–भवानी बराल
मुलुक भर ७५२ स्थानीय पालिकाको परिणाम आउँदा ३० जना स्वतन्त्र उम्मेद्वारहरु पालिका प्रमुखमा निर्वाचित भएर आएका छन् । यसमध्ये स्वतन्त्र मध्येका पनि निख्खुर स्वतन्त्र दुई जना मात्र छन् । यिनमा काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र धरान उप–महानगरपालिकाका हर्क राज राई (साम्पाङ) हुन । बाँकी २८ स्वतन्त्र कुनै न कुनै पार्टी चाहारिसकेकेका वैकल्पिक स्वतन्त्र हुन् । प्रतिक्रियात्मक स्वतन्त्र हुन् । पहिलो ०७४ सालको निर्वाचनमा आधा दर्जन पनि नजितेका स्वतन्त्रहरु यसपटक चौथो ठूलो दलको रुपमा आएका छन् । यसमध्ये यहाँ बालेन्द्र शाह र हर्क राज राई कै विशेष चर्चा हुनेछ ।
दलीय व्यवस्थामा स्वतन्त्र:
दलीय व्यवस्थामा स्वतन्त्रको आगमन निको विषय हैन । दलको कार्यक्रम संघ, प्रदेश हुँदै स्थानीय तहसम्म लागु गर्नुपर्ने हुन्छ । यस्तो समयमा स्वतन्त्रको नेतृत्व दलको लागि खड्कने विषय हो । यतिखेर राजनैतिक दललाई स्वतन्त्रको नेतृत्व पहिलो गाँसमै ढुंगा परेको जस्तो भएको छ । काठमाण्डु महानगरमा प्रमुख शाहले राखेको पहिलो प्रस्ताव निर्णयार्थ पेशमात्र पनि भएन । दलका वडाध्यक्षको विरोधसंगै शाहले प्रस्तावै फिर्ता लिनु पर्यो । बैठक सञ्चालन गर्न सिकेर आउन वडाध्यक्षले उपदेशमात्र दिएनन् । बहुमतको दम्भ पनि प्रदर्शन गरे । आएदिन कुनैपनि बैठकको कार्यसूची वडाध्यक्षसंग छलफल गरेर नल्याए पारित नहुने संकेत पनि गरेका छन् । प्रमुख शाहले कार्यपालिका प्रमुख भैरहँदा यो भन्दा लज्जास्पद सायदै पहिलो दिन कुनै कार्यपालिका प्रमुखले बेहोरेको होलान् । जबकी शाहले ल्याएका प्रतेक कार्यसूची नगरवासीको हित विपरित थिएनन् । फरक धारबाट आउन खोजे देशभरका स्वतन्त्रबाट जितेका पालिका प्रमुखहरुको हालत हुने यहि हो ।
धरानमा पनि हैरान
धरान उप–महानगरपालिकामा नगरको बोर्ड बैठकै त बसिसकेको छैन । तर प्रमुख हर्कराज राईलाई पनि आउने आपत यहि हो । अझ यहाँ त प्रतिपक्ष नै कमजोर छ । कांग्रेस, माओवादीबाहेक नै यहाँ एमालेको प्रचण्ड बहुमत छ ।
प्रमुख राईको प्रमुख कार्यसूची पानी हो । यसअघि एसियाली विकास बैंकको सहयोगमा ‘सम्पन्न’ खानेपानी आयोजना असफल भैसकेको छ । आयोजना सम्पन्न भएपछि अढाइ तल्लामाथि दैनिक १८ घण्टा पानी आउने ‘गफ’ दिएर आयोजना निर्माणकर्ताले धरान नगरवासीलाई अश्वासन दिएका थिए । तर भयो यसको ठीक उल्टो । धरान काकाकुल भयो । राईले यहि आयोजनाको असफलता विरुद्ध आवाज उठाएकाले मत पाउने आधार पाए ।
यतिखेर उनी जसरी पनि कोशीको पानी ल्याउने कुरा दैनिक सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन् । कोशीबाट पानी ल्याउने विषयमा संसारभर छरिएर रहेका नेपालीलाई सञ्जालमार्फत सहयोग आव्हान पनि गरिसकेका छन् । कोशीको पानी ल्याउने प्राविधिक, मोद्रिक सम्भाव्यताको आँखोदेखा अनुसन्धान त बाहिर आइसकेको छैन । तर, यसको पक्षविपक्षमा बहस सुरु भैसकेको छ ।
यसअघि राजनैतिक संयन्त्रको समयमा सुरु भएको आयोजना एमाले स्थानीय धरान नगरमा आएपछि सम्पन्न भयो । ०७६ को उप निर्वाचनमा कांग्रेसले प्रमुखमा जितेपछि आयोजना जिम्मा लिन वाध्यतावस आइपुग्यो । यसरी खानेपानी आयोजना धरान नगरलाई काकाकुल बनाउन ल्याइएको पानी योजना जस्तो बन्यो ।
