April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

‘सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ विमोचित

4.7K

काठमाडौं । अर्जुनबाबु माबुहाङ र अमित थेबे मिहाङद्धारा लिखित पुस्तक ‘सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ विमोचन भएको छ । इतिहास विधामा लेखिएको उक्त पुस्तक १ नम्बर प्रदेशका प्रमुख परशुराम खापुङको बाहुलीबाट विमोचन भएको हो ।

बिहीबार धरानस्थीत होटल स्टारमा पुस्तकको विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि परशुराम खापुङले इतिहास निर्माण गर्न कठिन भएको बताउदै ‘सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ पुस्तक मुलूकको इतिहासमा कोशेढुंगा सावित भएको बताए । उक्त पुस्तकको जति प्रशंसा गरेपनि नपुग्ने उनको भनाइ थियो ।

पुस्तकका लेखक अर्जुनबाबु माबुहाङले पुस्तक लेखनको अनुभव व्यक्त गर्दै शुरुमा सिरिजङ्गाको लेखोटलाई संकलन गर्ने उद्देश्य राखी अध्ययन शुरु गरेको तर पछि फाल्गुनन्द र इमानसिंहको पनि जोड्नै पर्ने भएको भेटिएपछि सोहि कारण पुस्तकको नाम ‘सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङको लेखोट’ जुरेको बताए । त्यस्तै, लिम्बूको मुन्धुमलाई सत्यहाङहरुले नामेट पारी फाल्गुनन्दमा केन्द्रीत गरेको पनि मावुहाङले आरोप लगाए ।

Advertisement

पुस्तक विमोचन कार्यक्रममा बोल्ने क्रममा प्रदेश १ प्रमुख माननीय परशुराम खापुङ ।

त्यस्तै, विमोचन कार्यक्रममा बोल्ने क्रममा प्रदेश नं १ का पुर्व प्रमुख प्राडा गोविन्द तुम्बाहाङले आजकल सभासमारोहमा बोल्न डराउनुपर्ने बताए । चित्त बुझेन कि सामाजिक संजालमा श्रध्दाञ्जली दिने, जुताको माला लगाएर फोटो टाँस्ने गरेकोले डराउनुपर्ने तुम्बाहाङको भनाई थियो । अहिले पछिल्लो चलिरहेको लिपिविवादबारे तुम्बाहाङले यसो भनेका हुन् । ‘निश्चय नै सुनुवार या वान्तबामा बोलिने शब्द उच्चारण देवनागरी या सिरिजङ्गाले गर्न सक्दैन । त्यसरी सक्दैन भने नयाँ लिपि बनाएर लिम्बूलाई थोपर्नु वैज्ञानिक हुन्न ।’, तुम्बाहाङको भनाई थियो ।

तङ्सिङ मिडिया प्रालीको आयोजनामा सम्पन्न विमोचन कार्यक्रमको अध्यक्षता मिडिया प्रालीका अध्यक्ष योबाहाङ तुम्बाहाम्फेले गरेका थिए । त्यस्तै, अतिथिहरु पूर्व प्रदेश प्रमुख प्राडा गोविन्द तुम्बाहाङ, युमा साम्योका अध्यक्ष देवेन्द्र वनेम, लेखक तथा धरान प्रज्ञा प्रतिष्ठानका अध्यक्ष अम्बिका सम्बाहाम्फे, डा. रामनारायण कन्दङ्वा, डा.रमेश इजम, युमा साम्योका अध्यक्ष देवेन्द्रकुमार वनेम, किरात याक्थुङ चुम्लुङ प्रदेश १ अध्यक्ष ध्रुब मेन्याङ्बो, महेन्द्र क्याम्पस धरानका लेक्चरल हर्क सुब्बा, वरिष्ठ पत्रकार हर्ष सुब्बा लगायत रहेका थिए । कार्यक्रममा सन्तोष कुरुम्बाङले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन हितराम तिल्लिङले गरेका थिए ।

करिब ८ वर्षको अध्ययन तथा अनुसन्धानपछि उक्त पुस्तक प्रकाशन गरिएको लेखक अमित थेबेको भनाइ छ । उनका अनुसार पुस्तकमा विशेष हज्सन पाण्डुलिपिमा सिरिजङ्गाबारे लेखिएको भोल्युमको आधारमा अध्ययन गरिएको छ । विशेष लिपि विकासमा सिरिजङ्गाको योगदान त्यसपछि फाल्गुदन्द लिङ्देन, इमानसिंह चेम्जोङको योगदानबारे पुस्तकमा उल्लेख गरिएको छ ।

अहिले सिरिजङ्गा लिपीबारे विवाद चलिरहेको समयमा यस पुस्तकले विवादबारे निष्कर्षमा पुग्न यस किताबले सहयोग गर्न सक्ने थेवेको दबी छ ।

लेखक अर्जुनबाबु माबुहाङ याक्थुङ मुन्धुम इतिहासका खोजकर्ता तथा तेह्रथुम लालिगुराँस नगरपालिकाका मेयर हुन् । उनका एक दर्जन, पुस्तकहरू प्रकाशित छन् । त्यस्तै, हाल युकेमा रहेका साहित्यकार, पत्रकार अमित थेबे करिब २० देखि याक्थुङ भाषा तथा संकृतिबारे खोज अनुसन्धान तथा काम गरिहेका छन् ।