April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कांग्रेसका कारण मन्त्रिपरिषद अपूर्ण, प्रचण्डलाई अझै चार मन्त्रालयको भारी

1.3K

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अझै अपूर्ण छ । मन्त्रिरिषदले पूर्णता नपाउँदा सरकारका नियमित काम कारवाही प्रभावित भइरहेको छ । यसको मुख्य कारण भने सत्ता साझेदार मध्येको मुख्य दल नेपाली कांग्रेस नै हो । कांग्रेसभित्र गुटगत विवादले चार जनाको मन्त्रीको नाम प्रधानमन्त्रीकहाँ पुगेको छैन । सरकारमा आठ मन्त्री पाएको कांग्रेसले मन्त्री बन्नका लागि चार जनाको नाम दिन सकेको छैन।

कांग्रेसभित्र मन्त्री बन्नका लागि संस्थापन पक्षसँग संस्थापनइतरले भागबन्डा दाबी गरिरहेको छ। तर, संस्थापनइतर पक्षको भागमा परेका मन्त्रीको नाम नदिएपछि सभापति शेरबहादुर देउवाले नाम पठाउन सकेका छैनन्। उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा संस्थापन पक्षबाट चार जना मन्त्री सरकारमा पठाइसके पनि चार जना मन्त्रीको नाम भने कांग्रेसले पठाउन सकेको छैन ।

संस्थापन पक्षबाट खड्कासहित पार्टी प्रवक्ता प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङ मन्त्री बनिसकेका छन। पार्टीले आफ्नो पक्षलाई तीन मन्त्री छुट्ट्याउनुपर्ने संस्थापनइतर शेखर–गगन समूहको दाबी छ। यही दाबीअनुसार भागबन्डा गरेर पार्टी सरकारमा जानुपर्ने दबाबसहित यो समूहले लबिइङ गर्दै आएको छ। तर, संस्थापन पक्षले शेखर–गगन पक्षलाई दुई जना मन्त्री लिन प्रस्ताव गरेकेपछि इतर पक्ष सरकारमा सहभागी नहुने भनिरहेको छ । संस्थापन पक्षसँग शेखर–गगन समूहको विवाद रहेका कारण कांग्रेसका चार सांसदले मन्त्री हुने अवसरबाट पनि वन्चित हुनुपरेको छ ।

Advertisement

संस्थापन र इतर पक्ष आफ्नो पक्षका धेरै मन्त्री बनाउने दाउमा एकअर्कासँग बार्गेनिङ गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्डले सातौँ पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दा १७ जना मात्र मन्त्री बनाएका छन्। संवैधानिक व्यवस्थाअनुसार अझै आठ जना मन्त्री बनाउने सुविधा छ ।

मधेस प्रदेशबाट तेजुलाल चौधरी, रमेश रिजाल र विमलेन्द्र निधि मन्त्रीका आकांक्षी हुन्। बाग्मती प्रदेशबाट भने मन्त्रीका आकांक्षी धेरै छन्। त्यसमध्ये काठमाडौं–१ का प्रकाशमान सिंह र चार का सांसद प्रदीप पौडेलसहित ललितपुरका उदयशमशेर राणा, भक्तपुरका दुर्लभ थापा र सिन्धुपाल्चोकका मोहन बस्नेत बलिया दाबेदार हुन्। काठमाडौं ३ का सन्तोष चालिसे पनि दाबेदार हुन् ।

गण्डकीबाट पार्टी उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार मन्त्रीका बलियो दाबेदार हुन्। गुरुङप्रति सभापति देउवा आफैँ सकारात्मक छन् । परियारको पक्षमा महामन्त्री गगन थापा खुलेरै लागेका छन्। गुरुङ र परियार दुवै शेखर–गगन समूहका भएकाले शक्ति सन्तुलन मिलाउँदा पनि उनीहरू मन्त्री बन्ने प्रबल सम्भावना रहेको नेताहरू बताउँछन् ।

लुम्बिनी प्रदेशबाट देउवानिकटका सहमहामन्त्री किशोरसिंह राठोर, शेखर–गगन समूहका सञ्जय गौतम, डा.शशांक कोइरालानिकट दीपक गिरी मन्त्रीको ‘लबिइङ’मा छन्। धेरै आकांक्षी हुँदा नेताहरू व्यवस्थापन गर्न समस्या भइरहेको छ।

कांग्रेसले मन्त्री बनाउन मापदण्डसमेत बनाएको छ । पार्टीले मन्त्रिपरिषद्मा पठाउँदा योग्यता, योगदान, समावेशिता र प्रादेशिक सन्तुलनलाई मध्यनजर राख्ने मापदण्ड बनाएको छ। यी चार वटा मापदण्डका आधारमा कांग्रेसले मन्त्रीको छनोट गर्छ। यही मापदण्डअनुसार थप मन्त्री पठाउन गृहकार्य भइरहेको छ ।

गुटगत भागबन्डा नमिल्दा र क्षेत्रगत रूपमा मन्त्री बनाउनुपर्ने मापदण्डका कारण मन्त्री पठाउन कांग्रेसले ढिलो भएको हो । शेखर कोइरालाले आफ्नो गुटबाट मन्त्रीको नाम नदिएपछि देउवाले आफ्नो गुटकालाई मात्र मन्त्री बनाएका हुन् । जसका कारण सरकार संचालनमा समस्या छ भने प्रचण्ड आफैं पनि तनावमा छन् । मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेकोप्रति लज्जावोध महसुस गरिरहेका छन् ।