्रवेशद्वार सम्मको यात्रामा आफ्नो काँधमा खकन, टाउकोमा नाम्लो र ढाकरमा भारी हालेर तक्माको साहरामा साल्मेको ओरालोमा भारी र फर्कदा उकालोमा केही जम्मा गरिएको आम्दानी लिएर कैयौंचोटी ओहोरदोहोर गरेर लगभग दुईतिहाई जीवन बिताए । त्यही समय मैले पनि तपाईंहरुको पहिलो सन्तान भएर यो संसार देख्न पाउने सौभाग्य पाएँ। सायद त्यो पलको खुशी बेग्लै थियो होला ! जसरी आज म मेरो सन्तानमा त्यो खुशी पाउँछु । आज मैले मेरो बाले जसरी मधेसको फाँटबाट सगरमाथाको फेदीसम्म ओहोरदोहोर गर्नु परेको त छैन । अवस्था फरक छ । बा देशको पहाड र तराई ओहोरदोहोर गर्नुहुन्थ्यो, म ‘देशबाट विदेश’ ।
मेरो जीवन विदेशमा बितेको दशक भएछ आमा ! फर्केर गन्ती गर्नै पो समय लाग्यो । यहि दशकको बीचमा हजुरले दिनुभएको शिक्षा र आशीर्वाद, बाबाले देखाउनुभएको संघर्षको बाटोमा हिँड्दै गर्दा सानैमा बिहानीको झिसमिसेमै ओछ्यानमा छाडेर हिँडेको साना खेलौंखेलौं लाग्ने मेरा भाइहरु, ती सानै उमेरमा म आफ्नो भविष्यको खोजीमा केही कमाएर बाआमालाई सुख दिने सपना, झिसमिसेमै ओछ्यानमा छाडेको भाइहरुलाई धेरै पढाएर ठूलो अनि असल मान्छे बनाउने, मैले पढ्न नपाए पनि ती भाईहरुले धेरै पढोस् भन्ने चाहना, ती सपनालाई पछ्याउँदै गर्दा, ती रहरहरुलाई पूरा गराउँदै जाँदा बर्षौँ बितेको पत्तो नै पाईएन आमा !
खेलौ-खेलौ लाग्ने उमेरमा छाडेका मेरो भाईहरु पनि लाठे भैयो । मेरो त्यो बालापन त फर्किएर आउँदैन होला…! तर पनि आजकल म मेरो बालापन यहि विदेशमा हजुरको नातिनीसँग बिताउछु आमा ! हजुर र बाबाको आशीर्वाद र अनुमति अनि भाईहरुको साथले यी खुशीहरुलाई आफ्नो बनाउन सकेको छु ।
फरक थियो परिवार, फरक रहनसहन, अलग संस्कारसंस्कृति अनि धेरै टाढाको भूगोल र बेग्लै जात । तर पनि समाजले के भन्ला भन्ने डर नराखी स्वतन्त्रताको आकाशमा उड्न दिनुभयो । यहि परदेशमा मैले आफ्नो जीवनसाथी पाएँ । जसरी तपाईहरुले पहिलो सन्तानको रुपमा मलाई जन्म दिनुभयो, त्यसरी नै मैले पनि यहीँ त्यो खुसी प्राप्त गरेँ । आज तपाईंहरुले दिनुभएको आशीर्वाद, माया, असल मार्गमा हिँड्न दिनुभएको मार्गनिर्देशले म आफ्नो खुशीलाई भेट्टाउछु आमा ।
हर दु:खमा साथ र साहस दिनुभयो । आफ्नो पीडा लुकाएर सन्तानको खुशीको लागि मुस्कुराउनुभयो । आफू भोको पेट बसेर साहुको काम गर्दै हामीलाई खाली पेट राख्नु भएन । दिनभरि घामपानी, असिना झरिको प्रवाह नगरी खट्नुभयो, तर कहिल्यै साँझमा अँगेनामा आगो नबाली राख्नुभएन । हाम्रो अगाडि मिठोमसिनो तातो सधैं राखिदिनुभयो । थाहा थिएन, तपाईं भोको हुनुन्थ्यो या थिएन । हरेकदिन बिहान भालेको डाक भन्दा छिटो उठ्नु हुन्थ्यो राती अबेर सबै भन्दा ढिला सुत्नुहुन्थ्यो । थाहा थिएन थकान थियो या थिएन । जति नै थकान भए पनि हजुरको मुहार अनि घर सधैं उज्यालो हुन्थ्यो । बाबा दिन भर ढुङ्गा मुढासँग खेलेर थकित भएर आउँदा पनि ढोका भित्र छिर्दै गर्दा हामीलाई देख्दा मुस्कुराउनु हुन्थ्यो । त्यो पल हाम्रो लागि बेग्लै खुशीको पल थियो ।
