April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

सन्दर्भ प्रजातन्त्र दिवसः नागरिकका लागि दिवसहरू उत्सव हुन् कि सास्ती ?

सीता तुम्खेवा
२०७९ फाल्गुन ७

3.7K

प्रजातन्त्र प्राप्ति भएको दिनप्रति गौरव गर्नु र इतिहासको सम्मान गर्नु हामी सबैको दायित्व हुनजान्छ ।- मन्त्री गंगानारायण श्रेष्ठ

काठमाडौं । वि.स.२००७ सालको क्रान्तिले १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य गर्‍यो । नेपाली काँग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिलाई राजा त्रिभुवनले साथ दिएपछि मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्था स्थापना भएको थियो । जसको सम्झनामा हरेक फागुन ७ गते नेपालमा ‘प्रजातन्त्र दिवस’ मनाउदै आइएको छ । राणाहरूको वंशीय तन्त्र होइन कि ‘प्रजा’हरकै ‘तन्त्र’मा शासन चल्छ भन्ने उद्घोषसहित आजकै दिन मुलुकमा ‘प्रजातन्त्र’ ल्याएको थियो । आज नेपालमा प्रजातन्त्रले ७३ औं स्थापना दिवस मनाइरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

७३ औं प्रजातन्त्र दिवसको आवसरमा नेपाल सरकारले तीन दिन तामझामका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ । २०६३ वैशाखमा लोकतन्त्र स्थापनापछि प्रजातन्त्र दिवस ओझेलमा पर्दै आएको जस्तो महसुस गर्न सकिन्थ्यो । ‘प्रजातन्त्र’को ठाउँमा ‘लोकतन्त्र’ले स्थान लिएको थियो । नागरिकहरुको जिब्रोमा र मानसपटलमा ‘प्रजातन्त्र’ शब्द हराउँदै गएको र ‘लोकतन्त्र’ले ठाउँ लिँदै गएको महसुस हुन थालेको थियो । यसपटकको सरकारले तीन दिन यस दिवस मनाउने निर्णय गरेपछि यसको समर्थन र विरोध दुवै भएको देखिन्छ । कतिपयको नागरिकहरु देश गणतन्त्रमा प्रवेश गरिसकेको हुँदा प्रजातन्त्रलाई तामझामसाथ मनाउन र सार्वजनिक विदा दिइरहन आवश्यक नहुने बताउछन् भने सरकार पक्षबाट गणतन्त्रको आधार नै प्रजातन्त्र भएको हुँदा यसको महत्व रहेको बताउँछ ।

प्रजतान्त्र दिवसको अवसरमा शुभकामना प्रदान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको परिस्थितिसम्म आइपुगेको बताएका छन् । ‘आजका समस्त उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, महान् जनयुद्ध, २०६२/०६३ को ऐतिहासिक जनआन्दोलन लगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका न्यायपूर्ण आन्दोलनहरूको निर्णायक भूमिका रहिआएको छ ।’, प्रधानमन्त्री प्रचण्डद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

बागमती प्रदेश,आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ

यसैगरी बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ इतिहासको सम्मान गर्दै दुबै दिवस मनाउपर्ने बताउँछन् । मन्त्री श्रेष्ठ भन्छन्, ‘इतिहासप्रति सबैले गर्व गर्नुपर्छ । १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य गरि प्रजातन्त्र स्थापना गर्नु नेपाली जनताको ठूलो जित थियो । प्रजातन्त्र प्राप्ति भएको दिनप्रति गौरव गर्नु र इतिहासको सम्मान गर्नु हामी सबैको दायित्व हुनजान्छ । वास्तवमा २००७ सालमा स्थापित प्रजातन्त्र परिस्कृत र परिमार्जित हुँदै नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा आज सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छ । तसर्थ, प्रजातन्त्र दिवस र गणतन्त्र दुबै दिवस मनाउनु राम्रो हुन्छ ।’

यस्तै, प्रेस काउन्सिलका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार भवानी बराल पनि दुवै दिवस मनाउनु आवश्यक रहेको बताउछन् । उनी भन्छन्, ‘राजनैतिक साक्षरताको लागि दुवै दिवस मनाउनु आवश्यक छ । प्रजातन्त्र दिवसले पहिलो क्रान्तीको आवश्यकता बोध गर्छ भने दोस्रो गणतन्त्र दिवसले नेपालकै इतिहासलाई अर्को मोडमा ल्याइदिएको छ ।’

