काठमाडौं । उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले गृह जिल्ला सुर्खेत पुगेर माटो ढोगेका छन् । उपप्रधान एवम् रक्षामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत पुगेका खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओलर्ने बित्तिकै माटोलाई ढोगेका हुन् ।
विभिन्न कार्यक्रममा सहभागी हुन उपप्रधान खड्का शनिबार सुर्खेत पुगेका हुन् । उपप्रधान एवम् रक्षामन्त्री खड्काले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कर्णाली र सुर्खेती जनताको शिर निहुरिने गरेर कुनै पनि कामहरु आफूबाट नहुने स्पष्ट पारे ।
उनले केन्द्रीय समीकरणअनुसार नै सातै प्रदेशमा सरकार बन्ने बताए । ‘गठबन्धनका सबै दलले आत्मसमीक्षा गरेर त्यही बाटो ठीक छ,‘उनले भने, ‘त्यही गठबन्धन ठीक छ । नेपाली जनतालाई विभिन्न समस्याबाट मुक्ति दिन यही गठबन्धन ठीक छ भनेर अगाडि बढेको हो । १२ बुँदे शान्ति सम्झौतामा नेपाली कांग्रेस र माओवादीको मुख्य भूमिका रहेको र यसैबाट देशमा शान्ति स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयता आएको हो ।’