आमा, आज तपाईंको जस्तै म संघर्ष तपाईंको बुहारीमा पाउछु। उनीमा तपाईंले गरेको कष्ट भेट्छु । मेरो बाबाले जसरी मैले दु:ख त गर्न परेन, किनकी तपाईंहरुको संघर्षले परको देशमा भएपनि अलि सहजमा छु । र त म पनि मेरो सन्तानको लागि बाबा जस्तै असल बन्ने कोसिसमा छु । अघिल्लो वर्ष पनि हजुरहरुलाई भेट्न आउन सकिनँ ! दोस्रो बर्ष जसरी हजुरहरुको नातिनीलाई भेटाउन आउँछु है आमा ! भनेर गरेको बाचा अधुरै रहयो । तीन बर्षको लागि विदेश गएर आउँछु आमा भनेर हिँडेको हजुरकै नातिनी तीन बर्ष टेक्यो, तर फर्कनै समय लाग्ने भयो ।
साथीभाइहरू सोध्छन्, ‘कहिले आउने?’ आफन्तहरू भन्छन्- ‘धेरै कमायो, ठुलो भईस्!’ तर आमा भने, सोधिरहनुहुन्छ, कस्तो छ ? के खाईस् ? काम कस्तो छ ? सन्चो बिसन्चो के छ ? अनि आमा छोरीलाई कस्तो छ ? राम्रोसँग ख्याल राखेस्। घरको चिन्ता नगर, राम्रोसँग काम गर । नानीको राम्रो ख्याल राख । आफ्नो ठाउँ जस्तो हुन्न होला अर्काको देश । खान कस्तो पाउँछ होला? यहाँ जस्तो पोसिलो पाईएला कि नपाईएला ? कोहि जाने छ भने म यहाबाट के चाहिन्छ भन म पठाईदिम्ला
? मैले भन्थे केही पर्दैन, सबै चिज पाईन्छ । पैसा छ भने त राम्रो खान हरेक चिज पाईन्छ । यहाँ मात्रै तपाईंहरुको साथ र माया पाइदैन। त्यहाँको जस्तो ममताले भरिएको सुगन्ध, बिहान उठ्दा खेरि वरिपरिको जंगल बोटबिरुवाहरुमा चिरबिर गर्ने चराचुरुङ्गी माथी डाँडाबाट निस्कने घाम, पारीबाट आँगनमा आउने मीठो पानी, बिहानै तपाईंले दुहुने काली भैंसीको बाक्लो अनि तातो दुध, अनि ठेकीमा पारेको नौनी घिउ र गुलियो मोही, घुरेनबाट टिपेर ल्याई पकाएको हजुरको हातको तरकारी बाबाले दिनभरि मेहनत गरेर ल्याईएका तल बेशीको चामलको भात, यी चीजहरू यहाँ पाइदैनँ । आमा अरु त जसोतसो हजुरको बुहारी र म मिलेर जुटाउने गरेका छौं ।
छोरीको दोस्रो बर्षको जन्मोत्सव मनाउन आफ्नै देश टेकाउछु भन्ने सोचेको थिएँ, हजुरबा र आमालाई नातिनी भेटाउछु भनेर प्रतिज्ञा गरेको थिएँ, तर बाँकी रहेको साहुको ऋण र भविष्यको चिन्ता, सरकारले गरेको नीतिनियमको अवरोध, पुर्न नसकेको अभावले अल्झायो । कैँयन खुशीहरुमा केही खुशीहरु भेट्टाए पनि अझ गहिराई धेरै भएकोले आउँछु भनेर बाचा कस्दै गर्दा परिस्थितिको तारतारम्यालाई मिलाउँदै गर्दा समयले अलि परको लागि भनेर पो छोडिएछ । आमा, यसपल्ट पनि तपाईं अनु बाबालाई बाटो हेरे हुन्छ । अब त बाचाले पनि गिज्याईरहेको जस्तो लाग्छ । यी शब्दले पनि मेरो ओठमा आउन आनाकानी गर्छ आमा । माफ गरे आमा यसपाली पनि आईन ! त्यो आँगनी टेक्न त्यो डाँडा पाखा हेर्न दोभानको बाँझो बारीलाई देख्न यो रमाइलो चिसो बढ्दै गएको मौसमलाई स्पर्श गर्न ।
अन्त्यमा, आमा र बाबा टाढै भएपनि आशीर्वाद दिईदिनु । तपाईहरुले जसरी हामीलाई हर संघर्षमा खुशी दिनुभयो । त्यसैगरी मेरो सन्तानलाई पनि खुशी दिन सकुँ । अनि तपाईंहरु जस्तै असल अभिभावक बन्न सकुँ । तपाईंहरुले जस्तै पानी पर्दाओत दिन सकुँ, घाम लाग्दा शितल सकु दु:ख पर्दा साहस दिन सकुँ । जसरी असल बाटो हिड्न सिकाउनु भयो त्यसैगरी असल मार्ग देखाउन सकुँ । माफ गरे आमा, यसपालि पनि आइनँ ।
सिद्धिचरण नगरपालिका १, ओखलढुंगा
हाल: कुवेत