September 21, 2023, Thursday
२०८० आश्विन ५
1:37:26 pm

मुख्यमन्त्री थापासहित तीन मन्त्रीले लिए शपथ

870

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई शपथ गराएका हुन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका ४७ सांसदको समर्थन पाएका थापालाई मंगलबार खापुङले मुख्यमन्त्री नियुक्त गरेका थिए । यसअघि २१ असारमा पनि मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको समेत समर्थन लिएको कारण सर्वोच्च अदालतले पदमुक्त गरिदिएको थियो ।

Advertisement

मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएपछि गठबन्धनले उनलाई मुख्यमन्त्रीको रुपमा अगाडि सारेको हो । थापाले आजै मन्त्रिमण्डल पनि विस्तार गर्दैछन् ।

तीन मन्त्रीले पनि लिए शपथ
कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले शपथ लिए लगत्तै तीन जनालाई मन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री थापाले माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र काँग्रेसका प्रदिपकुमार सुनुवारलाई मन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका मन्त्रीहरुले पनि प्रदेश प्रमुखसामु पद तथा गोपनियताको शपथ लिएका छन् । गौतमले आर्थिक मामिला तथा योजना, जबेगुले भौतिक पूर्वाधार विकास र सुनुवारले खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सरकार निर्माणको लागि सभामुख पदबाट राजीनामा दिएका गौतम मुख्यमन्त्रीपछिको बरियतामा आर्थिक मामिला मन्त्री नियुक्त भएका हुन् । जबेगु र सुनुवार असार २१ गते मुख्यमन्त्री बन्दा पनि थापाले मन्त्रीमा नियुक्त गरेका थिए । तर, उनीहरुले मन्त्रालयको जिम्मा नपाई सर्वोच्चको आदेशमा पदमुक्त हुनुपरेको थियो ।