काठमाडौं । बहुप्रतिक्षित मेलम्चीको पानी काठमाडौं उपत्याकावासीको धारामा खस्न सूरु भएको छ । सुन्दरीजलबाट ११ बजे मीनभवन, महांकाल, अनामनगर र ललितपुरको खुमलटारको नयाँ ट्याङकीमा पठाइएको पानी अहिले २ बजेपछि जनताको घरमा पुग्न सुरु भएको हो ।
आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख कमलराज श्रेष्ठका अनुसार पहिलो दिन पुरानो वितरण लाइनबाट मेलम्चीको पानी धारामा छोडिएको हो ।
उनले आज ४ वटा ट्यांङकीबाट ४ करोड लिटर पानी घरघरको धारामा वितरण हुने नागरिक खबरलाई जानकारी दिए । उनले भने, ‘बालाजु, बाँसबारी, पानीपोखरी लगायतका ट्याङकीमा भने पानी दोस्रो चरणमा मात्रै वितरण हुनेछ ।’ अनामनगरका पाँच सय वटा धारामा पानी खस्न थालिसकेको उनको भनाई छ ।
आयोजनाले आज र भोलि ४ करोड लिटर पानी ल्याएर बाड्ने जनाइएको छ । १७ गते साँढे ६ करोड लिटर, १८ र १९ गतेसाँढे ८ करोड लिटर पानी धारामा पठाइदैछ । एक हप्ता सम्म साँढे ८ करोड लिटरको हिसाबले पानी पुरानो धाराबाट वितरण हुने बताइएको छ ।
त्यसपछिको दुई सातापछि १७ करोड लिटर पानी सिस्टममा आउँने आयोजनाका प्रमुख श्रेष्ठको भनाई छ । आयोजनाले नयाँ वितरणलाइनमा पानी पठाएको भएतापनि उक्त पानी खान योग्य नहुनेमेलम्ची खानेपानी विकास समितिको भनाई छ ।
मेलम्चीको पानी वितरण गर्ने जिम्मा काठमाडौ उपत्यका खानेपानी लिमिटेड ( केयुकेएल)ले पाएको थियो । केयुकेएलले नयाँ पाइपलाइन विस्तार नभएको क्षेत्रमा भने पुरानै प्रणालीबाट पानी पठाएको हो ।