ऐन नै घाँडो:
स्वतन्त्रबाट पालिका प्रमुख हुन पुगेकालाई ‘स्थानीय सरकार सञ्चालन ऐन–२०७४’ ले हात खुट्टा बाँधी दिएको छ । बोर्डमा बहुमत सदस्य पक्षमा नभए कुनै निर्णय हुन सक्तैन । ऐनको दफा १७ का उपदफा १ देखि ५ सम्म ‘बैठक र निर्णय’ शिर्षक हेरे पालिका प्रमुख आलंकारिक भएको प्रस्टै देखिन्छ । प्रमुखले बैठक बसाएर सर्वसम्मत निर्णय गराउन सक्नु पर्छ । बैठकको गणपुरक संख्या पचासप्रतिशत बढी छ । महिनामा एक दिन बसाउने बोर्ड बैठकमा कुनैपनि निर्णय सर्वसम्मत हुन सकेन भने बहुमतबाट निर्णय अनुमोदन या खारेज हुनेछ । यसैलाई कार्यपालिकाको निर्णय मानिन्छ । यो झमेलामा जितेर आएका बालेन हुन वा हर्क वा कोही बहुमत सदस्य लिएर आएका छैनन् । यसर्थ पहिलो बैठकदेखि नै स्वतन्त्रले दलको प्रस्तावलाई स्वीकार्नुको विकल्प छैन या विद्रोह गरेर जनतामा जानु पर्नेछ । यसको पूर्व संकेत काठमाण्डु महानगरमा देखि सकियो । धरान नगरपालिकामा आउने नौबत पनि यहि हो ।
कोशीको पानी नाउ मुनी,
विसाएँ विन्ति पाउ मुनी :
कोशी किनारमा माथि उल्लेखित बोलको लोक गीत खुब प्रचलित छ । धरानका नवनिर्वाचित प्रमुख हर्क राजले पनि गीत अनुसार नै कोशीको पानी ल्याउन विन्ति विसाएका छन् । राईको एक सूत्रीय कार्यक्रम यहि कोशीको पानी धरान ल्याएर नगरवासीलाई खुवाउने हो । काकाकुल भएको नगरलाई पानी खुवाउने अर्को विकल्प यिनीसंग सुझेको छैन । यसर्थ सहयोगको अपिल पनि जारी गरिसकेका छन् । कोशीको पानी ल्याउन वैदेशिक सहयोगको लागि ‘सरकारी खाता खोल्ने’ प्रमुख राईले सामाजिक सञ्जालमा ‘भाइरल’ बनाएका छन् । यसको पक्ष विपक्षमा सामाजिक सञ्जालका भित्ता रंगीएका छन् । तर, यो प्रस्ताव बोर्डमा पुगेपछि के हुन्छ यसको अनुमान अहिले नै लगाउन सकिन्छ । यसैपनि यस्ता कार्यसूचीहरु सस्तो लोकप्रियतामा गनिन्छन् । त्यसमाथि अनेक योजनागत झन्जट देखाएर पारित हुनदिने पक्षमा बहुमतको एमाले हुनेछैन । एमाले बोर्ड सदस्यहरु धनकुटा हिलेको कान्जिरोवा रिसोर्टमा जनप्रतिनिधिको हैसियत राजिनामा बुझाएर पार्टी प्रतिनिधि हुने कवुल गरिसकेका छन् । यिनले जनप्रतिनिधिको स्वतन्त्र निर्णय लिन सक्ने छैनन् ।
धेरै भए यो प्रस्ताव मुल्तबीसम्ममा जान्छ । धरान पालिकामा प्रतिपक्षी कांग्रेस, माओवादीले सहयोग गरेपनि स्वतन्त्रको केही जोड चल्दैन । यस्तो बेलामा कोशी किनारमा गाईने त्यही लोकभाकाको गीतको सार बाहेक हुने केहि होइन । यो त स्वतन्त्र पालिका प्रमुखको प्राथमिक सन्देश हो । यसपछि अनेकान सन्देशहरु लस्करै आउनेछन् । त्यसको प्रतिक्षा गर्नु लामो समय लाग्ने छैन । एउटा कुरा चैं पक्का हो स्वतन्त्र हैसियतका प्रमुखलाई काम गर्न दिने वातावरण भएन भने नगरमा राजनैतिक अराजकताले ठाउँ ओगट्नेछ । अनिल कपुरले अभिनय गरेको हिन्दी चलचित्र नायकमा झै अर्को शिवराज चौहानको खोजी हुनेछ । राजनैतिक दललाई सबक सिकाउनमात्र स्वतन्त्रको यतिखेर रुपरेखा आएको हो । दललाई बढार्ने आँधी आयो भनेपनि अन्यथा मान्नु हुन्न ।
bhawanibaral@gmail.com