April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

प्रेमलाई नजिकबाट बुझाउने चलचित्र हो –जारी

देवेन्द्र खापुङ सुर्केली
२०८० बैशाख ३

69.5K

श्रीमती भगाउनेलाई जार भनिन्छ । र, आफ्नो विवाहको लागि केटी पक्षलाई दिइएको सुनौली (लिम्बू जातिमा हुने प्रचलन) लाई फिर्ता गर्ने प्रथालाई ‘जारी उठाउने’ भनिन्छ । सुनौली विवाहको लागि केटी माग्न जाँदा राखिन्छ । माइतीले आफ्नो छोरीचेली माग्न आउँदा सुन माग्छन् । तर त्यो सुन माइतीले खाने होइन, छोरीलाई नै गहना बनाइदिन्छन् । त्यो सँधैभरी छोरी÷बुहारीसँग नै हुन्छ ।

लिम्बू जातिमा सुनौली लिनुलाई छोरीको सुरक्षाको प्रतिक पनि मानिन्छ । कुटुम्बको घर गएको छोरीको त्यस घरमा जीवन नबित्न पनि सक्छ भनेर माइती पक्ष पहिले नै सजग भएको हुन्छ । जब छोरीको घर चल्ने भयो भनेपछि माइतीपक्षले सैमुन्द्री छिनाउँछन् । सैमुन्द्री नछिनी नै छोरीको निधन भयो भने काजकिरियामा माइतीकै हक लाग्छ । त्यसैले सुनौली, जारी, सैमुन्द्री लिम्बू जातिको घरस्थी जीवनयापनमा अत्यावश्यक रितहरू हुन् ।

लिम्बूहरूले भन्नको लागि भन्छन् –‘जारी तिर्न सक्छस् भने मेरो श्रीमती लैजा ।’

Advertisement

रेलैरैलामा जवाफ पनि दिन्छन् –‘हजुरको जहान त साह्रै मन पर्यो, जारी गर्नु पो मन लाग्यो ।’

र नै, चलचित्र जारीको चर्चा चल्नेवित्तिकै जारी गर्न तयार, जारी तिर्न तयार, कसैको जारी गर्ने आँट छ कि ? भन्ने स्वतःस्फुर्त लेखाईहरू आए । तर, यी ठट्टा गर्ने विषय हुन् । लिम्बु महिलाहरुले यसलाई ठट्टाकै रुपमा लिन्छन्, हिंसाको रुपमा लिदैनन् । राणाकालमा जार काट्ने कानून नै बनेको कथाहरू पनि जोडिए । त्यसो त जंगबहादुर राणालाई पनि जार काट्न पाउने कानूनकै आधारमा काटिएको प्रसङ्ग बेलाबेला उक्किन्छन् । आफ्नी श्रीमतीलाई जङ्गबहादुरले भगाएकाले काटिएकोमा आधारित नाटक ‘सोनाम ग्याल्बो’ शिल्पी थिएटरमा लामै चलेको थियो । लिम्बू जातिमा जारी गरिएका विवाह प्रशस्त छन्, तर जार काटिएको प्रसङ्ग भने छैन । आमाबुबाले दिएको केटासँग मन मिलेन भने जारी गरेर आफूले मन पराएकोसँग जाने लिम्बुनीको स्वतन्त्रताको विषय हो यो ।

यद्यपि जारी तिर्ने भनेको माइतीले हो । जारी गरेर लानेले होइन । लानेले माइतीमा सुनौली रित बुझाएर पहिलो श्रीमानलाई जारी तिरियो भने त्यो बेग्लै पाटो हो । तर, लाने र ल्याउनेको बीचमा त्यो लेनदेनको सम्बन्ध हुन्न । यस चलचित्रमा जारी गर्ने र जारी लिने पक्षबिचको सम्बन्ध देखाइएकै छैन । सिधा ससुराली पक्षसँगै मागिएको छ, झगडा गरिएको छ ।

