April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

पूर्वस्मृति र द्वैधताबिच सुदूर बिस्मृतिका विम्बहरू

सुरेश हाचेकाली
२०८१ कार्तिक १०

1.5K

सुदुर विस्मृतिका विम्बहरू (वि.सं. २०७९) नेपाली बेलायती डायस्पोराका लेखक टंक वनेमको संस्मरणसङ्ग्रह हो । वनेम नेपालको पूर्वी पहाडको लिम्बुवान क्षेत्रमा जन्मे हुर्केर १८ वर्षको उमेरमा ब्रिटिस गोर्खा सेनामा भर्ती भई हाल सेवानिवृत्त जीवन बिताइरहेका छन् । उनका हालसम्म प्रकाशित ६ ओटा पुस्तकहरूमध्ये तीनओटा कवितासङ्ग्रह छन् । तीमध्ये साँगुरी र बुढासुब्बा (२०६३), सङ्गीनको मुच्र्छना (२०६९) नेपाली भाषाका कवितासङ्ग्रह हुन् भने पेन्जिरी पेन्मिक्हा (२०६३) याक्थुम्बा (लिम्बु) भाषामा प्रकाशित कवितासङ्ग्रह हो । श्लेषमान्तकको साम्माङ (२०७१) कथासङ्ग्रह हो भने सुदुर विस्मृतिका विम्बहरू (२०७९) टंकको संस्मरणसङ्ग्रह हो । यस बाहेक उनले सिन्धोलुङ फागो वनेम वंशावली इतिहास र मुन्धुम (२०७०) को सङ्कलन तथा लेखन गरेका छन् । वि.सं. २०२० मा ताप्लेजुङमा जन्मिएका उनी हाल बेलायतमा बसोबास गर्छन् । उनको संस्मरणसङ्ग्रहको आद्योपान्त अध्ययन गर्दा मूलतः याक्थुम्बा संस्कृतिको गहिरो ज्ञान, सनातन हिन्दु परम्परामाथिको बौद्धिक पकड, डायस्पोरा जीवनका उहापोह र अनौपचारिक अध्ययनको फराकिलो क्षितिज देखा पर्दछ । बाल्यकालीन ग्रामीण जीवनको पूर्वस्मृति र डायस्पोरा जीवनले सृजना गरेको द्वैधतापूर्ण जीवनदृष्टि यो संस्मरणसङ्ग्रहका प्रमुख विशेषता हुन् ।

कूल ३९ ओटा आत्मपरक शैलीका लेखहरूको सँगालोले यो संस्मरण ग्रन्थ तयार भएको छ । ग्रन्थमा टंकले याक्थुम्बा संस्कृति र भाषाका कैयौँ मिथक, किंवदन्ती, लोककथा, संस्कार र शब्दहरूको प्रयोग गरेका छन् । यो प्रयोगले लिम्बु समुदायका मौलिकता र विशिष्टताहरूको पाठकले रसास्वादन गर्न सक्दछन् । उनीसँग याक्थुम्बाहरूको इतिहास, दर्शन, संस्कृति र जीवनशैलीको प्रचुर ज्ञान देखिन्छ । यसका साथै भर्तिवाल भएर विदेश जानुपूर्व स्वदेशमा पनि टंकको सनातन वैदिक हिन्दु संस्कृति र याक्थुम्बा संस्कृतिको सम्मिश्रणबाट निर्मित एक वर्णसङ्कर व्यक्तित्वको निर्माण भएको देखिन्छ । उनका पिताले पढ्ने गरेको महाभारतको पुस्तक, विद्यालय स्तरमा पढेको संस्कृत भाषाका कैयौँ शब्द, वाक्य तथा श्लोकहरूको संस्मरणसङ्ग्रहमा प्रविष्टि र घरमा हिन्दु ब्राह्मण पुरोहितद्वारा गरिने धार्मिक कर्मकाण्डको प्रसङ्गले यस तर्कलाई प्रमाणित गर्दछन् । ब्रिटिस गोर्खा सेना भएर विश्वका विभिन्न मुलुकमा पुग्दा र पछि बेलायतको बासिन्दा हुन पुगेपछि उनको व्यक्तित्वमा अन्य संस्कृतिहरूको प्रभाव बढेको देखिन्छ । यति हुँदाहुँदै पनि उनी आफ्नो मुन्धुमी संस्कृतिक धरातलप्रति नतमस्तक र स्मृति–विह्वल देखिन्छन् ।

