काठमाडौं । नेपाली कांग्रेस भित्र मन्त्री बन्नेको दौडधुप कायम छ । कांग्रेस भित्र पनि डा.शेखर कोइराला समूहले सरकारमा आफूहरुको सम्मानजनक सहभागिता हुनुपर्ने दाबी गरिरहेको छ ।
सत्ता गठबन्धनमा मन्त्रालय भागवण्डा टुंगो लागेको छैन । तर, कांग्रेसमा मन्त्रीका आकांक्षीहरुको दौडधुप चलिरहेको छ । बिहीबार आफ्नो समूहको बैठकमा डा.शेखर कोइरालाले पनि मन्त्रालय भागवण्डाबारे सभापतिले केही नभनेको सुनाएका थिए ।
आफ्नो सम्पर्क कार्यालय, बालुवाटारमा भएको छलफलमा नेताहरुले सरकारमा सम्मानजक सहभागिता हुनुपर्ने बताए । ‘सरकारमा हाम्रो सम्मानजनक र न्यायोचित सहभागिता हुनुपर्छ भन्ने हाम्रो मत हो’, एक नेता भन्छन्, ‘कांग्रेसले ७ पायो भने हामीले ३ पाउनुपर्छ, ९ वटा पायो भने ४ वटा चाहिन्छ ।’
नेताहरुले सरकारको नेतृत्व गर्ने अवसर पाए डा.शेखर कोइरालालाई जान सल्लाह दिएका छन् । उनले भने यसबारे केही नबोलेको एक सहभागीले सुनाए । महामन्त्री गगनकुमार थापालाई पनि नेताहरुले अर्थ मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव आएको भए जान सुझाव दिएका थिए । तर उनले भने आफू सरकारमा नजाने बताए ।
गठबन्धनमा कांग्रेसले गृह वा अर्थसहित १० मन्त्रालय दाबी गरेको छ । तर, प्रधानमन्त्री दाहालले भने ७/८ वटा मन्त्रालयको प्रस्ताव गरेका छन् ।
कांग्रेसबाट मन्त्रीमात्रै होइन, उपप्रधानमन्त्रीकै आकांक्षीसमेत आधा दर्जनभन्दा बढी छन् । जसमा गुमाइसकेको सत्ता फर्काएर ल्याउन भूमिका खेलेका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा स्वाभाविक दाबेदार छन् । दुवैले मन्त्री नबन्ने घोषणा गरेका छन् । तर, पार्टीका तर्फबाट उपप्रधानसहित सरकारमा नेतृत्व गरेर जान पाए दुवै जना सरकारमा तयार छन् ।
पार्टीबाट सरकारको नेतृत्व गर्नेमा उपसभापति पूर्णबहादुर खड्का, कोइराला र प्रकाशमान सिंहको नाम चर्चामा छ। प्रवक्ता प्रकाशशरण महत, पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेता उदयशमशेर राणाले समेत अर्थमन्त्रीका लागि ‘लबिइङ’ गर्दै आएका छन्। परराष्ट्र मन्त्रालयमा आरजु राणाको दाबी रहेको छ।
सहमहामन्त्री पाण्डे, जीवन परियार र रामनाथ अधिकारी, एनपी साउद, रमेश लेखक, नारायण खड्का, दिपक खड्का, कान्छाराम तामाङ, अर्जुननरसिंह केसी, सन्तोष चालिसेलागयत मन्त्रीका आकांक्षी हुन् ।