सिमरा – अम्लेखगञ्ज–हेटौडा राजमार्गको छेउमा जस्ताले बारेको सानो टहरो। टहरोभित्र एक छेउमा ८/१० बोरा तोरी। लामो समयदेखि सञ्चालनमा नआएको खियाले खाएको पुरानो मिल। त्यहीसँगै भण्डारण गरेर राखिएको आयातीत तोरीको तेल भनी ‘त्रिदेव’ ब्रान्ड नाम उल्लेख गरिएको तेल।
सर्वसाधारणलाई झुक्काउने गरी तोरीका बोरा र मिल देखाएर अखाद्य, मिसावट र दूषित तेल बिक्री गर्दै आएको यो कैलाश धारा तेल मिल अम्लेखगञ्जको दृष्य हो।
सर्वसाधारणको गुनासोका आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रादेशिक कार्यालय जनकपुर, उपभोक्ता हित संरक्षण मञ्च र स्थानीय प्रशासनको रोहबरमा मंगलबार तेल मिलमा अनुगमन गर्दा तोरीको तेल भनेर अखाद्य, मिसावटयुक्त र दुर्गन्धसमेत भएको तेल बिक्री गरेको भेटिएको हो।
जिल्ला प्रशासन कार्यालय नवलपरासीले केही दिनअघि त्यही कम्पनीको ७ सय कार्टुन तेल नष्ट गरेको घटना सार्वजनिक भएपछि यो तेल उत्पादक कम्पनी खोज्दै जाँदा अम्लेखगञ्जको झाडीभित्र सानो टहरोमा गोप्य रुपमा आयातित तेललाई मिसावट गरी प्याकिङ गरेको अवस्थामा भेटिएको हो।