April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

राजावादी सडकमा, विप्लव हिंसातर्फ, अलमलमा सरकार

3.8K

काठमाडौँ – देश कोरोना भाइरस (कोभिड-१९)को महामारीले आक्रान्त छ। यही समयमा जनतामा घृणासम्म पैदा गर्ने गरी सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महिनौँदेखि ​किचलो जारी छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीको किचलो, सरकारमा राजावादीको प्रदर्शन, प्रतिबन्धित नेत्र विप्लव चन्द्र नेतृत्वको नेकपाको गतिविधि बढ्न थालेपछि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाए। 

बैठकमा प्रधानमन्त्री ओलीले सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवा लगायत अन्य दलका नेताहरु सहभागी थिए। त्यहाँ राजावादी दल राप्रपाका नेताहरु पनि उपस्थित थिए। 

Advertisement

बैठकको सुरुमा प्रधानमन्त्री ओलीले सरकारबाट गरेका काम र राम्रा कामको प्रशंसासहित चर्चा गरेका थिए। त्यसपछि उनले सहभागीलाई सुझाव मागे। प्रधानमन्त्री ओलीले बैठकको सुरुमै संविधान विरोधी गतिविधिलाई लिएर चिन्ता व्यक्त गरे।

तर, बैठकमा सहभागीहरू सरकारको कार्यशैलीविरुद्ध उत्रिएपछि प्रधानमन्त्री ओलीले त्यसको जवाफ फर्काउन नसकेको नेताहरु बताउँछन्। 

बैठकमा प्रधानमन्त्रीले संविधान विरोधी क्रियाकलाप रोक्न सबै एक जुट हुनुपर्ने तर्क गरेका छन्। संविधान विरोधी गतिविधि देशभर बढ्न थालेपछि प्रधानमन्त्री ओलीले चिन्तित देखिएका थिए। गणतन्त्र स्थापना भएको १२ वर्ष पूरा हुन नपाउँदै गणतन्त्रको विरोध गर्दै राजावादीहरु सडकमा उत्रन थालेका छन्। 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारकै कारणले सडकमा गणतन्त्रको विरोध गर्दै राजावादी सडकमा उत्रिएको आरोप लगायो। तर, प्रधानमन्त्री ओलीले त्यसको जवाफ खुलस्त रुपमा राख्‍न सकेनन्।

भ्रष्टाचार नियन्त्रण, कोरोना भाइरस संक्रमण नियन्त्रण, सडकमा राजावादीहरुको प्रदर्शन हुनुमा सरकारको जनअपेक्षित काम गर्न नसकेको कारणले जनता सडकमा निस्किएको कांग्रेसको ठहर छ। 

सरकारी गतिविधि दमनको शैलीमा अघि बढेको भन्दै असन्तुष्टको विरोधलाई केहीले उपयोग गर्न खोजेको सहमहामन्त्री डा. प्रकाशशरण महत बताउँछन्। 

‘प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिक विषयमा जुन प्रश्‍न उठेको छ, त्यसमा छलफल गर्न यहाँहरुलाई बोलाएको भन्‍नुभयो। सुझाव माग गर्नुभयो,’ उनले भने, ‘हामीले कांग्रेसको तर्फबाट आफ्नो कुरा राख्यौँ। कोभिडको महामारीको विषय छ, सरकार यसमा असफल भएको छ। उपचार नागरिकको स्वास्थ्य आधारभूत अधिकार हो, त्यो सरकारले गर्न सकेको छैन।’

‘प्रधानमन्त्री ओलीले बैठकमा राजावादी वा विप्लव कुनै घटनाको नाम नै त लिनुभएन। तर, यहाँ सिस्टमकै विरुद्ध  नभएकाले सरकारको गतिविधिको कारणले राजावादीहरु सडकमा आएका छन्’, उनले भने, ‘उहाँले बैठकमा नेकपाभित्रको विवाद कारणले फाइदा उठाएर त्यो प्रवृत्ति देखिन थालेको गुनासो गर्नुभयो।’ 

