November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सिलौटो कटेजमा उर्लिएको रातो नदीमाथिको भेल

1.6K

जबदेखि मानव चेतनाले गर्यो
रङअनुसारको व्यावहार मान्छेलाई
बनायौं कसैलाई सम्राट
निर्माण गर्यो महाराजा र जमिनदार
र निर्माण गर्यो
मान्छेलाई नै अछुत
र बनायो मान्छेलाई अमान्छे ।

कवि प्रज्वल अधिकारी पोडिएममा गए । अनि जुनू रानाको भर्खरै प्रकाशित सङ्ग्रह ‘रातो नदी’भित्रको ‘म बेरङ रङ’ कविता सुनाए । कविताभित्रको यस पंक्तिले श्रोताहरूको कान ठाँडो भएको भान हुन्थ्यो ।

शनिबार अनामनगरस्थीत सिलौटो कटेजमा कवि जुनू रानाको कवितासंग्रह ‘रातो नदी’ माथि विमर्श कार्यक्रम हुँदा कवि अधिकारीले उक्त कविता सुनाएका हुन् ।

Advertisement

बहस गर्नका लागि उभिएका थिए प्रा.डा. बालकृष्ण मावुहाङ र पत्रकार अञ्जली सुवेदी । सुवेदीले जुनू रानाको कविता सामान्य तर छुने किसिमको भएको बताइन् । कविता सामान्य तर गहन किसिमको भएको बताइन् । ‘मन’ शीर्षकको कविता उदाहरण दिँदै उनले भनिन्, ‘यो मन शीर्षकमा संसारभरी कति कविता लेखिए होलान् ? तर लेखेर प्रभाव पार्न सक्नु चाहीँ ठूलो कुरा हो । यो कविताले प्रभाव पार्छ ।’

त्यसैगरी प्रा.डा. बालकुष्ण मावुहाङले १९औं शताब्दिको उत्तर्राद्र्धमा फ्रान्समा नारीवादको व्यूत्पति भएको प्रसँग उक्काए । त्यसको तरङ्गले नारीहरूमा चेतना फैलाएको र पहिलो उदाहरणीय कार्य भनेको महिलाहरूले चुनावमा मत दिन पाए ।

“फेमिनिज्मको तेश्रो लहरमा जुनू रानाको कविताहरू बोलेका छन् । रातो नदी कविता सङ्ग्रह नारी भएर लेखिनन्, त्यो नै तेश्रो लहरको तरङ्ग पक्रेकी हुन् ।” मावुहाङले आफ्नो मन्तव्यमा यी कुराहरू सुनाए ।

जुनू रानाको पुस्तक पढ्न नपाए पनि नेपाली साहित्यको अभिभावक संस्थाको कुलपतिको हैसियतले उपस्थिति भएको बताए नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले । केही सञ्चार माध्यमहरूमा चर्चा सुन्न पाएको र यसै कार्यक्रममा वक्ताहरूले बोलेका कुराबाट जुनू राना शसक्त नारी हस्ताक्षर रहेको कुरा कुलपति राईले राखे ।

कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य गंगानारायण श्रेष्ठ, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ राजन मुकारुङ, गीतकार संघ, नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, पूर्व प्राज्ञ शशि लुमुम्बु आदिको पनि उपस्थिति रहेको थियो । साहित्यिक पृष्ठभूमिका पूर्वमन्त्री श्रेष्ठले त केही कुरा राख्दै कवि जुनू रानालाई बधाई तथा शुभकामना दिन भ्याए ।

कार्यक्रमको आयोजना गरेको थियो याक्थुङ लेखक संघ, उपत्यका समितिले । लिम्बू जातिको लेखकहरूको संस्था याक्थुङ लेखक संघको उपत्यका अध्यक्ष शनि लिम्बूले सभापतित्व प्रदान गरेकी थिइन् । कार्यक्रमलाई सुन्दर ढंगले सहजीकरण गरेका थिए, कलाकार साहित्यकार यासेली योङहाङले । कार्यक्रमकै बिचमा कवि रश्मि रिमालले सङ्ग्रहमा रहेको ‘जातको ब्रम्हाण्ड’ कविता सुन्दर ढंगले वाचन गरेकी थिइन् । कविताभित्र रहेको केही पंक्तिले दर्शक तथा श्रोतामा पारेको प्रभाव सहजै अनुमान गर्न सकिन्थ्यो ।

जातकै दिन बनाउनू
जातकै रात बनाउनू
सूर्य, चन्द्रमा र समुद्र जानकै जातकै बनाउनू
अरुतिर नहेर्नू ।

हङकङमा रहेर साहित्यकर्म गरिरहेकी जुनू रानाले धेरै अगाडिदेखि नै फुटकर कविता लेख्दै आएकी थिइन् । केही पत्रिका तथा अनलाइलाइनहरूमा स्तम्भसमेत लेखिसकेकी जुनूको सङ्ग्रहित रूपमा आएको पुस्तक ‘रातो नदी’ पहिलो हो ।