November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

गठबन्धन पत्तासाफ हुन्छ, एमालेले १ सय ५० सिट जित्छ : केपी ओली

1.8K

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि सत्ता गठबन्धन पत्तासाफ हुने बताएका छन् । एमालेले प्रतिनिधि सभातर्फ १ सय ५० सिट जित्ने उनको दाबी पनि थियो ।

गृह जिल्ला झापाको दमकमा बुधबार आयोजित एमाले निर्वाचन अभियान अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने,‘मंसिर ४ को चुनावमा गठबन्धनलाई पत्तासाफ गर्नुपर्छ, एमालेको नेतृत्वमा सरकार बनाउनुपर्छ ।’

प्रत्यक्षतर्फ कम्तिमा १०० र समानुपातिकमा ५० सिट जित्ने अध्यक्ष ओलीले बताए । उनले भने, ‘हामी मिसन १५० मा छौं, यसपटकको प्रतिनिधि सभामा एमालेले १ सय ५० सिट कम्तिमा जित्नेछ, कुनै गठबन्धनका छेस्काछेस्कीले एमालेलाई छेक्नेवाला छैन ।’

Advertisement

एमाले वचनको पक्का पार्टी भएको भन्दै अध्यक्ष ‌ओलीले झापामा राप्रपा र अन्य ठाउँमा तालमेल गरेका ठाउँमा जसपाका उम्मेदवारलाई भोट दिन नेता कार्यकर्तालाई निर्देशन दिए ।

अहिलेको सरकारको आयु एक महिनामात्र रहेको ओलीले बताए । गठबन्धन सरकारको दिनगन्ती सुरु भएको उनले बताए । देश बिगारेको दण्ड गठबन्धनवालाहरुलाई दिनुपर्ने र देश बनाउन एमालेलाई विजयी गराउनुपर्ने बताए । एमालेसँग सहकार्य गर्ने दलहरुको भविष्य राम्रो रहेको बताउँदै उनले यसपटकको चुनावमा राप्रपालाई राष्ट्रिय पार्टी बनाउने र राष्ट्रिय पार्टी रहेको जसपाको अस्तित्व जोगाउने जिम्मा एमालेले लिनेपनि बताए ।