April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

स्वर्णिम साहित्य समाजद्धारा पुरस्कार र सम्मानको अक्षयकोष घोषणा

4.6K

धरान । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले कला र साहित्यमा समर्पित हुने सर्जक तथा श्रष्ठाहरुको निम्ति स्वर्णिम साहित्य पुरस्कार तथा सम्मानको अक्षयकोषको घोषणा गरेको छ । बराहक्षेत्रको नडाहामा आयोजित एक कार्यक्रमबीच प्रमुख अतिथि अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूह भारतका उपाध्यक्ष कवि तथा साहित्यकार भिम ’बिरही’ राईले सो पुरस्कार घोषणा तथा सार्वजनिक गरेका हुन् ।

करिब ५ लाखको सो अक्षयकोषबाट प्राप्त रकमले नेपाली साहित्यमा समर्पित सर्जक र श्रष्ठालाई पुरस्कार र सम्मान प्रदान गरिने अक्षयकोषका प्रवक्ता प्रकाश दिप्साली राईले बताए । उनले कोषमा ३ लाख जम्मा भएपछि सो पुरस्कार र सम्मान प्रदान गर्न थालिने बताए । तर अक्षयकोषको लक्ष्य भने ५ लाखको रहेको पनि उनले बताए ।

हिजो निक्कै भावुक देखिएका दिप्साली राईले विगतको १४ वर्षको उतारचढावहरु सम्झिए । उनले भने “एउटा सर्जकले मरिहत्तेसँगसँगै त्यसको लगत्तै केही भए पनि उपलब्धी हुनुपर्छ भन्ने हाम्रो भनाई हो । यो ठूलो राशीको पुरस्कार त नहोला तर कवि लेखकलाई प्रोत्साहन भने जरुर गर्ने छ ।”

Advertisement

यस्तै उनले आजसम्म नगद १ लाख ३० हजार रुपैयाँ उठिसकेको र प्रतिबद्धता १ लाख ५० हजारको हाराहारीमा रहेको पनि बताए । सोही कार्यक्रममा कोषका निम्ति अर्जुन श्रेष्ठ , मुनविम एकेडेमीका राजेन्द्र निरौला, हतुवाली जेठा, पात्लेपानी कला÷साहित्य प्रतिष्ठान लगायतले सहयोग तथा प्रतिबद्धता व्यक्त गरे ।

पात्लेपानी कला÷साहित्य प्रतिष्ठानका संस्थापक बिश्वजित राईले आफ्नो क्षेत्रको कविको भन्दै कार्यक्रमका प्रमुख अतिथि भीम विरही राईको फेटा गुथाएर शीर उठाउनी गरेका थिए ।

सोही कार्यक्रममा गजलकार शारदा निरौला शारु र कवि तिर्थ बिश्वकर्माको गजल तथा कविता वाचन समेत रहेको थियो । उनीहरुले ३ गजल र ३ कविता सुनाए ।

कार्यक्रमका प्रमुख अतिथि भीम विरही राईले यो पुरस्कार तथा सम्मान कला र साहित्यमा समर्पितहरुका लागि कोशेढुङ्गा हुने बताए “स्वर्णिम साहित्य समाजलाई स्थापनाकालदेखि नै नजिकबाट चियाइरहेको छु । यो खाले गतिशीलताले सर्जक सिर्जनालाइ नै उचाईमा पुराउनेछ, आजको यो दिन कला र साहित्यका पारखीहरुको निम्ति ऐतिहासिक ।” उनले थपे ।

समाजका सह–सचिव लक्ष्मण कट्वालले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य कवि सबिता फागो चोङ्बाङले राखेकी थिइन् भने कार्यक्रमका सभाध्यक्ष समाजका उपाध्यक्ष शरण लिम्बु रहेका थिए ।