एकातिर यो पुस्तकमा कञ्चनजङ्घा र फक्ताङ्लुङ (कुम्भकर्ण) हिमालमुनि बस्ने याक्थुङ्बाहरूको जीवनशैली र उनीहरूको वैदिक सनातन धर्मालम्बीहरूसँगको जीवन्त संवादलार्ई उतारिएको छ । अर्काेतिर बेलायती डायस्पोराका अनुभूतिहरू पनि चित्रित छन् । डायस्पोरामा रहँदा बस्दा आफ्नो जन्मभूमि र मातृभाषाले खेप्नुपरेको सीमान्त व्यवहारका विषय पनि संस्मण ग्रन्थमा झल्किएका छन् । लेखक वनेमको अनौपचारिक अधययनको दायरा विश्व साहित्य, राजनीति, मानवशास्त्र, जीवविज्ञान, धार्मिक ग्रन्थ, समाजशास्त्रजस्ता विधाहरूसम्म विस्तारित भएको पाइन्छ । संस्मरण ग्रन्थमा उनले प्रयोग गरेका प्रसङ्गहरू नै यो दाबीका प्रमाण हुन् ।

Advertisement

बाल्यकालीन स्मृतिहरूको पहेलीले संस्मरण ग्रन्थलाई रोचक बनाएको छ । रैथाने चरा, मेलापात, फूलहरूका नामावली, बाजागाजा, विभिन्न नदीहरूका याक्थुङ नाम, भेडी गोठालो जाँदाका अनुभूति, लेकका गोठमा भटमासका कोसा उसिनेर खाँदाको बाल्यकालीन उल्लास, दार्जिलिङबाट दाइले ल्याएका प्रेमलहरी, आनन्द लहरीजस्ता पुस्तकहरू पढ्दापढ्दै साहित्यतिर रुचि जागरण, सल्लाको दियालो, रमिते ढुङ्गा, भूमिपूजाका प्रसङ्ग, सुप्तुलुङ, तितेमाछा, एक राते र तीन राते तङ्सिङ, चौरीको लस्कर आदिको चित्रण र वर्णन आल्हादकारी पाइन्छ । टंकले संस्मरण ग्रन्थमा तिब्बती छत्रे टोपी लगाएका चोैरीवाल शेर्पाहरू, आयुर्वैदिक औषधी पद्धति, वनस्पती, मारुनी नृत्य, धान नाच, लोकगीतका दर्जनौँ प्रकार, दर्जनौँ नेपाली नृत्य, वनझाक्री, उधौली उभौली, गाउँ फर्क अभियान, तमसुक, घरमा पालिएका चङ्खे र दुम्से जोर कुकुर, प्रकृतिप्रेमी ग्राङ्देन बुढा, ढुङ्गाको चौतारो, बरपिपल, जलवायु परिवर्तन, भुइँकुहिरो र इन्द्रेणीसँग सम्बन्धित मिथक, पानीका मुहान र सिमसारमा पिसाब फेरेका खण्डमा देवता लागेर लिङ्ग र अण्डकोष सुन्निने मिथक लगायत संस्कृति, पर्यावरण, इतिहाससँग सम्बन्धित विषयहरूको काव्यिक उठान गरेका छन् ।

संस्मरणका ग्रन्थमा लेखकको याक्थुङ (लिम्बु) भाषाप्रतिको मोह पटकपटक झल्किन्छ । त्यसो त उनको एउटा कवितासङ्ग्रह सिरिजङ्गा लिपि प्रयोग गरी लिम्बु भाषामा नै प्रकाशित छ । लिम्बु पत्रिका ‘पेली’ प्रकाशन गर्ने मोहन इजम सरको प्रेरणा पनि टंकमाथि प्रशस्त देखिन्छ । गर्भको बच्चा सुरक्षित होस् भनी याक्थुम्बा संस्कृतिमा गरिने साप्पोक चोमेन (भुँडीपूजा) अुष्ठान र उनको पिताको जन्मको प्रसङ्ग निकै रमाइलो छ । लिलिपुट मानवहरूको सिकार गर्ने जोई तेल्लङ्नामा र उसको पोइ तक्सङ्बाको मिथकको पनि चर्चा छ । ती जोईपोइ मिल्खु र जलजले पर्वत शृङ्खलामा बस्थे भन्ने किंवदन्ती लिम्बुवान क्षेत्रमा पाइन्छ । याक्थुम्बा संस्कार संस्कृतिको अन्वेषणमा लाग्ने तीव्र चाहना भए पनि आफू मूलभूमिबाट उछिट्टिएर पराइ भूमिमा पुगेका कारण आफ्नो अभिष्ट पूरा नभएकोमा उनको आत्म–असन्तुष्टि संस्मरणसङ्ग्रहमा पटक पटक पुनरावृत्त भएको छ । लेखक टंकको व्यक्तित्वमा आफ्नी आमाको छाप निकै गाढा प्रतीत हुन्छ । एक साँझ बाँसघारीमा बाँस पड्किएपछि आमाले सुनाएको साम्माङ काप्मुमा (देउती बज्यै) को कथाभित्र लुकेको पर्यावरणीय सन्देश बेजोड लाग्दछ । लिम्बुहरूको धड्कनबाट सृजित पालामका नयाँ नयाँ भाकाहरूको उल्लेख गरेर टंकले संस्मरण ग्रन्थमा स्थानीय लिम्बु रङ उजागर गरेका छन् । सिरिजङ्गा मेला, गाईखुरी मेला, माईबेनी मेला आदिमा धान नाच नाच्दा गाएका पालामहरूको स्मृतिले लेखकलाई पटक पटक मातृभूमितिर अभिमुखीकरण गराएको पाइन्छ ।

