कति चाँडो तीन वर्ष भएछ । पत्रकार किसन राईको रहस्यमय निधन भएको खबर आज पनि विश्वास लाग्दैन । वहाँको तेश्रो वार्षिकीमा केही सम्झनाहरू लेख्न मन लाग्यो ।
सन् २००७ जुलाईमा म हङकङ पुगेको हुँ । हङकङ पुगेर त्यहाँको नेपाली समाजको समग्र अवस्था बुझ्न मन लाग्यो । केही चिनेका साहित्यकार मित्रहरू देश सुब्बा, हाङयुग अज्ञात र नरेश सुनुवारहरूसँग खासगरि नेपाली साहित्य, पत्रकारिता र अन्य क्रियाकलापहरूबारे सोधपुछ गरेँ । यस क्रममा त्यहाँ प्रकाशित हुने नियमित नेपाली पत्रिका एभरेष्ट साप्ताहिकबारे थाहा पाएँ । प्रकाशक तथा सम्पादक किसन राईबारे सुनेँ तर भेट भएको थिएन । त्यही वर्षको अगस्ट या सेप्टेम्बर महिनातिर हङकङ किराँत राई यायोख्खाको महाधिवेसन स्थलमा अध्यक्षको चुनाव हुँदै थियो । म पनि उपस्थित थिएँ । एकजना व्यक्ति आएर मलाई कुनामा लगेर भने– “सर ! भोट चाहिँ नरहाङ राईलाई दिनुपर्छ है ।” पछि थाहा भो तिनै व्यक्ति रहेछन् किसन राई । चिनाजान भो । नम्बर आदान प्रदान भो । त्यसपछि समय क्रमसँगै भेट भइरहयो । कुराकानी भइरहन्थ्यो ।
मलाई सानातिना लेख सामग्रीहरू, कविता र गजलहरू प्रकाशन गर्न एभरेष्ट साप्ताहिकले धेरै सहयोग गर्यो । किसन राईसँग साहित्यिक तथा अन्य विविध कार्यक्रममा भेट भैरहने गथ्र्यो । पत्रकार भएकै कारणले पनि हरेक प्रकारको कार्यक्रम र घटनाहरूमा उनी आफैँ पुग्थे ।
किसन राईको सक्रियताः
नेपालमा रहँदा कम्यूनिष्ट पृष्ठभूमिबाट विद्यार्थी राजनीति थालेका उनी सुरुवातमा हङकङमा पनि एमाले निकट थिए । पछिल्लो समय अशोक राईको बहिर्गमनसँगै उनी एमालेबाट बाहिरिए र पहिचान पक्षधर राजनितीमा संलग्न थिए । एमालैमै रहदाताका पनि जनजातीय संघ संगठन र जनजाति महासंघको गठन र पहिचानसम्बन्धि राजनैतीक क्रियाकलाप गर्ने गराउने कार्यमा सक्रिय थिए ।
मेरो ४ वर्षको हङकङ बसाइसम्म र अघिपछि पाएको जानकारी अनुसार किसन राई समाजको हरेक क्षेत्रमा अथक रूपमा सक्रिय थिए । कुनैपनि कार्यक्रम यस्तो थिएन जहाँ किसन राई नपुगेको होस् । रिपोर्टिंङ गर्न होस् कुनै पदीय उपस्थिति जनाउन उनी हरेक कार्यक्रममा देखिन्थे । नेपाली पसल पसलमा एभरेष्ट पत्रिका छोड्न आउदा भेट हुन्थ्यो । उनले एभरेष्ट पत्रिका मार्फत नेपाली पत्रिकारितालाई दशकौंं धानेका थिए । यत्रो समय उनले एक्लै गरेको योगदानलाई नजÞरअन्दाजÞ गर्न सकिदैन ।
किसन राई एभरेष्ट साप्ताहिकका प्रकाशक तथा सम्पादक मात्र थिएनन् उनी एक नेता थिए । नेपाली समाजका हर्ताकर्ता र निडर अगुवा थिए । सामाजिक, राजनैतिक, सांस्कृतिक अनि साहित्यिक विकासमा अथक खटिरहने उनको बानी थियो ।
नेपाली साहित्यमा योगदानः
