काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा देउवा र थापाले उम्मेदवारी दर्ता गराएका हुन् । पाँच पटक प्रधानमन्त्री भइसकेका देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्का समर्थक बसेका छन् ।
त्यस्तै महामन्त्री थापाको प्रस्तावकमा डा. नेता शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका छन् ।
यसअघि संस्थापनइतर समूहबाट गगनको नाम सर्वसम्मत गरिएको थियो । केही दिनदेखिका प्रयासले अन्तिम समयमा मूर्तरुप लिएको हो । कांग्रेसका ८९ जना सांसद रहेकामा जितका लागि अब ४५ मत ल्याए पुग्नेछ । कांग्रेसको विधानअनुसार संसदीय दलको नेता नै सरकारको प्रधानमन्त्री बन्ने अभ्यास कांग्रेसमा छ ।
कांग्रेस संसदीय दलको विधान, २०७४ मा दलको नेताबारे व्यवस्था छ । संसदीय दलमा रहेका प्रतिनिधिसभाका सदस्यबाट एकभन्दा बढी दाबेदार रहेको अवस्थामा निर्वाचन हुने व्यवस्था छ । दफा ६ मा सम्पूर्ण सदस्यको ५० प्रतिशतभन्दा बढी मत ल्याउने उम्मदेवार दलको नेता बन्ने व्यवस्था छ । दुईभन्दा बढी प्रतिस्पर्धी रहेको अवस्थामा पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसके निर्वाचन दोस्रो चरणमा प्रवेश गर्नेछ ।
पहिलो चरणमा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ भने बाँकी स्वतः बाहिरिनेछन् । दुई प्रतिस्पर्धीमा ५० प्रतिशतभन्दा बढी मत ल्याउने नै दलको नेता निर्वाचित हुनेछ ।
निर्वाचन गराउन र निर्वाचन गर्ने प्रक्रिया निर्धारण गर्न केन्द्रीय समितिले निर्वाचन समिति बनाउने व्यवस्था छ । शनिबार कांग्रेस कार्यसम्पादन समिति बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा केन्द्रीय सदस्यहरू पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको छ ।
अंकगणितअनुसार कांग्रेसका ५७ प्रत्यक्ष र ३२ समानुपातिक गरी ८९ सांसद रहेको अवस्थामा निर्वाचन जित्न ४५ मत आवश्यक पर्छ । परिणामलाई हेर्दा संस्थापन समूहमा ३३ प्रत्यक्ष र २२ समानुपातिक गरी ५५ सांसद छन् भने संस्थापन इतर समूहमा विश्वप्रकाश शर्मासहित २४ प्रत्यक्ष ,१० समानुपातिक गरी ३४ जना सांसद देखिन्छन् ।