काठमाडौं । नुवाकोटको विद्युत प्रशारण लाइनमा एक पुरुष पुगेपछि नेपाल विद्युत प्राधिकरणले ६० लाख रुपैयाँ हाराहारी घाटा बेहोर्नुपरेको बताइएको छ । प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले ५ घण्टा विद्युत उत्पादन बन्द गर्दा सो रुपैयाँ बराबरको घाटा भएको बताएका हुन् ।
‘विद्युत उत्पादन बन्द गर्नुपर्दा घण्टामा १० देखि १२ लाख रुपैयाँ बराबर घाटा भइरहेको छ । विद्युत उत्पादन बन्द गर्दा काठमाडौंमा बिजुली पुर्याउन गाह्रो हुन लागेको छ । झन्डै ७० मेगावाट विद्युत उत्पादन बन्द गरिएको छ । प्रहरीले पनि तल झार्न प्रयास गरिहेको छ । के गर्ने के नगर्ने भइरहेको छ ।’, घिसिङले भने ।
नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विक शनिवार बिहानदेखि २ सय २० केभीको प्रशारण लाइनमा हिँडिरहेका छन् । बिहान ९ बजे प्रशारण लाइनको टावरबाट सबैभन्दा माथिल्लो लाइनमा पुगेका उनलाई अपराह्न साढे ४ बजेसम्म उद्धारको प्रयास सफल हुन सकेको छैन ।
तलबाट बोलाउँदा नमानेपछि उनको उद्धारका लागि प्राधिकरणले प्रमुख जिल्ला अधिकारी र सेनालाई गुहारेको छ । तारमा गएर उसलाई तल झार्न पनि सम्भव नभएको र बोलाउँदा झन्-झन् माथि गइरहेको घिसिङले बताए । उनले नेपाली सेनालाई पनि भनेको बताए ।
‘आर्मीले हेलिकप्टर लिएर जाँदा पनि उद्धार गर्नुपर्ने मान्छे नै तयार भएन भने के गर्ने ? समातेर ल्याउन पनि नमिल्ने अवस्था छ ।’, उनले भने ।
ती ब्यक्तिमा मानसिक समस्या रहेको बताइएको छ ।