‘सरकार नसुध्रिएसम्म प्रदर्शन रोकिँदैन’

सरकारको कारणले जनतामा ठूलो असन्तुष्टि बढेको उनले बताए। ‘सरकारप्रति जनतामा ठूलो असन्तुष्टि छ। प्रणालीमा भन्दा पनि अहिलेको असन्तुष्टि सरकारप्रति जनता सडकमा निस्किएका हुन्’, उनले भने, ‘भ्रष्टाचार उस्तै छ। कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न सकेका छैन। कोरोनाको नाममा पनि ठूलो भ्रष्टाचार भयो।’

‘प्रधानमन्त्रीले आफ्नो शासन शैली सुधार गर्नुपर्ने उनको दाबी छ। हामीले तपाईंहरुको शासन शैली पनि दमनकारी भयो। तनहुँको घटना मात्रै नभएर तपाईंको पार्टीसँग विचार नमिल्नेहरुलाई विभिन्‍न मुद्दा लगाउन लगायतको गतिविधि भइरहेका छन् भन्यौ’ तर, उहाँले हाम्रो जवाफ सुनेपछि धेरै प्रतिक्रिया दिनुभएन।’

‘अहिलेको सिस्टम सहि छ। यही सिस्टमबाट निर्वाचित भएको सरकारले जनअपेक्षित काम गर्न सकेका छैन। त्यसैले सिस्टमविरुद्ध काम  भइरहेको छ’, उनले भने, ‘तर, संविधान र राजतन्त्रविरोधी गतिविधि सफल हुँदैनन्।’

सरकारले आफ्नो कार्यशैली सुधार गर्न नसके सडकमा आएको आन्दोलन सहजै व्यवस्थापन हुन नसक्ने उनको तर्क छ। ‘सरकारले तत्कालै आफ्नो कार्यशैली सुधार गर्यो भने यो सडक आन्दोलनदेखि विप्लव हरुको बिषय सहजै व्यवस्थापन हुन्छ’, उनले भने, ‘तर, सुध्रिएन भएर जनताले सरकारलाई हटाएर यही सिस्टमबाट अर्को प्रतिनिधि सरकारमा ल्याउन तिर लाग्छन्।’ 

लोकतान्त्रिक संस्थालाई कमजोर पार्ने संविधानलाई समेत असर पार्ने खालका गतिविधि तत्काल रोक्नुपर्ने उनले बताए। 

‘सेलाएका छैनौं, संसद खोलौं’

सरकारको गतिविधिबारे प्रश्‍न उठाउन प्रमुख प्रतिपक्षी दल चुकेको आरोप लागि रहेपनि उनी त्यो कुरा स्वीकार गर्दैछन्। 

‘संसदमा हाम्रो संख्या कम भएकै कारणले नै कमजोर देखिएको हो। हामीले सरकारका कमीकमजोरीको कुरा सडकमा सुनाउने होइन। संसदमा सुनाउने हो,’ उनले भने, ‘तर, संसद बन्द गरिहेको छ। हामीले संसद खोल्न माग गरिरहेका छौँ।’

सरकारले संसद बन्द गरे पनि आफ्नो ढंगबाट विरोध गरिरहेको उनी दाबी गर्छन्। ‘बाहिर आफ्नो ढंगले विरोध गरिरहेका छौँ। सभ्य तरिकाले हत्या हिंसाको स्वरुप देख्दै आएका जनताले सभ्य तरिकाबाट गरेको विरोधलाई कमजोर देख्नुभएको स्वाभाविक कुरा हो’, उनले भने। 

‘हामीले हाम्रो तरिकाबट सरकारको विरोध गरिरहेका छौँ। २९ गते देशव्यापी विरोधको कार्यक्रम राखेका छौँ। कडा रुपमा प्रस्तुत हुने तयारी गर्दैछौँ। संसदीय मर्यादाको विरोधलाई सरकारले पनि बुझेको छैन’ उनले भने, ‘संसद बैठकको माग गरेका छौँ। सर्वदलीय बैठकमा पनि कुरा राखेका छौँ। सरकारको आचरण सुधार गर्न बाध्यकारी नबनाई नहुने अवस्था देखिएको छ।’ 

