काठमाडौं । कार्यक्रम ‘सिर्जना र अनुभूति भाग–५’ मा साहित्यकार दाजु गुरुङको कथासङ्ग्रह ‘लाई–सी’ माथि चर्चा भएको छ । शुक्रबार भक्तपुर लोकन्थलीस्थित रिडर्स हब एण्ड क्याफेमा दाजुका सिर्जनाका अनुभूतिहरु सहित चर्चा परिचर्चा गरिएको हो ।
प्राडा.सनत कुमार वस्तीले सहजीकरण गरेको उक्त कार्यक्रममा प्राडा. नवराज खतिवडा, महेश पौडेल, प्राडा. उद्धब राई, रंगकर्मी ढकाल राधेश्याम, रञ्जु पाण्डे, देवेन्द्र खेरेस, अनिता पन्थी, जयन्ता पोखरेल शिव प्रधान, सिर्जना राई लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अनुभूति बाँड्ने क्रममा प्राडा उद्धब राईले लाई–सीको आवरणदेखि कथावस्तु र कथाका पात्रहरुको समेत चर्चा गरेका थिए । उनले कथा मिठो रहेको टिप्पणी गरेका थिए । लाई–सी ठूलो उपन्यासको सानो च्याप्टरजस्तै लाग्ने र भोगेका यथार्थलाई कथाले बताएको साथै कथाकारले कथाबाट हङ्कङ सिंगै पस्किएको उनको अनुभूति थियो ।
अर्का सहभागि प्राडा. नवराज खतिवडाले दाजु गुरुङका पहिलो कथासङ्ग्रह ‘टाँकीका फूलहरु’ र दोस्रो कथासङ्ग्रह लाई–सी एकआपसमा सम्बन्धित रहेजस्तो लागेको बताए । कथाहरुमा नेपालका धेरै बिम्बहरु प्रयोग गरिएको हुँदा कथाले हङ्कङ र नेपाललाई जोडेको उनको अनुभव थियो । ‘कथाका पात्रहरु फिक्सन गरिएका हुन् कि यथार्थ हुन् ?, उनले प्रश्न राखेका थिए ।
त्यस्तै, रंगकर्मी ढकाल राधेश्यामले भने कथाहरु पढ्दै जाँदा पारिजात र लैनसिै वाङ्देललाई पढेजस्तो अनुभूति भएको बताए । एवम् रुपले कार्यक्रममा उपस्थित अधिकांशले दाजु गुरुङका कथासङ्ग्रह लाई–सी मािथ करिब उस्तै अनुभूति रोखेका थिए ।
पाठकहरुको प्रतिक्रियापछि सर्जक गुरुङले आफ्ना कुराहरु राखेका थिए । लाई–सीमा हङ्कङमा रहेको नेपाल प्रस्तुत भएको उनको जिकिर थियो । नेपालमा रहेका अधिकांश सर्जक, पाठक तथा डायस्पोरिक लेखकहरुले कुण्ठामात्रै लेख्ने आरोप लगाउने गरेको हुँदा त्यो आरोप निराधार रहेको भन्दै प्रवासमा रहेका सर्जकहरुले ल्याएका सिर्जनाहरुलाई पनि पढिदिन उनले अनुरोध पनि गरेका थिए ।