कुनै समय हङकङबाटै प्रकाशित कुनै साहित्यिक पत्रिकामा किसन राइको ‘कुत्सित भावना’ नामको कथा पढेको याद छ । साहित्यिक जमघटहरूमा साथीहरूले कथाकार भनेर सम्बोधन गर्दा ‘म एक विशुद्ध लेखक हो ।’ भन्ने गर्थे । हुन पनि हो, एक कुसल पत्रकार कुसल लेखक साहित्यकार हुन सक्छ । उनको लेखन निडर र अब्बल थियो । हङकङमा हुने हरेक सानातिना साहित्यिक कार्यक्रमको पनि रिपोर्टिंङ गर्न पुग्ने बानी थियो उनको । उनले साहित्य कम लेखे होलान् तर उनको सक्रियतामा बिभिन्न साहित्यिक गोष्ठीहरू आयोजना भएको थाह छ । उनको अगुवाईमा नेपालबाट वरिष्ठ व्यक्तित्वहरू झिकाएर गरिने कार्यक्रमहरूमा साहित्यिक व्यक्तित्वहरू पनि बोलाउने कार्यक्रम हुन्थ्यो । साहित्यिक कार्यक्रम हुदा ‘ल है ! वरिष्ठ फलाना ठाउँमा आउनु पर्यो ।’ भनेर टेक्स्ट गर्ने या कल गर्ने गर्थे । उनको एभरेष्ट पत्रिका साहित्यिक लेख रचनाहरू प्रकाशित हुने एक नियमित पोर्टल थियो । यसरी हेर्दा हङकङेली नेपाली साहित्यमा स्वर्गिय किसन राईको महत्वपूर्ण योगदान थियो ।
हङकङमा नेपाली संघ सस्थाहरूको विकासमा योगदानः
हुन त हङकङमा च्याउसरि संघसस्थाहरू स्थापना गरिएका छन् । जसको औचित्यमाथि पनि प्रश्न उठ्ने गर्छ । तर मानिस सामाजिक प्राणी हो । सामाजिक, सांस्कृतिक र राजनैतिक अभ्यास गर्न संघ संस्था नभइ हुदैन । हङकङमा बिबिध संघसंस्थाको स्थापना र अभ्यास गर्न र गराउनमा किसन राई सक्रिय थिए । उनी आफैँ विगतमा किरात राई यायोख्खा, पत्रकार महासंघ, एनआरएन, जनजाति महासंघ तथा नेपाली महासंघजस्ता महत्वपूर्ण संस्थाहरूमा नेतृत्व दिइसकेका व्यक्ति थिए ।
खासगरि किसन राई आदिवासी तथा जनजाती राजनितीमा सक्रिय नेता थिए । पार्टी नेतृत्वसँग नितिगत मतभेदपछि उनी अलग भए । मतभेद पक्कै पनि पार्टीले आदिवासी तथा जनजाती सवालमा लिएको अनुदार नीतिकै कारण थियो । मरणोपरान्त पनि किसन राई “नेपाल आदिवासी जनजाति अन्तराष्ट्रिय महासंघ (NEFIN)” का सहसंयोजक थिए । यहि संस्था गठन गर्न उनी नेपाल पुगेका बखत उनको रहस्यमय निधन भएको खबर आयो र सबैलाई स्तब्ध बनायो । उनको मृत्यु अस्वभाविक देखिए पनि पुलिस प्रसासन र उनी नजिकका संघसंस्थाका जिम्मेवार व्यक्ति र व्यक्तित्वहरूलाई न्यायोचित चासो किन नलागेको हो ? मनमा प्रश्न उब्जिन्छ ।
ओखरजस्तै कडा तर गुनिलो मानिस थिए किसन राई । उनको हक्की स्वभाव थियो । कसैसँग नझुक्ने बानी र आफ्नो अडान नछोड्ने त्यसैमा डटिरहने एक पात्र थिए किसन राई । हङकङमा मात्र हैन राष्ट्रमै उनको जरुरत थियो ।
हङकङको नेपाली समाजमा त उनी एकमात्र यस्ता लिडर थिए जस्को उपस्थितिले त्यहाँको समाजले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा मार्गदर्शन पाइरहेको थियो । उनको कमी सधैँ खट्किरहने छ ।
फेरि पनि हार्दिक श्रद्धाञ्जली वरिष्ठज्यू ।