लोकतन्त्रको विकल्प राजतन्त्र हुँदैन

लोकतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल बताउँछन्। ‘सरकारको असन्तुष्टिप्रति विरोध गर्नेले लोकतन्त्रको विरोध लोकतन्त्र नै हो। लोकतन्त्रको विकल्प कुनै पार्टीले गरेको काम गरेको आलोचना गरेर राजतन्त्र हुनै सक्दैन,’ उनले भने।

अहिलेको प्रणालीप्रति बिमति प्रकट गरेर जनतामा भ्रम सिर्जना गराउनेहरूले सडकमा प्रदर्शन गरिरहेको उनले बताए। सडकमा राजावादीहरुले प्रदर्शन गरिरहे पनि राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको उनले दाबी गरे।

‘अहिलेको प्रणालीप्रति बिमति प्रकट गरेर जनतामा भ्रम सिर्जना गराउनेहरूले सडकमा प्रदर्शन गरिरहेका छन्। राजतन्त्र फर्कने कुनै सम्भावना छैन’, उनले भने, ‘राजतन्त्र फर्काउने कुनै षड्यन्त्र भयो भने आमजनता राजनीतिक पार्टीप्रति असन्तुष्ट भए भने त्यसको प्रतिवादमा उत्रिन्छन्।’

सत्ताधारीको किचलो, राजावादी र विप्लवको सक्रियता 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपामा अहिले पनि विवाद चर्किरहेको छ। प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहालबीचको आन्तरिक कलह साम्य हुने छाँट छैन। नेकपाको विवाद बढिरहेको बेला सडकमा गणतन्त्रको विरोध गर्दै राजावादीहरुले प्रदर्शन गरिरहेका छन्। 

राजसंस्थाको माग गर्दै ठूलो संख्यामा देशका ठूला शहरहरुमा प्रदर्शन गरिरहेका छन्। सडकमा भइरहेको प्रदर्शनमा राप्रपाले अधिकार जमाउन खोजे पनि सफल हुन सकेन। तर, अहिले राप्रपाले आन्दोलनको पक्षमा नैतिक समर्थन रहेको जनाइसकेको छ। 

गणतन्त्रले जनताको पक्षमा काम गर्न नसकेको भन्दै राजावादी सडकमा छन्। उनीहरुले राजनीतिक दलकै कारणले मुलुक गम्भीर संकटमा पुगेको तर्क गरिरहेका छन्। उनीहरुले देशभर गरेको प्रदर्शनमा नेकपा, कांग्रेस, राप्रपालगायतका सबै स्वतन्त्र युवाहरुको सहभागिता रहेको जनाउँदै आएको छ। तर, राजनीतिक दलले त्यो कुरा स्वीकार गर्दैछन्। 

पार्टीको झण्डा नभएर नेपालको झण्डा बोकेर आउनेलाई राजावादीले सहकार्यका लागि आह्वान गरिरहेको छ। सरकारप्रतिको असन्तुष्टि, सत्ताधारी दलको विवाद, राजावादीको आन्दोलन बढिरहेको बेलामा सरकारबाट प्रतिबन्धित विप्लव समूह पनि हिंसामा उत्रिएको छ। विप्लव समूहले मोरङको मिक्लाजुङ गाउँपालिकास्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठ हत्या गरेको छ। 

राजसंस्थाको पक्षमा राप्रपा 

देश गणतन्त्र स्थापनापछि संघीयतामा गइसकेको छ। तर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजासहितको लोकतन्त्र र हिन्दु राज्यको माग गरिरहेको छ। राप्रपाले राजावादीको प्रदर्शनलाई समर्थन जनाउँदै मंगलबार प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा राजासहितको लोकतन्त्र र हिन्दु राज्यका लागि सर्वदलीय बैठक राखेर छलफल गर्नुपर्ने माग गरिरहेको छन्।

