काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा संस्थापन इतर समूहबाट महामन्त्री गगन थापालाई उम्मेदवार बनाउने निर्णय भएको छ । कांग्रेस नेता एवं सांसद डा.शेखर कोइरालाकै प्रस्तावमा गगनलाई दलको नेता बनाउन लागिएको हो ।
थापाले संस्थापन इतर पक्षबाट पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संसदीय दलमा उम्मेदवारी दिने छन् । कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार संसदीय दलको नेताको लागि शेखर समूहबाट गगन थापाले उमेदवारी दिने पक्का भएको हो ।
‘कांग्रेस बरिष्ठ नेता डा शेखर कोइरालाले थापाको नाम संसदीय दलको उमेदवारको रुपमा प्रस्ताव गर्नुभयो भने उपसभापति धनराज गुरुङले समर्थन जनाएपछि उपस्थित करिब ३ दर्जन सांसदले एक मतले समर्थन जनाउनुभएको छ,’शिवाकोटीले भने ।
इतर समूहको पटक पटक भएको छलफलमा थापा संसदीय दलको नेताको उम्मेदवार बन्ने र कोइराला प्रस्तावक बन्ने सहमति बनेको हो । देउवासँग बहुमत देखिए पनि इतर समूहबाट गगनलाई सर्वसम्मत उम्मेदवार बनाएर उभ्याए फरक नतिजा आउन सक्ने आँकलनसमेत भइरहेको छ ।
कांग्रेस संसदीय दलको निर्वाचन बुधबार बिहान ८ बजेदेखि हुँदैछ । त्यसका लागि आज मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । कांग्रेसमा प्रतिनिधि सभाका ८९ सांसद रहेका छन् । संसदीय दलको नेता नै प्रधानमन्त्रीका लागि उम्मेदवार बन्न पाउने कांग्रेसको विधानमा व्यवस्था छ ।