पूर्वस्मृतिअन्तर्गत लेखक टंक वनेमले आफ्ना बाबुको बहुआयामिक व्यक्तित्वको चर्चा गरेका छन् । उनका पिता सिमापारि भारतमा गएर सुन्तलाको व्यापार गर्थे । धार्मिक तथा कानुनी पुस्तकहरू सङ्कलन गर्थे । घरमा गाईभैँसी लगायत चौपाया र मौरीपालन गर्थे । सामाजिक व्यक्तित्व भएका उनका पिता गाउँमा घोडा चढेर हिँड्ने सबैभन्दा पहिलो व्यक्ति थिए । आफ्ना पिताले अध्ययन गरेका महाभारत तथा अन्य वैदिक ग्रन्थहरूको सम्झनाले टंकभित्र महाभारत र श्रीमद्भागवत अध्ययनको हुटहुटी जाग्छ । परिणामस्वरूप, ४८ वर्षको उमेरमा उनले ती ग्रन्थहरूको विश्लेषणात्मक अध्ययन गरे । संस्मरण ग्रन्थमा उनले महाभारत ग्रन्थका पात्रहरूको समालोचनात्मक टिप्पणी गरेका छन् । वृहत् अध्ययन बिना यो कार्य सम्भव थिएन । आफ्ना पौरखी पिताको प्रभाव अध्ययनशील टंकमा पनि परेको देखिन्छ । टंकको अतित अनुरागले धेरै विषय र प्रसङ्गहरूलाई पुस्तकमा समेटेको पाइन्छ । लिम्बु र ब्राह्मणहरू प्रतिस्पर्धात्मक रूपमा जुवा खेलेको प्रसङ्ग, पाँचथर सिदिन बगाले गाउँका प्रसिद्ध फौदारी कर्णबहादुर केरुङ उर्फ दारा सिंह लगायत अन्य स्थानीय फौदारीहरूको प्रसङ्ग पनि कम्ती रोचक छैनन् ।

उरण्ठेउलो उमेरमा गरेका चकचक, बाल्यकालमा देखेका राँकेभुत र त्यसको कारण, निरक्षर ठुली दिदीका लागि लेखिदिएका प्रेमपत्र, फौदारी समूहले राँके बजारमा जार कुटेका प्रसङ्ग, ढडियामा पाहा मारेको स्मृति, खोल्साखोल्सी र डाँडापाखामा मर्चा बनाउने झारबुट्टाको खोजी, आमाको चेब्जु भुवन सिंहको वैरागी जीवनतिरको रूपान्तरण लगायत अन्य कैयौँ बाल्यकालीन घटना र प्रसङ्गलाई लेखक टंकले याक्थुङ भााषा र नेपाली भाषा मिश्रित मधुर शैलीमा उल्लेख गरेका छन् । कवि, कथाकार तथा अध्येताको व्यक्तित्व निर्माण गरेका टंक सृजनात्मक र विश्लेषणात्मक दुवै छन् । उनले आफू कमाण्डर भएको बेला ब्रिटिस गोर्खा पल्टनका भर्तिवालहरूलाई करिब ६घण्टाको समयावधि दिएर लेख्न लगाएका थिए । त्यो मधुर स्मृतिलाई उनले हस्तलिखित कविताहरूको प्रतिलिपिसहित संस्मरण ग्रन्थमा समावेश गरेका छन् । नेपाली मूलधारको भनिने साहित्यिक लेखनले पल्टनेहरूको लेखनलाई हतारमा लेखिएको र स्तर नपुगेको भन्ने गरेको प्रति टंकले कुटनीतिक प्रतिवाद गरेका छन् । केरा र लाप्चे काउलोको स्वादमा पृथकता हुन्छ भन्दै उनी तर्क गर्छन्, “कुनै पनि फूलहरू हतार गरेर फुल्दैनन्” (४११) । लाहुरेहरूको लेखनलाई कम नआँक्न चेतावनी दिँदै मूलधारका नेपाली साहित्यकार भनिएका कतिपय व्यक्तित्वहरूका रचनामाथि उनले मौलिकताको प्रश्न उठाएका छन् ।