सडकमा राजावादीको पक्षमा उठेको प्रदर्शनमा राप्रपाको नैतिक समर्थन रहेको राप्रपा नेता दीपक बोहोराले बताए। ‘प्रधानमन्त्रीको आह्वानका सर्वदलीय बैठक बोलाइएको थियो। बैठकमा राजतन्त्रको पक्षमा भइरहेको आन्दोलनको बारेमा छलफल भएको थियो,’ उनले भने, ‘संविधान बनाउँदा चौथो पात्र थियो। संविधानप्रति समर्थन छ।’

सरकारको अलोकप्रियता र नेकपा विवाद कारक

सडकमा राजतन्त्रको पक्षमा सडकमा प्रदर्शन हुनुमा सत्तारुढ पार्टीले दुईतिहाइको बहुमत पाएर जनताको मन जित्ने काम गर्न नसकेको कारणले असन्तुष्टि पोखिएको राजनीतिक विश्लेषक श्याम श्रेष्ठ बताउँछन्। 

‘सरकारको दुई तिहाइको बहुमत प्राप्त गरेको सरकारले जनताको मन जित्न काम गर्न सकेको छैन। त्यसैले सरकार अलोकप्रिय भएकाले दक्षिणपन्थीले मौका छोप्न खोजेका हुन्। उग्र वामपन्थी क्रान्तिकारी पनि आउन सक्छ। अहिले दक्षिणपन्थी आएको छन्’, उनले भने। नेकपाको विवादमा अब नाङ्‍गिन बाँकी केही नरहेको उनी तर्क गर्छन्। 

‘नेकपामा नाङ्‍गिन बाँकी केही छैन। त्यसैले उनीहरुलाई मसला प्रदान भयो। राजनीतिक स्पेस कहिल्यै खाली बस्दैन। प्रतिपक्षी बलियो आएको भए यस्तो दिन आउने थिएन’, उनले भने, ‘कांग्रेस बलियो भए वा वैकल्पिक पार्टी साझा पार्टीहरू पनि बलियो भएको भएर अहिले राजावादीहरुले सडकमा आउन सक्दैनथे। यिनीहरूको उपस्थिती छ-छैन भन्‍ने भएको कारणले प्रतिपक्षतिर आँखा लगाउन कारणले राजा वादीतिर गयो।’ 

सरकारको विरोध गरेर सडकमा राजसंस्थाको पक्षमा प्रदर्शन भएपनि राजसंस्था नै फर्कने सम्भावना नभएको उनी बताउँछन्। राजसंस्था आर्थिक कारणले नै गएको दाबी गर्छन्।

‘अब राजसंस्था फर्कने सम्भावना छैन। ऐतिहासिक आर्थिक कारणले गयो हो। नेपाल नयाँ पुस्ताको जम्मा भयो,’ उनले भने ‘अहिले सर्वसाधारण स्वतन्त्ररुपमा निस्कन पाएका छन्। त्यसैले राजा फर्कने सम्भावना छैन।’ सरकारले मैदानमा आफ्नो जोश अनुसारको काम गर्न नसकेका जनताले असन्तुष्टि व्यक्त गरेको उनले दाबी गरे।

‘मैदानमा सरकारले काम फूर्ति गरेपनि देखाउन सकेको छैन। क्रान्तिकारी, दक्षिणपन्थी र अति क्रान्तिकारी पनि आउन सक्छन्। तीनैथरी आउन सक्छन्,’ उनले भने,  ‘विप्लव भनेको अति क्रान्तिकारी हो, त्यो मोरङमा देखिसक्यो। अब क्रान्तिकारी पनि आउन सक्छ।’

जनताबाट आएका राजनीतिक दलले जनअपेक्षित काम गर्न नसकेको कारणले जनताको ध्यान पुनः राजतर्फ फर्किएको उनले बताए। ‘अहिलेका राजनीतिक दलले जनताको मन जित्‍न सकेनन्। सरकारले हुनुपर्ने केही गरेको छैन। सरकार र पार्टीको कारणले नै अहिले राजावादीदेखि विप्लवसम्म आएका छन्,’ उनले भने।thahakhabar