April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पहिचान पुरस्कार भोजपुरमा वितरण

2.5K

भोजपुर । यस वर्षको पहिचान पुरस्कार वितरण गरिएको छ । पुरस्कार शुक्रबार भोजपुरको चखियामा एक कार्यक्रम आयोजना गरि आख्यानकार श्याम साहको ‘पथेर’ र अनन्त वाग्लेको ‘कदम’लाई समर्पण प्रदान गरिएको हो ।

पुरस्कार कार्यक्रमका प्रमुख अतिथि लेखक तथा समालोचक खगेन्द्र संग्रौलाले पुरस्कार वितरण गरेका थिए । पुरस्कृतहरुलाई ताम्रापत्र, मेडलको साथमा जनही रु. ४ लाख २ हजार २ रुपियाँ प्रदान गरिएको हो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कार्यक्रमका वक्ता आख्यानकार राजन मुकारुङ्ले भने, “हामीले आफ्नै राज्यसँग आइडेन्टी खोज्दैछौ, यो भन्दा अरु बिडम्बना के हुन सक्छ ? हो यी नै प्रश्नहरुको उत्तरको लागि हो पहिचान पुरस्कार ।” त्यस्तै, कवि कबिता राईले पहिचान पुरस्कारको स्थापनाले किनाराकृत लेखकहरुको निम्ति टर्निङ पोइन्टको भूमिका निर्वाह गरेको बताइन् । पुरस्कृत कृतिमाथि मुनाराज शेर्मा र गुरुङ शुसान्तले बोलेका थिए ।

Advertisement

पुरस्कृत श्रष्ठा श्याम साहले आफुलाई मधेसको उत्पिडनले लेख्न प्रेरित गरेको जनाउदै पहिचान पुरस्कार प्राप्तिले आफुलाई थप जिम्मेवारी प्रदान गरेको बताए । अर्का श्रष्ठा अनन्त वाग्लेले कदम त लेखियो तर लक्षित समुदायले यो पढ्छ कि पढ्दैन ?, पढ्न जान्दछ कि छैन ?, त्यो पनि थाहा छैन ? यो पुरस्कार पाउदै गर्दा ती राउटे पात्रहरुलाई सम्झिरहेको छु भन्दै यो पुरस्कारको केही हिस्सा त्यो समुदायको सामाजिक कार्यको लागि समर्पण गर्ने बताए ।

२ दिन सम्म चल्ने सो कार्यक्रमको पहिलो दिन आज “ट्याम्के यात्रा” तथा पुरस्कार समर्पण गरिएको छ । भोलि मुन्धुम काव्य पथ यात्रा लगायतका कार्यक्रम हुनेछन् ।

आजको कार्यक्रमलाई शङ्करदेब राईले सन्चालन गरेका थिए भने कार्यक्रमको सभाध्यक्ष पहिचान पुरस्कार कोषका सस्थापक काङ्गमाङ नरेश रहेका थिए ।