काठमाडौँ – योजना स–साना हुन्छन् अनि विकास बजेट सक्नेगरी हुने गर्दछ । आर्थिक वर्षको अन्तमा बजेट सकिन्छ त्यसपछि लगत्तै आएको बाढीले बगाउछ । सङ्घीयता कार्यान्वयनको शुरुआती वर्षमा देशभरका अधिकांश स्थानीय तहमा देखिएका साझा समस्या हुन् यी । अधिकांश स्थानीय तहका यी समस्या अहिले पनि उस्तै छन् । यसमध्ये म्याग्दीको मङ्गला गाउँपालिकाले केही फरक र उपलब्धिमूलक ढङ्गले आफ्ना विकास निर्माणलाई अगाडि बढाएको छ ।
टुक्रे योजनालाई नियन्त्रण गर्दै स्थानीय तहकै अगुवाइमा गौरवका योजना सञ्चालन गर्ने ‘विकास मोडेल’लाई मङ्गलाले अगाडि बढाएको छ । सङ्घीय, प्रदेश सरकारसँगको साझेदारीमा केही ठूला र महत्वका योजना सञ्चालन गरिएको छ । चालू आर्थिक वर्षमा पालिकाबाट १३५ वटा योजना छनोट भएकोमा अधिकांश योजनालाई वैशाखभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ योजना कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार ११० वटा योजना सम्झौता भइसकेका छन् भने १२ वटा योजनाले अन्तिम भुक्तानीसमेत लगिसकेका छन् ।
दर्जनौँ योजना फागुन महिनाको अन्त्सम्ममा सम्पन्न हुनेगरी तीव्र रुपमा अघि बढेका छन् । ‘‘गाउँपालिकाले ठूला योजनालाई ठेक्का प्रक्रियामार्फत् कार्यान्वयन गर्ने नीति लिएको छ, यसरी योजना कार्यान्वयन गर्दा गाउँपालिकाको बजेट पारदर्शी तवरले खर्च हुने र विकास निर्माणमा जबाफदेहिता बढ्ने अपेक्षा गरेका छौँ’ प्रमुख प्रशासकिय अधिकृत ढुङ्गानाले भन्नुभयो । गाउँपालिकाले पूर्वाधार निर्माणतर्फ टुक्रे योजनालाई घटाएको छ । सङ्घ र प्रदेश सरकारसँग साझेदारी गरी पालिकास्तरमा गौरवका योजनालाई अघि बढाएको छ । पाँच वटा रु एक करोड बढी बजेटका योजना कार्यान्वयनमा जुटेको पालिकाको केन्द्र रहेको बाबियाचौर बजार कालोपत्र गर्न प्रदेश सरकारसँग साझेदारी गरेको छ । गाउँपालिकाले रु एक करोड १३ लाख लागत अनुमानमा बजार कालोपत्र योजना सञ्चालन गरेको हो ।
रु एक करोड बढी बजेटकै दुई नमूना सडक आयोजनासमेत अघि बढाइएको छ । रु तीन करोड ३४ लाख बजेटबाट वडा नं ३ र ४ का नागरिकलाई गाउँपालिकाको केन्द्र आउने पोक–सातबिसे–ज्यामिरे–खर्सुपानी, ३ नं वडा कार्यालय हुँदै ४ नं वडा कार्यालय बुकेनी जोड्ने सडक स्तरोन्नति र रु एक करोड १५ लाख बजेटबाट बाबियाचौर–पैयूँपाटा–कुहुँ–अँधेरीखोला–पूर्णगाउँ हुँदै टोड्के जोड्ने सडक स्तरोन्नति गर्न शुरु गरेको छ । त्यसैगरी गाउँपालिकाले पुलचोक–पिपलबोट–पाखुँ–धारा–सिर्कुम–टीकाबाङ सडकखण्डको हाँडेभीर क्षेत्रमा बाढीले बगाएको सडक निर्माण र बस्ती संरक्षणको लागि रु एक करोड बजेट विनियोजन गरी कार्यान्वयनमा जुटेको छ ।
नदी नियन्त्रण गर्दै सडक निर्माण गर्न आरसिसी पर्खाल निर्माण गर्ने यस योजना ठेक्का मूल्याङ्कनको क्रममा रहेको छ । गाउँपालिकाको केन्द्रदेखि काफलचौर–सल्यान–भर्जुला–भाइबाङ–हिदी सडक स्तरोन्नतिको लागि विनियोजन गरेको रु ५० लाख बजेटलाई समेत ठेक्का प्रक्रियामार्फत् मङ्गला कन्स्ट्रक्सनसँग सम्झौता गरी धमाधम पूर्वाधारको काम भइरहेको गाउँपालिकाका इन्जिनीयर सुजन पाध्यायले जानकारी दिनुभयो । गाउँपालिकाले मङ्गला माविलाई नमूना विद्यालयका रुपमा विकास गर्न भवन पूर्वाधारमा सङ्घीय सशर्त अनुदानबाट प्राप्त रु एक करोड ५० लाख बजेटलाईसमेत ठेक्का प्रक्रियामार्फत् कार्यान्वयनमा जुटेको छ ।
गाउँपालिकाले सडक, शिक्षा, एकीकृत भवन, कृषिलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर विकास निर्माणलाई अघि बढाएको अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।