सङ्क्रान्ति जा, मक्राती आइज !
अनिकाल जा, सहकाल आइज !
सामाजिक संजालमा हरियो बाबियोको डोरीमा लहरै उनिएका अकन्द्याक (कुकुर दाहिने), वरपीपलको पात, सङ्क्रान्ति फूल, मकैको सुत्ला लगायत फलफूल उनिएका माला देख्दा जो कोहीलाई उपरोक्त पंक्तिहरु स्मरणमा आउदा हुन् । ती हरिया पातहरुले प्रवासमा रहेका नेपालीहरुमा त झनै घर देशको सम्झना हरियै बनाइदिँदो हो ।
साउन १ गते, हरेक समुदायले विशेष चाडको रुपमा मनाउने गर्दछन् । कृषि प्रणालीसँग सम्बन्धित यस चाडलाई फरकफरक समुदायले आ–आफ्नै मान्यता अनुसार मनाउने गर्दछन् । यस दिनलाई लुतो फाल्ने दिनको रुपमा पनि लिइन्छ । लुतो फाल्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने तथा केहिबेरसम्म घरको ढोका बन्द गर्ने प्रचलन रहिआएको छ ।
साउने सङ्क्रान्ति र लिम्बू जातिबीचको सम्बन्ध घनिष्ठ छ । नेपाली पहाडी भूभाग, जहाँ हिउँद र वर्षायामको प्रत्यक्ष प्रभाव पथ्र्यो । कृषि युगमा प्रवेश गरेका मानिसले माघपछि हुने खडेरीको कारण तरुल भ्याकुरसम्म खाएर बाँच्नुपर्छ सन्देश दिलाउने माघे सङ्क्रान्ति र फलफूल अन्नपात पाकेपछि अब बाँचियो भनेर चढाएर खाने साउने सङ्क्रान्ति हो । यसले यामको अन्तर र सामाजिक जीवनको पत्यक्ष भोगाईको स्मरण गराउँद छ । प्रकृतिमा फलेको अन्नपात र फलफूललाई प्रकृतिलाई पहिले चढाउने चाडको रुपमा लिन सकिन्छ यसलाई । सिसेक्पा तङ्नामकै विस्तारित रुप हो चासोक तङ्नाम । चासोक तङ्नामको नेपाली नाम न्वागी पर्व हो ।
साउने संक्रान्ति लिम्बू समुदायले ‘सिसेक्वा तङ्नाम’को नामले मनाउने गर्दछन् । लिम्बू जातीहरूले आफ्नो ईष्टदेवको सम्मानमा नयाँ पाकेका फलफुलहरू डोरीमा उनेर ढोकामाथि झुण्ड्याउने परम्परा छ । पूर्वी तराईका आदिवासी धिमालहरूले असारको अन्तिम मसान्तको दिनलाई जेठदेखि मानि ल्याएको सिर्जात वा असारे पूजा र धङधङगे मेलाको समापन गर्न विशेष चाडको रूपमा मनाउने गर्दछन् । पश्चिम कर्णालीको हुम्ला जुम्लातिर देउडा गीत र नाचलाई आफ्नो विशेष सांस्कृतिक निधिको रूपमा मान्ने आइडी जातिहरूले पनि यो साउने सङ्क्रान्ति पर्वलाई आफ्नै तरिकाले बलिरहेको अगुल्टोलाई दक्षिणतिर हानी पठाएर आफ्नै भाषामा देवतालाई सम्बोधन गरी वरिपरिका नराम्रा रोगव्याधहरू सबै हटि जाऊ, दुर्भाग्यको प्रतीक रातो गोरु निस्किजा, शुभ लक्षण वा सौभाग्यको प्रतीक सेतो गोरु भित्र आऊ, अनिकाल जा सहकाल आइज भन्ने भावमा कराउँदै नराम्रो कुराहरू खेदाइ पठाएर साउने सङ्क्रान्ति मान्ने गर्दछन् । घरको तलामाथिदेखि भुइँतला हुँदै कुनाकाप्चा सबैतिर नाङ्लो र थाल ठटाउँदै बाटोसम्म पुग्ने गरिन्छ । साथमा राँको बालेर चोखोनितो गरी पकाएको मासु र भात दुनामा राखेर बाटोमा राख्ने प्रचलन पनि छ । आजको दिन पूर्वका आदिवासीहरुले घरको मूलढोकामा संक्रान्ति झुण्डाउने, घर पोत्ने, भेजो हानेको मासुको भाग ल्याउने गर्दछन् ।