लिम्बु समुदाय महिलाप्रधान समुदाय भएको हुँदा जारी महिलाप्रधान चलचित्र हुँदाहुँदै महिलाहरूको पीडालाई मात्रै अलिक बढी देखाइएको छ । यद्यपि महिलाको अधिकार लिम्बू जातिमा प्रशस्त चल्ने कुरा छर्लङ्गयाइएको छ । जस्तै, धान नाचिदिएर सोल्टीहरूको मन चोरिदिए पनि विवाहसम्मै पुग्ने नपुग्ने निर्णय महिलामै निहित छ । जबरजस्ती तानेर लैजान खोज्दा भोग्नुपरेको परिणाम होस् या केटी खोज्न चौरास पुग्दा पनि नदिइएको, पहिलो घरजमको प्रश्न उठाएर खेदाइएको कुराले नै महिलाहरूको स्वनिर्णयको अधिकार झल्किन्छ ।

कुटुम्बहरूमा सम्बन्ध राम्रो हुँदा पनि घुमाउरो पारामा छेडखानी नै चल्छ । खाना दिएपछि मुन्धुम भट्याउँदै ‘मिठो भयो भने शर्मैले, नमिठो भए लाजैले, सिस्नुको बोटमा चढ्न सकिन्न, गरिबी त लुकाउन सकिन्न’ भन्ने चलन छ । बास माग्न जाँदा सुँगुरको खोर, बाख्राको खोर देखाएर ‘हाम्रोमा त यस्तै पो छ, चल्छ कि चल्दैन’ भनेर व्यङ्ग्य नै गर्छन् । सम्बन्ध बिग्रदा सिधा कुरा राख्ने त भइगयो नै । त्यसमा पनि लिम्बूहरूले बढी छाडा बोल्छन् भन्ने कुरा चलचित्र हेरिरहँदा कानेखुशी चल्ने गर्दछ । तर, ति अस्लिल मानिने शब्दहरू हिजो लिम्बूहरूले बोलिल्याएका होइनन्, आर्यन समुदायले लिम्बू जातिलाई गाली गर्दा त्यो शब्द बोले र लिम्बूहरूले सिके । आफ्नो भाषा नभएकोले ति शब्दहरू लिम्बूहरूलाई अश्लिल लाग्दैन । लिम्बू जातिको आफ्नै अश्लिल भाषा बोलिएमा चाही निकै लज्जाको विषय बन्ने गर्दछ समुदायमा ।

के जारी तिर्न नसक्दा गोठालो बनाउने रित थियो त ? भन्ने दर्शकहरूले प्रश्न गर्लान् । तर लिम्बू समुदायमा कुनै व्यक्तिले आफ्नो पहुँचको भरमा जुन थिति बसाल्यो, त्यो पछि रित बनेको पनि देखिन्छ । जारी गरेर गाउँनजिकै गएको, जुन घर पहिलो श्रीमानको घर थियो, त्यही खेताला पर्म गएको त यस पंक्तिकारले पनि देखेकै हो । मन नपरेको बुहारीलाई हेलाहोँचो गरेको पनि देख्न पुगेकै हो । त्यस्तो हेलाहोँचो सहन नसकेरै जारी गर्ने गर्दथे, त्यसबेला छोरीबुहारीहरू । तर, जारी तिर्न नसक्दा पूर्व बुहारीलाई घरमा नोकर राख्न ल्याएको/पठाएको कुरा भने यो पंक्तिकारले आजसम्म नदेकेको, नसुनेको विषय हुन् । जसका कारण गैरलिम्बुको दृष्टिबाट यो चलचित्र हेरिहँदा सबैभन्दा पहिलो छाप नै ‘लिम्बु समुदायमा जारी तिर्न नसक्दा नोकर बनाएर राख्ने चलन रहेछ’ भन्ने पर्न सक्छ । तर, चलचत्रिका पटकथाकारले कतै देखेको/सुकेको घटना भने हुन सक्छ । त्यसैले यसलाई प्रथा हैन, घटनाको रुपमा लिन सकिन्छ ।

