काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबारबाट फोहोर उठाउने काममा असहयोग भएको र सिंहदरबारको फोहोर नउठाउने बताएको थियो । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सिंहदरबारले असहयोग गरेको कुरा सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए । त्यही घोषणालाई आधार मानेर सिंहदरबारको फोहोर महानगरले नउठाएको हो ।
११ नम्बरका वडाध्यक्ष हिरालाल तण्डुकारले अरु ठाउँको फोहोर उठे पनि सिंहदरबारको फोहोर नउठेको बताएका छन् । साथै उनले उक्त विषयमा फोहोरका बारेमा छलफल भइरहेको बताएका छन् । फोहोर मैला व्यवस्थापन संघका महासचिव मित्रप्रसाद घिमिरेले काठमाडौंका मेयर बालेनले फोन गरेर सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएपछि फोहोर नउठाएको बताएका छन् ।
फोहोर उठाउने जिम्मा पाएको परिवर्तन सेवा प्रालिका सञ्चालक समेत रहेका घिमिरेका अनुसार सिंहदरबारबाट कुहिने र नकुहिने गरी दैनिक ५ टन फोहोर उठ्ने गरेको थियो । सिंहदरबारबाट उठेको फोहोर ल्यान्डफिल साइट बन्चरेडाँडामा लैजाने गरेको थियो ।
शुक्रबार गैरीगाउँस्थित बागमती किनारको सुकुम्बासी बस्तीमा डोजर चलाउन सरकारले असहयोग गरेको मेयरको भनाइ छ । विगत ५ महिनादेखि सिंहदरबारको फोहर व्यवस्थापनमा काम गर्दै आएका धादिङका सुरेश विक का अनुसार आइतबार र सोमबार फोहर लिनको लागि गाडी आएको छैन ।
मेयर बालेनले सिंहदरबारको फोहर लहडमा नउठाएको नभइ बाराम्बरको प्रयास असफल भएपछि सो निर्णय लिनु परेको पनि बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेको तस्बिर सार्वजनिक गर्दै मेयर बालेनले बाध्य भएर सो कदम उठाउनु परेकोसमेत जनाएका छन् ।
‘केही दिन अगाडि बाध्य भएर सिंहदरबारको फोहर नउठाउने निर्णय गर्नु पर्यो । त्यो लहडमा अनायासै गरिएको निर्णय थिएन, बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता, गैरजिम्मेवारी र लापरबाहीको अहिलेसम्मको निष्कर्ष थियो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जसका कारणले त्यो बाध्यात्मक कदम उठाउनु परेको थियो, उनीहरुलाई यसबारेमा जानकारी हुने भइहाल्यो तर सर्वसाधारणलाई यो बारेमा थाहा भएन ।’
सिंहदरबारको फोहोरको विषयलाई लिएर नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्रीलाई काठमाडौं महानगरपालिकासँग तत्काल संवाद गर्न आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा महानगरपालिकासँग तत्काल सम्वाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।
दुई तहका सरकारका बीचमा तत्काल सल्ट्याउनुपर्ने विषयहरुलाई सल्ट्याइहाल्न पनि उनको आग्रह छ । उनले महानगरपालिकाले राखेका जायज मागहरुलाई पूरा गर्न आवश्यक विषयहरुमा समझदारी कायम गर्न माग गरे ।
सिंहदरबार काठमाडौँ महानगरमै पर्छ । अझ महानगरको कार्यालयबाट ५०० मिटरको दुरीमा सिंहदरबार सुरु हुन्छ । यति हुँदा पनि सिंहदरबारमा बसेको सरकारसँग महानगर पुग्न धेरै कसरत गर्नु पर्छ । संघीय सरकारकारुपमा रहेको सिंहदरबारले जनजिविकाका कुरामा स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुस हुन्न । पटक पटकको कोशिसपछि ९ महिनामा पटक पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरु कार्यान्वयन गर्न मुस्किल परेको महानगरको दुखेसो छ । मेयर बालेनले सिंहदरबार र प्रधानमन्त्रीप्रति विभिन्न बुँदामा असन्तुष्टि जनाएका छन् ।