विशेष गरी लिम्बु समुदायमा साउन २ गते लाग्ने राँके मेला झनै महत्वपूर्ण हुने गर्दछ । दुईदशक अघिसम्म पहाडी भूगागका केटाकेटीहरु त्यसमा पनि अलि लेकसाइटमा बस्नेहरुका लागि कटहर, आँप र कटहर खाने दिन हुन्थ्यो भने वैशालु युवायुवतीका लागि सोल्टिसोल्टिनीहरुसँग भेट गर्ने, धान नाँच्ने अवसर बन्थ्यो । तर विकाससँगै यस्ता संस्कार संस्कृतिहरुमा आधुनिक प्रवृत्ति भित्रदै गएको छ । सहप्राध्यापक तथा जनसंख्याविद डा. बालकृष्ण माबुहाङ भन्छन्, ‘अहिले त कृषि प्रणाली नै ह्रास भएर चाडहरु नै लोप हुन पुगिसक्यो ।’ साउने सङ्क्रान्तिका ती क्षणहरु अहिले ‘नोस्टाल्जिया’ मात्रै भएको उनी बताउछन् । ‘बाल्यकालमा सङ्क्रान्ति आउदैछ भन्ने वित्तिकै कहिले आइपुग्छ भन्ने लाग्थ्यो । किनकी साउने सङ्क्रान्ति भन्ने वित्तिकै धान रोपिसक्नु, बाबियोको डोरी झुण्ड्याउनु, भेजो हानेको मासु ल्याउनु, राँके मेला जानु हाम्रो लागि विशेष हुन्थ्यो । राँके मेलामा कटहर र आँप खान कै लागि जान्थ्यौं । हाम्रो घर औलोभन्दा अलि माथि पर्ने हुँदा हाम्रो ठूलो ध्येय नै आँप र कटहर खानु हुन्यो । हाम्रो तेह्रथुमको बसन्तपुर बजारमा आँप जितपुरको आन्द्रुङबाट आउथ्यो ।’, माबुहाङ आफ्नो बाल्यकालको संक्रान्ति स्मरण गर्छन् । युवा भएपछि भने सोल्टिनीहरुसँग पक्कै भेट हुन्छ होला भन्ने आशाको केन्द्र हुन्थ्यो राँके मेला । ‘कतिपय सोल्टिीहरु अझैं सम्झनामा आउछन् ।’, उनी स्मरण गर्छन् ।
त्यसो त गाउँघरमा अझैं पनि त्यो रौनक र परम्परा यथावत रहेको तेह्रथुम छथर गाउँपालिका वडा नम्बर– ५ का अध्यक्ष थानाहाङ तिगेला बताउछन् । ‘अहिले पनि केटाकेटी भएको घरमा सक्रान्ती मनाउछन् । बन्दुक पड्काउछन् र भोलिपल्ट राँके मेला भर्न जान्छन् ।’, अध्यक्ष तिगेला बताउछन् । उनका अनुसार छथरमा विगत ४ वर्षदेखि सिसेक्पा तङ्नाम सामुहिक रुपमा मनाउदै आइएको छ । गाउँपालिकाले निर्माण गरेको चुम्लुङ पाङमा सामुहिक रुपमा तङ्नाम मनाउने गरिन्छ । यद्यपि परम्पराहरु परिमार्जित हुँदै गएको उनी स्वीकार गर्छन् । ‘पहिला हामी राँके मेलामा भेट भएर धान नाच्थ्यौं, अहिलेका युवाहरुमा धान नाचप्रति त्यति चासो छैन । पहिला जसरी सोल्टिसोल्टिनी भेट हुने आशामा मेला जानु पर्दैन । मेलामा पनि आधुनिक नाच हुन्छ । अहिलेको केटाकेटी गीत गाउँछन्, हामी नातीनतिनाको धनीहरुको सोल्टिसोल्टिनीसँग भेट हुनै गाह्रो, हा हा… !’, उनको चिन्तामिश्रित अठ्ठाहास् भित्र गम्भीर प्रश्न छ ।
साउने साक्रन्ति भन्ने वित्तिकै आमाले पार्नुभएको छिप्पेको कोदोको जाँडको हेङमावा (रक्सी) याद आउने बताउछन्, नेकपा माओवादीका केन्द्रीय सदस्य अजम्बर काङ्बाङ । टोलका भेजारीहरू मिलेर साझा स्थानमा काटिने राँगा/भैंसीको भेजो र राँके बजार जाने आफूहरुभन्दा ठूला तन्नेरीहरूको लर्को आँखैमा आउने उनी बताउछन् ।
बजारे राँके,
माइतघर जस्तो पोईको घर छ के ?
