June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

राष्ट्रपतिमा रामचन्द्र पौडेल दोब्बर मतका साथ विजयी हुने आंकलन

२०७९ फाल्गुन १३

1.8K

काठमाडौं । फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा दुई जनाको उम्मेदवार परेको छ । उम्मेद्‍वारी मनोनयन दर्ताको लागि तोकिएक समय सीमासम्म दुई जनाको मात्रै उम्मेद्‍वारी परेको हो । उम्मेद्‍वारी दर्ता गराउनेमा नेपाली कांग्रेसको तर्फबाट वरिष्ट नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ रहेका छन्।

पौडेललाई माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत आठ दलको समर्थन रहँदा नेम्वाङलाई हालसम्म एमालेबाहेकका दलहरुले समर्थन गर्ने निर्णय गरेका छैनन्। नेपालको संविधान अनुसार राष्ट्रपतिको निर्वाचनमा सङ्घीय र प्रदेशसभातर्फका तत्काल कायम रहेका कुल सदस्य सङ्ख्याको बहुमत अर्थात् ५० प्रतिशत मत ल्याउने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछ ।

यदि पहिलो निर्वाचनमा कसैले ५० प्रतिशत मत नल्याए सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुन्छ र बहुमत ल्याउने व्यक्ति राष्ट्रपति बन्ने ब्यवस्था रहेको छ। दोस्रो निर्वाचनमा पनि ५० प्रतिशत कसैले ल्याउन नसकेमा पुनः मतदान हुनेछ र त्यसमा जसले कुल सदर मतको सबैभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति हुनेछ।

Advertisement

राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबार अन्तिम मतदाता नामावली पनि प्रकाशन गरेको छ। मतदाता नामावलीमा ३ सय ३२ संघीय सांसद्‍ र ५ सय ५० प्रदेश सांसद्‍को नाम रहेको छ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ अनुसार संघीय सांसद्को प्रतिसांसद् ७९ मतभार तोकेको छभने प्रतिप्रदेश सांसद्‍को ४८ मतभार तोकेको छ। जसअनुसार संघीय सांसद्को मतभार २६ हजार २ सय २८ रहँदा प्रदेशसभा सांसद्‍को मतभार २६ हजार ४ सय रहेको छ। यसरी जम्मै मतभार ५२ हजार ६ सय २८ रहन्छ।

राष्ट्रपतिमा निर्वाचित हुनका लागि जम्मा मतभार ५२ हजार ६ सय २८ को ५० प्रतिशत अर्थात २६ हजार ३ सय ४० मतभार कम्तिमा ल्याउनुपर्ने देखिन्छ।जसका लागि एमालेलाई संकट पर्न सक्छ भने कांग्रेसलाई सहज हुने वातावरण देखिएको छ।

नेपाली कांग्रेससँग १५ हजार ३ सय ५२, माओवादी केन्द्रसँग ६ हजार २ सय ७२, एकीकृत समाजवादीसँग १ हजार ९ सय ४२ मतभार रहेको छ। यस्तै, जनता समाजवादी पार्टीसँग १ हजार ९ सय ८, लोकतान्त्रिक समाजवादी पार्टीसँग ८ सय ९२, जनमत पार्टीसँग १ हजार १ सय ९४, नागरिक उन्मुक्तिसँग ८ सय १३ , नेपाल समाजवादी पार्टी २ सय ५४ र राष्ट्रिय जनमोर्चासँग १ सय २७ मतभार रहेको छ।

त्यस्तै एमालेसँग १३ हजार ४ सय ४४ मतभार रहँदा एमालेलाई साथ दिने बताइएको राप्रपासँग २ हजार ३ सय ६ मतभार रहेको छ। यसरी मतभार जोड्दा आठ दलिय गठबन्धनबाट राष्ट्रपतिको उम्मेद्‍वार बनेका पौडेलको पक्षमा २८ हजार ७ सय ५४ मतभार देखिदा एमालेका नेम्वाङको पक्षमा १५ हजार ७ सय ५० मतभार देखिन्छ।

यही मतभारको अवस्था हुँदा संसदमा प्रतिनिधित्व गर्ने आठ दलले राष्ट्रपतिमा कांग्रेसको उमेदवारलाई सघाउने निर्णय गरेसँगै नेपाली कांग्रेसबाट राष्ट्रपति हुने लगभग पक्का भएको छ । किनकी कांग्रेस–माओवादीसहित उल्लेख्य मतभार रहेका दलहरुको गठबन्धन बनेपछि यो गठबन्धनका उम्मेदवार दोब्बर भन्दा बढी मतभारका साथ राष्ट्रपतिमा विजयी हुने सम्भावना देखिएको छ।