April 24, 2024, Wednesday
२०८१ बैशाख १३
1:37:26 pm

१ लाख १५ हजार म्यादी प्रहरी छनोट, आवेदन दिएका १ लाख १७ हजार बाहिरिए

1.5K

काठमाडौं । आगामी ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षार्थका लागि १ लाख १५ हजार म्यादी प्रहरी छनोट भएका छन् ।

४० दिनको कार्यावधि तोकेर प्रहरी प्रधान कार्यालयले गत भदौ ३० गतेदेखि असोज ६ सम्म आवेदन खोलेकोमा ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट अन्तिम नतिजा प्रकाशन गरिएको हो । भर्नाका लागि २ लाख ३२ हजार ८८ जनाले दरखास्त दिएका थिए । माग भन्दा आवेदन दिनेको संख्या दोब्बर बढी भएकाले छनोटबाट १ लाख १७ हजार ८८ जना बाहिरिएका छन् ।

सबै भन्दा बढी मधेश प्रदेश र सबै भन्दा कम कर्णाली प्रदेशमा म्यादी भर्ना भएका छन् । जिल्लागत रुपमा सबै भन्दा बढी मोरङमा ३ हजार ६ सय १६, झापामा ३ हजार ४ सय ९० र धनुषामा ३ हजार ४ सय ८६ जना छनोट भएका छन् । त्यस्तै, सबै भन्दा कम मनाङमा २ सय २८, मुस्ताङमा २ सय ८५ र रसुवामा ३ सय ३० छन् । उपत्यकामा ५ हजार ७ सय ७३ छनोट भएका छ्न् ।

Advertisement

पूर्वम्यादी, पूर्वसुरक्षाकर्मी, विदेशी सुरक्षा निकायमा खटिएकालाई छनोटका क्रममा प्राथमिकता दिइएको थियो । छनोट भएका म्यादीलाई असोज ३० गतेदेखि कात्तिक ८ सम्म प्रहरीबाट निर्वाचन सुरक्षा तालिम दिएर कात्तिक ९ गतेदेखि फिल्डमा खटाइने प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले जानकारी दिए ।

मतदान स्थलमा प्रहरी र म्यादी तथा बाहिरी सुरक्षामा सेना र सशस्त्रलाई खटाउने गरी सुरक्षा कार्ययोजना बनाइएको छ । म्यादी प्रहरीले ४० दिनको तलब, भत्ता, रासन, पोसाक बापत एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ पाउने भएका छन् ।