March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

दिलिप राईलाई ‘योगनाथ बास्तोला लघुकथा सम्मान–२०८१’ प्रदान गरिने

२०८१ फाल्गुन १२

1K

काठमाडौं । हाम्रो लघुकथा केन्द्र, नेपाललले साहित्यकार दिलिप राई ‘सगर’लाई ‘योगनाथ बास्तोला लघुकथा सम्मान–२०८१’ प्रदान गर्ने भएको छ । केन्द्रका अध्यक्ष लता केसीको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले राईलाई उक्त सम्मान प्रदान गर्ने घोषणा गरेको हो ।

साहित्यकार सगरका लागि लागि काठमाडौंबाट प्राप्त हुने यो पहिलो पुरस्कार हो । यसअघि उनले ‘जीवन स्मृति प्रतिष्ठान पुरस्कार, झापा’, ‘कन्चनजङ्घा क्लब पुरस्कार, मोरङ’, जस्ता स्थानीय पुरस्कार र ‘श्रम साप्ताहिक पुरस्कार, मलेसिया’, ‘अनेसास सम्मान–२००८, मलेसिया’, ‘आदिवासी जनजाती महासंघ सम्मान–२०१९’, ‘उर्लाबारी गजल मन्च सम्मान–२०६५’, ‘नेपाली साहित्य समाज सम्मान– २०८१’ जस्ता सम्मानहरू प्राप्त गरिसकेका छन् ।

भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९, वैराङमा जन्म भई हाल मोरङ उर्लाबारीमा बसोवास गर्दै आइरहेका साहित्यकार सगरका ‘त्यही मायालु ठूली’ गीतसङ्ग्रह–२०५७, ‘नियति’ लघुकथासङ्ग्रह–२०६९, ‘सिम्मा’ केस्रासङ्ग्रह–२०७१, ‘बाराङ’ लघुकथासङ्ग्रह–२०७८’, ‘साईमा स्यामुना’ गीतसङ्ग्रह–२०८१’ लगायत प्रकाशित छन् ।

Advertisement

हाम्रो लघुकथा केन्द्र, नेपालले आफ्नो पाँचौँ स्थापना दिवसको अवसर पारेर दुई श्रष्टालाई सम्मान गर्न लागेको हो । अर्का श्रष्टा ललितपुर, झम्सिखेल निवासी श्रीओम श्रेष्ठ ‘रोदन’ लाई ‘लघुकथा केन्द्र सम्मान–२०८१’ प्रदान गर्ने निर्णय गरेको छ ।

जसअनुसार श्रीओम श्रेष्ठ ‘रोदनले एघार हजार एक सय एघार रूपैयाँसहित सम्मानपत्र प्राप्त गर्नेछन् । यो सम्मान संस्थाको आजीवन सदस्यहरुबाट सङ्कलित रकमबाट स्थापित अक्षयकोषबाट प्रदान गर्नेगरिएको आयोजकले जनाएको छ ।

यस्तै, दिलिप राई ‘सगर’लाई पाँच हजार एक सय र सम्मानपत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।

‘योगनाथ बास्तोला लघुकथा सम्मान’ माछापुच्छ्रे गाउँपालिका, लाहाचोक कास्कीका कृष्णप्रसाद बास्तोलाले आफ्ना स्वर्गीय पिता योगनाथ बास्तोलाको नाममा स्थापना गरेका हुन् । यो सम्मान मोफसलमा बस्ने लघुकथा सर्जकलाई नियमित रूपमा प्रदान गरिदै आएको केन्द्रले जनाएको छ ।

दुवै पुरस्कार २०८१ चैत्र २ गते शनिबार काठमाडौँ बानेश्वरस्थित रोयल इभेन्टसमा एक कार्यक्रमका बीच प्रदान गरिने आयोजकले जनाएको छ ।