काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एक पटक देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताएका छन् । सार्वजनिक समारोहमा उनले दोस्रो पटक देशको नेतृत्व गर्ने इच्छा रहेको सुनाएका हुन् । गृहजिल्ला तनहुँको दमौलीमा आइतबार उद्योगी व्यवसायीसँग वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताएका हुन् ।
“कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र साहस मसँग छ”, पौडेलले भने, “मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाट उम्मेदवार बन्ने भएकाले मलाई यसपटक सहयोग गर्नुहोस्,” उनले भने ।
पौडेलले कांग्रेसको १४औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले भेटेर देशलाई तपाईको आवश्यकता छ, स्वास्थ्य ठीक राख्नुस् भनेको स्मरण गरे । निर्वाचनको दिन नजिकिँदै गरेकाले कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनका उम्मेदवारलाई विजयी गराउने हिसाबले तयारी गर्न पौडेलले आग्रह गरे ।
१७ पटक प्रधानमन्त्री र पार्टी सभापतिमा पराजित भइसकेका पौडेल २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा समेत पराजित भएका थिए । यस पटक पनि उनी प्रत्यक्षतर्फको उम्मेदवार बन्ने कसरतमा छन् । उनी यस पटक पाए राष्ट्रपति नभए प्रधानमन्त्री बन्ने कसरतमा पनि छन् । सभापति शेरबहादुर देउवासँग लचक देखिएका उनी प्रजातान्त्रिक आन्दोलनमा सक्रिय छन् ।
२००१ सालको असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मेका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लागे पनि मुलुकको कार्यकारी भूमिकामा पुग्न सकेका छैनन् । राजा महेन्द्रले ०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि पौडेल राजनीतिमा होमिएका हुन् । सुशील कोइरालाको मृत्युपछि कांग्रेसको कार्यवाहक सभापति समेत भइसकेका पौडेलले पाँच पटक संसदीय चुनाव जितेका छन् ।
उनले २०४८ को संसदीय निर्वाचनमा तनहूँ क्षेत्र नं १ बाट र २०५२ तथा २०५६ का निर्वाचनमा तनहूँ क्षेत्र नं २ बाट विजय हासिल गरेका थिए । तनहुँ क्षेत्र नम्बर २ बाट २०६४ र २०७० सालको दुवै संविधान सभाको निर्वाचनमा पौडेल निर्वाचित भएका थिए । तनहुँको क्षेत्र नम्बर १ बाट लगातार ५ पटक निर्वाचित २०७४ सालमा प्रतिनिधि सभाको निर्वाचनमा पौडेल पराजित भएका थिए । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका उनलाई वाम गठबन्धनका एमाले उम्मेदवार किसानकुमार श्रेष्ठ किसानले पराजित गरेका हुन् ।
उनलाई अडान नभएको, साँघुरो सोच र सानो चित्तको नेताको उपमा दिइने गरिन्छ । साथै गुटको संरक्षण गर्न नसकेको भनेर उनीमाथि आरोप लाग्ने गर्छ । आफ्नो पक्षमा लाग्नेहरुलाई संरक्षण गर्न नसकेको भनेर उनलाई धेरै नेताले साथ छाडिसकेका छन् । उनी यतिबेला देउवासँग निकट देखिए पनि उनको प्रभाव दरिलो देखिदैन । तनहुबाट टिकट पाइहाले भने पनि यस पटक उनले विजयीको माला पहिरिन ठूलो कसरत गर्नुपर्ने देखिएको छ । संधै सभापति देउवाको आलोचक भएका पौडेल यस पटक देउवाको साथमा राष्ट्रपति बने भने राजनीतिक चमत्कार मान्नुपर्छ ।