सहप्राध्यापक तथा जनसङ्ख्याविद बालकृष्ण माबुहाङ प्रजातन्त्र, गणतन्त्र या जनयुद्ध दिवस मात्र नभइ यावत विदाहरुले मान्छेको दैनिकीमा असर पार्ने बताउँछन् । ‘सार्वजनिक विदाहरुको राजनैतिक, सामाजिक, सांस्कृतिक, बौद्धिक महत्व रहेको हुन्छ, तर यसले मान्छेको दैनिकीमा कति प्रभाव पार्छ ? भन्ने प्रश्न पनि छ’, माबुहाङ भन्छन् ।

सहप्राध्यापक तथा जनसङ्ख्याविद बालकृष्ण माबुहाङ

यस्ता अवस्थाहरु एक समय एउटा उदेश्यको लागि निर्माण हुने र समयसँगै दृष्टिकोण परिवर्तन हुँदै जानुपर्नेमा माबुहाङको आग्रह छ । ७ सालपछि प्रजातन्त्र स्थापित हुँदा तत्कालिन समयमा राजतन्त्र रहेको र राजा भएको उल्लेख गर्दै अहिले नेपाली नागरिकहरु ७९ सालमा पुगिसकेको अवस्थामा अहिलेको नागरिकले पनि त्यहि ७ सालको भाष्यमा अल्झिरहरनुु दुःखद रहेको उनको भनाइ छ । माबुहाङ भन्छन्, ‘समय कम्युटराइज भइसक्यो । अहिलेका मान्छेहरु यति व्यस्त भएका छन् कि, ३ सय ६५ दिन अपुग हुन्छ । त्यसमा नेपालमा विदा नै ३ सय ६५ पुग्ला जस्तो भइसक्यो । त्यसैले इतिहासको सम्मान गर्ने नाममा यहि भाष्य अनुसार नयाँ पुस्ता पनि चल्नुपर्छ भन्नु ज्ञान नुहुनु हो ।’

नेकपा माओवादीनिकट पूर्व वाइसिएलका जिल्ला सदस्य देवेन्द्र वनेमको भने तीन दिन प्रजातन्त्र दिवस मनाउने सरकारको निर्णयप्रति विमति रहेको छ । राजतन्त्रको खुड्किला पार गरी नागरिक भइसकेको आवस्थमा अब विगतको इतिहासलाई इतिहासमै रहन दिनुपर्ने उनको धारणा छ । ‘प्रजातन्त्र भनेको राजतन्त्र व्यवस्थामा रहेर प्रजाहरूद्वारा निर्वाचित जनप्रतिनिधिद्वारा चलाइने शासनव्यवस्था हो । तर, त्यहाँ जनताको हातमा सार्बभौमसत्ता हुदैन, सार्वभौमसत्ता राजामा निहित हुन्छ, अर्थात् राजाको हातमा हुन्छ । अब इतिहासलाई इतिहासकै रुपमा रहन दिऔं’, उनको धारणा रहेको छ ।

, प्रेस काउन्सिलका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार भवानी बराल

हरेक कालखण्डका इतिहासको सम्झनामा दिइने सार्वजनिक विदाले श्रमजीवि नागरिकहरुलाई भने सास्ति दिएको एक नागरिक बताउछन् । हङ्कङ्बाट नागरिकता र पासपोर्ट बनाउन नेपाल आएकी दिव्या राना कर्मचारीको आलटाल र विदाकै कारण काममा ढिलाई भएको बताउछिन् । ‘त्यसै त कर्मचारीले काम नगर्ने त्यसमाथि विदाका कारण नागरिकता लिन मात्रै महिनौं लाग्यो । अब पासपोर्ट बनाउन कतिदिन लाग्ने हो ? आज पनि सार्वजनिक विदा छ । मेरो त १ वर्ष पढाइमा ढिलाइ भयो । एसोसिएट डिग्रीको पहिलो सेमेस्टर छुट्यो’, उनी आफ्नो गुनासो राख्छिन् ।