लिम्बू जातिकै आँखाबाट हेर्दा केही पात्र अप्रासँगिक पनि लाग्छन् । तर अन्य जातिहरूको आँखाबाट पटक्क त्यस्तो लाग्दैन । उनीहरूले पुष्कर गुरुङ, बिजय बराल, रोयदिप श्रेष्ठलाई पनि लिम्बूपनमै देखे र भेटे । बिजय बरालले गरेको कथा चरितार्थ हाम्रा गाउँमा पनि प्रशस्त छन् । लिम्बु र आर्यनको प्रेमविवाहबाट जन्मिएको ठिम्मर सन्तानलाई लिम्बुनीले पनि आर्यनमूलको जस्तो, आर्यनमूलको पनि लिम्बू भनेर हेप्ने गरेको समाजमा व्यप्त नै छ । ति पात्रहरूलाई हाम्रो आँखाबाट कवड्डीलगायतका चलचित्र हेर्दा त्यस्तो लागेन, बरु थकाली जातिकै आँखाबाट हेर्दा भने केही फरकपन देखे कि ?

अर्को कुरा, ख्यालीमा हारेपछि सर्तअनुसार जानुपर्छ, युवक होस् या युवती । ख्यालीमा हारेर घरज्वाइँ बन्नुपरेको कुरा यसअघि लिम्बू भाषाको गीतिनाटक अम्लारीफुङमा प्रष्ट देखाइएको थियो । जारी चलचित्रमा पात्रहरू हार्ने खालका ति ख्याली पाःलामहरूका जवाफ दिनै नसकिने थिए ? भन्ने प्रश्न दर्शकदीर्घाबाट उठेका हुन् ।

सुनौली रित लिएर छोरी अर्कैसँग भागेपछि जारी उठाइएको प्रसङ्ग चलचित्र नुमाफुङमा देखाइएको थियो । जारी उठाउँदा घरखेत बन्धक राखी बसाइँ सर्नुसम्मको कथा बुनिएको थियो । जारीको ट्रेलर हेरेपछि धेरै नुमाफुङको दोश्रो भाग भनेर पनि प्रतिक्रिया दिएका थिए । तर परिवेशमात्रै एक हुन्, कथा भने पूरापुर फरक छ ।

चलचित्रमा जारीको मुख्य विषय जारीप्रथा भए पनि मायाप्रेमको कथा बुनिएको छ । प्रेम, विवाह भएन भने जारी गर्ने र जारी उठाउने प्रसङ्ग आउँदैन पनि । जारीमा जारसँग या माइतीसँग जारी उठाउनेभन्दा पनि माया र प्रेम ज्यादा छ । रिसराग, क्रोध, इख त जसलाई पनि हुन्छ, तर त्यसलाई प्रेमले जित्नुपर्छ । प्रेम बुझिदिएनन् भने खुकुरी पनि उज्याउनुपर्छ, रुँदै ख्याली पनि गाइदिनुपर्छ, तब न प्रेमको जित हुन्छ ।

उपेन्द्र सुब्बा आफैँ नै साहित्य पारखी हुन्, शब्दशिल्पी हुन् । कविता, कथा र चलचित्र पटकथाको माध्यमबाट लिम्बु जनजीवनलाई नेपालमा चिनाउन सफल भए । अब चलचित्रकै निर्देशन गरेर ‘यस्तो हुनुपर्छ नेपाली चलचित्र’ भन्न पनि भ्याए । चलचित्रको कथा र निर्देशकीय पाटो अब्बल भयो भने चलचित्र त्यसै पनि अब्बल भइहाल्छ नै । त्यसैले चलचित्र जारी खाट्टी नेपाली चलचित्र हो, यस्ता फिल्म बनिनुपर्छ र हेरिनुपर्छ ।