काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र अनधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउने अभियानलाई तिब्रता दिएको छ । मेयर वालेन्द्र साह (बालेन) संरचना हटाउन डोजरको साथ लिएर मैदानमा उत्रिएका छन् । मेयरकै निर्देशनमा कानून विपरित निर्माण गरेर संरचनामाथि डोजर चलाइएको छ । नक्सापासबिनाका अवैध संरचना डोजर चलेपछि व्यापारीमाझ खैलाबैला समेत मच्चिएको छ ।
यस क्रममा महानगरले बुधबार उपत्यकाको सुन्धारास्थित काठमाडौं मलमा बनेका अनधिकृत संरचना डोजर लगाएर भत्काएको छ । महानगरले खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडिका संरचना पनि भत्काएको छ । काठमाडौं मल अगाडि नक्सा पास बिना बनाइएका संरचना भत्काएपछि महानगरले खिचापोखरी क्षेत्रका संरचना भत्काएको हो । मेयर बालेन्द्रकै उपस्थितिमा डोजर लगाएर अनधिकृत संरचना हटाउन थालिएको हो । अवैध संरचना हटाउन महानगरपालिकाले ३५ दिने सूचना गोरखापत्रमा प्रकाशित गरिसकेको थियो।
रंजनागल्लीको कोजी कम्प्लेक्स र न्यूरोडको केषा प्लाजालाई पुनः मिति दिएर महानगरको टोली फर्किएको छ । यता, जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको अभिलेख पठाउनका महानगरले पत्र काटेको छ । अदालत भवनको नक्सा पास नभेटिएकाले सो को प्रमाण पठाउन महानगरले जिल्ला अदालतलाई पत्र लेखेको हो।
त्यस्तै थापाथलीस्थित नर्भिक अस्पतालको भवन भत्काउन पनि निर्देशन भएको छ । अस्पताल भवनको पश्चिमतर्फ बनेका संरचनाहरू (क्यान्टिन भवनलगायत) नेपाल सरकारसँग भएको सम्झौताविपरीत र नक्सा पास नै नगराई निर्माण गरेको भन्दै त्यस्तो आदेश बालेनले दिएका हुन् ।
नेपाल सरकारको नाममा दर्ता कायम रहेको कित्ता नम्बर २०८५, क्षेत्रफल १–८–१–१ को उक्त जग्गा नर्भिक अस्पतालले लिजमा लिई संरचनाहरू निर्माण गरेर अस्पताल सञ्चालन भएको महानगरको ठहर छ ।
त्यतिमात्र नभइ महानगरले अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा सञ्चालित पसल हटाउने अभियान पनि शुरु गरेको छ । सवारीसाधनको पार्किङ गर्ने अनुमति लिए पनि ती ठाउँमा व्यापार, व्यवसाय सञ्चालन भएका ठाउँ खाली गर्न महानगरले यसअघि सूचना प्रकाशित गरेर समय तोकेको थियो।
अटेर गरेर पसल सञ्चालन गरेको पाइएपछि महानगरले हटाउन थालेको हो। सोमबारदेखि महानगरले बानेश्वरलगायत क्षेत्रमा अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा रहेका पसल हटाउन सुरु गरेको छ। मेयर बालेन साहसहितको टोली अन्डरग्राउन्ड पार्किङ क्षेत्रको अनुगमनमा पनि हिंडिरहेका छन् ।
संरचना भत्काउने सूचना सम्बन्धित ठाउँमा पनि टाँस गरेको तर अटेर गरेकाले महानगरपालिकाले भत्काउनु परेको जनाइएको छ । कसैले पनि कानुन जान्दिन भन्न नपाउने भन्दै कानुनको अवज्ञा कसैले गर्नु नहुनेमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले बताए। महानगरको कदमले आफूहरू मारमा परेका भन्ने व्यापारीको गुनासोको जवाफमा उनले सबैलाई समान रुपमा कानुन लाग्ने र क्षतिपूर्ति पनि नदिइने प्रतिक्रिया दिए ।
संरचना भत्काइएकोप्रति केही ब्यापारीहरुले आपत्ति समेत जनाएका छन् । उनीहरुले महानगरले सबै ब्यापारीलाई एकै ठाउँमा राखेर सल्लाह गर्नुपर्ने र सामान हटाउन निश्चित मिति तोकिदिनुपर्ने बताएका छन् । महानगरले अवैध संरचना भत्काउनु स्वागतयोग्य भए पनि मानवताको हिसाबले व्यापारीलाई केही समय दिनुपर्ने व्यापारीहरुको भनाइ छ ।
यता, महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले संरचना भत्काउनुलाई राजनीतिक एजेन्डासँग जोडेर अभिब्यक्ति दिएका छन् । कांग्रेस नेता प्रकाशमान सिंहले जित्ने माहोल बनाउन काठमाडौंमा संरचना भत्काउन थालिएको उनको प्रतिक्रिया छ । उनले बालेन्द्र शाहका गतिविधिले एउटा पार्टीको सेवा मात्रै गरेको बताए।