काठमाडौं । मदन पुरस्कार गुठीको आज बसेको साधरणसभाले नवराज लम्सालको महाकाव्य ‘अग्नि’ लाई मदन पुरस्कार –२०७८ को लागि पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । साथमा जगदम्बा– श्री (२०७८) को लागि दुर्गाप्रसाद श्रेष्ठलाई सम्मान गर्ने निर्णय भएको छ ।
२९९ प्राप्त पुस्तकमध्य निर्णायक मण्डलले छोटो सूचीमा दामोदर पुडासैनी ‘किशोर’ को ग्रीष्मको नीलो बतास‚ वसन्त बस्नेतको महाभारा‚ दीपा मेवाहाङ राईको यादको सन्दुक‚ नारायण पौडेलको लिच्छवि लिपि‚ नीलमणि ढुङ्गनाको व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश‚ सुजित मैनालीको सतीः इतिहास र मीमांसा तथा पद्मसुन्दर जोशीको हिति प्रणालीलाई चयन गरेको थियो ।
कर्ण, धरा र अग्नि गरेर तीनवटा महाकाव्य लेखिसकेका नवराज लम्सार रेडियो नेपालमा कार्यरत छन् । नेपाली आधुनिक गीत लेखनमा स्थापित लम्सालले गद्य कविता पनि लेख्छन् । लम्सालको अग्निले अन्य तीनवटा पुरस्कार पनि प्राप्त गरेको छ ।
जगदम्बा–श्री सम्मान पाउने साहित्यकार श्रेष्ठ बनारसबाट प्रकाशित हुने उदय पत्रिकाका सम्पादक हुन् । ८२ वर्षीय श्रेष्ठ कथा, कविता, निबन्ध, उपन्यास र समालोचनामा कलम चलाउदै आएका छन् ।
मदनपुरस्कार र जगदम्बा–श्री सम्मानको पुरस्कार राशी ४/४ लाख रहेको छ ।