काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ०७४ मा फलानो–फलानोले जितेको थियो भनेर त्यही आधारमा सिट बाँडफाँड गर्दैमा चुनाव जित्न नसकिने बताएका छन् । शनिबार स्वयम्भूमा भएको प्रदेशसभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने सहमति भए पनि त्यसको औचित्यबारे प्रश्न उठिरहेको भन्दै त्यसबारे जनतालाई प्रस्टसँग बुझाउनु आवश्यक रहेको बताए ।
थापाले गठबन्धन दलले काँग्रेसलाई पेल्ने यही बेला हो भन्ने सोचेर सिटमा भाग मागिरहेको आरोप लगाउदै भने, ‘चुनावको मुख छ, गठबन्धन गर्नुपर्ने बाध्यता छ भन्ने ठानेर काँग्रेसलाई दल्न मिल्छ, पेल्न मिल्छ भनेर सोचियो भने गठबन्धन दलले सिट त पाउनुहोला । तर त्यसरी चुनाव जितिन्छ जस्तो लाग्दैन ।
गठबन्धनको सिट बाँडफाँड कार्यदलको सदस्य समेत रहेका महामन्त्री थापाले काँग्रेसको संगठन र कार्यकर्ताको मनोविज्ञान नबुझेर हुने गठबन्धनको अर्थ नहुने बताए ।
‘मानौँ कि कुनै क्षेत्रमा कांग्रेससँग २० हजार मत छ, अर्को दलसँग २ हजार मत छ, र त्यस्तो क्षेत्रमा २२ हजार मत हुँदा चुनाव जितिन्छ भन्ने छ भने २० हजारमा २ हजार थपेर २२ हजार बनाउन सकिएला, तर २ हजारमा २० हजार थप्दा २२ हुँदैन, चुहिन्छ । चुनाव हारेपछि २२ हजार किन पुगेन भनेर चित्त दुखाउनुको अर्थ रहँदैन ।’, उनले उदाहरण दिँदै भने ।
केवल चुनाव जित्नका लागि मात्रै गठबन्धन गर्नुको औचित्य नहुने उनको भनाइ थियो ।
‘अहिले तालमेल गर्ने सहमति भइसकेको छ । तर, चुनावपछि के हुने भन्ने कसैले ग्यारेण्टी गर्न सकेको छैन । अहिले तालमेल गरेर मत मागौँला, चुनाव सकिएको छैन, एउटा एकातिर अर्को अर्कोतिर लाग्ने हो भने चुनाव जित्नका लागि मात्रै गठबन्धन किन गर्ने ?,’ थापाले भने, ‘त्यसकारण चुनावमा तालमेल केका लागि गर्ने ? त्यो कुरा प्रस्ट हुन जरुरी छ । कम्तिमा हामीबीच न्यूनतम विषयहरूमा साझा धारणा हुनु आवश्यक छ ।’
यस्तै थापाले जनतामा छाएको निराशालाई चिर्नु गठबन्धनको अर्को चुनौती भएको बताए । ‘जनतामा ठूलो निराशा छ । यो काठमाडौंमा मात्रै छ भन्ने लागेको हो भने त्यो गलत बुझाई हो । त्यो शहरमा मात्रै होइन, गाउँ गाउँसम्स पुगेको छ, वास्तवमा हामीले आम जनताको जनजीविकाको सवालमा किन परिवर्तन ल्याउन सकेनौँ ? त्यसमा गम्भीर समीक्षा नगर्ने हो भने जनताले त्यसको जवाफ दिन्छन्,’ उनले भने ।