विवाहयोग्य तरुनीहरूले सम्भावित पतिहरूकाबीच गीतमार्फत भन्ने यी गीतांशहरुको सम्झना आउने उनी बताउछन् ।
तर, अहिले पहिले जस्तो चाडपर्वको रौनक घट्दै भएको हो कि भन्ने लाग्छ प्रवासबाट पत्रकारिता गरिरहेका सुमन सहयात्री योङहाङलाई । ‘मलाई त साँस्कृतिक विचलन आएको हो कि जस्तो लाग्छ !’, उनी चिन्ता व्यक्त गर्छन् । ‘यस्ता चाडपर्वहरुले प्रवासमा रहेका नेपालीहरुलाई बेस्सरी घरको याद दिलाउछ । सानो छँदा बेलुकी घरदेखि पश्चिमतिर नाङ्लो र थाल ठटाउदै अगुल्टो हल्लाउँदै अनिकाल जा, साहकाल आइज ! भन्दै कराउँदै दोबाटोतिर अगुल्टो फ्याकेर आइन्थ्यो । घरको मुल ढोकामा बाबियोको डोरी बाटेर झुन्ड्याइन्थ्यो । ती यादहरुले बेस्सरी चिमोट्छ नि !’, उनी आफ्ना अनुभवहरु साझा गर्छन् ।
त्यसो त अहिलेको पुस्ताहरुमा आफ्नो संस्कार संस्कृति, परम्परा, रितीरिवाज, चाडपर्वको संरक्षण तथा संवद्र्धन गर्नुपर्छ भन्ने विषयमा सचेतनाको विकास हुँदै गइरहेको छ । संक्रान्ति भनेको हरेक महिनाको पहिलो दिन हो । तर अब यो संक्रान्तिमात्रै रहेन, चाड पनि भयो । जहाँजहाँ नेपाली पुगेका छन्, त्यहाँत्यहाँ यस चाड मनाइन थालिएका छन् । नेपाली तिथिअनुसार नेपालमा साउन १ मै मनाइए पनि विदेशमा उक्त दिन छुट्टी नमिल्ने भएकोले नेपाली पात्रो साउन १ को अगाडि या पछाडि पर्ने आइतबार मनाइन्छ । फलफूल, अन्नपात पाक्ने, उठाउने कार्य चाडैचाडजस्तो हुने भएकोले साउने संक्रान्ति अर्थात सिसेक्वा चाडहरुको शुरुवाती समय हो भन्न सकिन्छ । चाडको रुपमा मात्र हैन यसलाई एक सांस्कृतिक आन्दोलनको रुपमा पनि लिन थालिएको छ । ‘प्रवासमा रहँदा यस्ता चाडपर्वले अवश्य घरको सम्झनाहरु ल्याइदिन्छन् । त्यसैले प्रवासमै रहेर पनि नेपाली चाडहरु मनाउने गर्छौं । तर, प्रवासमा बसेर यस्ता किसिमका गतिविधिहरु गर्नु पहिचानको आन्दोलनलाई समर्थन गर्नु पनि हो ।’, हङकङका कवि रोशन यक्सो भन्छन् ।
कवि रोषन यक्सो र कवि तथा पत्रकार सुमन सहयात्री योङ्हाङ