टंकको यो संस्मरण ग्रन्थमा नेपाल राज्यको चरित्र पहिले नै भाषा, संस्कृतिजस्ता विषयमा समावेशी हुनुपथ्र्याे भन्ने आशय कतै कतै प्रत्यक्ष त कतै परोक्ष रूपमा उठेको पाइन्छ । यो पुस्तकलाई संस्मरणसङ्ग्रह भनिए पनि यसको निश्चित अंशले गृहभूमि र आतिथेय भूमिका सामाजिक, राजनीतिक र संस्कृतिक प्रचलनमाथि आक्रोसमय प्रश्न उठाएका छन् । विभिन्न पर्व, अनुष्ठान तथा शुभ अशुभ कार्यमा बन्दुक पड्काउनु याथुम्बाहरूको संस्कृति हो । एक दशक लामो माओवादी द्वन्द्वका समयमा माओवादी दस्ताहरूले गाउँघरबाट हातहतियार लगेको तथा पछि वि.सं. २०७६ मा ३५ दिने समयसिमा तोकेर नेपाल सरकारले हतियार बुझाउने उर्दी जारी गरेपछि बन्दुक पड्काउने संस्कृति लोप हुँदै गएको विषय पनि ग्रन्थमा उठेको छ । टंक राष्ट्रियता र संस्कृतिको सिमानामा अल्झिएका एक आप्रवासी हुन् । कतिपय ठाउँमा उनको चरम आक्रोस नेपाली राज्यसत्ता र बेलायती राज्यसत्ता दुवैतिर परिलक्षित भएको छ । आर्य समाज र याक्थुम्बा समाजमा नारी स्वतन्त्रताका सिमाहरू फरक छन् । उनले यसको चर्चा गरेका छन् । मनुवादी संस्कृतिको सामाजिक प्रभावमाथि पनि उनी आक्रामक देखिन्छन् । त्यसरी नै एउटा सिगलले परेवा मारेकोे घटनाप्रति भावुक टिप्पणी गर्ने बेलायतीहरू साम्राज्यवादी चिन्तनबाट प्रेरित भएर इराक, अफगानिस्तानजस्ता राष्ट्रका नागरिकका शिरमा बम हान्ने आफ्नो सरकार र राज्यसत्ताप्रति प्रश्न उठाउदैनन् । यसप्रति टंकको निकै अग्लो असन्तुष्टि छ । बेलायती सरकारले ब्रिटिस गोर्खाप्रति गरेको विभेदपूर्ण व्यवहारलाई पनि उनले आलोचना गरेका छन् ।

यो संस्मरण सङ्ग्रहका सीमिततामाथि पनि नजर पु¥याउनुपर्ने हुन्छ । पुस्तक पढ्दै जाँदा निकै ठाउँमा अनपेक्षित रूपमा वाक्यहरू भाँचिएर भाव र विचारका शृङ्खला भत्किएका छन् । सम्पादन पक्षमा अझै सचेतना भइदिएको भए राम्रो हुने थियो । पुस्तकभित्र बाल्यकालमा आफूले सुनेका र अनुभव गरेका भूतप्रेतका कथा र रहस्यमयी घटनावलीहरूको बाक्लो प्रस्तुति छ । तिनीहरूबारे कतिपय ठाउँमा लेखक खासै विश्लेषणात्मक देखिदैनन् तर राजनीतिक नेताले गरेका पूजाआजा र धार्मिक संस्कारमाथि उनी बढी नै आक्रामक देखिन्छन् । नेपालको राजनीति, सिन्धोलुङ फागो वनेम वंशावली लेखनको अनुभव, लाहुरेहरूको सृजनात्मक लेखन र महाभारतमाथिको टिप्पणीले उनको गहिरो अध्ययन र विश्लेषण देखाएका हुनाले यी विषयहरू समेटेर फरक पुस्तकका रूपमा विकास गर्न पनि सकिन्थ्यो । जे होस् समग्रमा भन्नुपर्दा विलयोन्मुख याक्थुङ सभ्यता, नेपालको ह्रासोन्मुख सामाजिक तथा राजनीतिक संस्कृति, लक्ष्यभूमिमा आर्जित सीमान्त भविताको अुनभूति, आर्य र याक्थुम्बा संस्कृतिबिचको संवाद, स्मृतिको गहिरो गर्तबाट उत्खनन गरिएका बाल्यकालीन ‘नोस्टाल्जिया’ आदिको प्रस्तुतिका कारण यो एक पठनीय कृति हो । लिम्बुवान क्षेत्रको परिवेश र आञ्चलिक भाषिकाको प्रस्तुतीले पाठकलाई मोहित पार्दछन् ।